कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘संविधान बनाउँदा पार्टी हेर्न भ्याइनँ’

भावनात्मक एकतामा जोड

हेटौंडा — कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान निर्माण र कार्यान्वयन प्राथमिकतामा परेकाले पार्टीमा ध्यान दिन नसकेको स्विकारेका छन् । हेटौंडामा मंगलबारदेखि सुरु भएको जिल्ला सभापतिको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै उनले कतिपय विषय ‘अतिरञ्जित र अशोभनीय ढंग’ ले पनि उठ्ने गरेको तर्क गरे ।

‘संविधान बनाउँदा पार्टी हेर्न भ्याइनँ’

‘पार्टीभित्र साथीहरूबाट केही असन्तुष्टि अभिव्यक्त हुने गरेका छन्, कतिपय कुरालाई मैले स्वाभाविक रूपमा लिएको छु भने कतिपय अतिरञ्जित र अशोभनीय ढंगले पनि उठ्ने गरेका छन्,’ लिखित मन्तव्य दिएका उनले भने, ‘संविधान निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हुँदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र ऊर्जा त्यसतर्फ केन्द्रित भयो ।’


उनले केही काम गर्न ढिलाइ भए पनि महत्त्वपूर्ण काम अगाडि बढेको दाबी गरे । आफ्ना लागि राष्ट्र, लोकतन्त्र र कांग्रेसभन्दा प्रिय वस्तु केही नभएको भन्दै उनले बाँकी जीवन पनि यसैमा समर्पण गर्ने बताए ।


उद्घाटन सत्रमा नेताहरूले पार्टीभित्रको एकताको प्रश्न उठाएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र वैमनश्यता रहेकै कारण एकताको कुरा उठेको भन्न्दै भावनात्मक एकतामा जोड दिए । ‘एकता भावनात्मक हुनुपर्‍यो, हात मिलेर मात्रै भएन, मन मिल्नुपर्‍यो,’ उनले भने, ‘केही गरौं गरौं, मिलौं मिलौं लाग्ने खालको एकता हुनुपर्‍यो ।’


दरिलो एकता नभए कम्युनिस्टसँग लड्न नसकिने भन्दै उनले सभापति देउवासँग पनि यसबारे कुरा राखेको बताए । उनले पार्टी एकता बलियो बनाउनका लागि सुझाव दिन पनि जिल्ला सभापतिहरूलाई अनुरोध गरे । ‘समस्या कहाँ छ भन्ने कुरा तपाईंहरूलाई थाहा छ, कार्यकर्तासम्म भिडेर काम गर्ने तपाईंहरूले हो,’ उनले भने, ‘एकताको आधार के हुने भन्ने पनि तपाईंहरूले भन्न सक्नुहुन्छ, पार्टीलाई एक बनाउन भूमिका खेल्नुहोला ।’


उपसभापति विमलेन्द्र निधिले भेलाले एकताको सन्देश दिनुपर्ने तर्क गरे । ‘आरोप–प्रत्यारोपमा नउत्रौं, निराश नहोऔं, आवेग–रिसमा नआऔं,’ निधिले भने, ‘त्यति भएपछि हामी सफल हुन्छौं ।’


कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले एक हुने हो भने पाँच वर्षमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिने दाबी गरे । ‘केन्द्रको गुट–उपगुटमा जिल्ला सभापतिहरू लाग्नु हुँदैन, एक भएर अघि बढ्नुपर्छ,’ उनले भने । महामन्त्री शशांक कोइरालाले एकता नभएसम्म कांग्रेसको भविष्य नभएको भन्दै भेलामार्फत एक भएर राष्ट्र निर्माणमा लाग्न अनुरोध गरे ।


‘कम्युनिस्ट एकताभन्दा पनि गुट–उपगुट भएका कारण अघिल्लो चुनावमा हारियो,’ उनले भने, ‘एकजुट भएको भए कम्युनिस्ट एकताले कुनै असर गर्न सक्दैनथ्यो ।’ भेलाको व्यवस्थापन गरेको मकवानपुर कांग्रेसका सभापति एवं प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भेलाले एकढिक्का भएर अघि बढ्ने प्रण गर्नुपर्ने धारणा राखे ।


सभापति देउवाले भने पार्टीभित्रको एकताका विषयमा भने कुनै प्रतिक्रिया दिएनन् । उनले कम्युनिस्ट पार्टीको एकीकरणले चुनौती थपिएको भन्दै विचलित नभई काम गर्ने अठोट गरे । ‘म विचलित भएको छैन, आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने अठोट गरेको छु,’ उनले भने, ‘सबै साथीहरूलाई एकजुट भई सहयोग गर्न आहवान गर्दछु ।’


सरकारको व्यवहार ‘भाषणमा संघीयता र काममा कम्युनिस्टको जनवादी केन्द्रीयता’ तर्फ उन्मुख भएको आरोप लगाउँदै उनले संविधान संरक्षण र अधिनायकवादबाट जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको दाबी गरे । कम्युनिस्ट एकताका कारण लडाइँ हारे पनि मैदान नहारेको दाबी गर्दै उनले उच्च मनोबलका साथ काम गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।


विधान संशोधन हुन्छ : देउवा

सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट विधान संशोधन हुने बताएका छन् । विधान संशोधन समिति चाँडै गठन हुने पनि उनले जानकारी दिए । ‘पार्टीको विधानमा समसामयिक संशोधन गर्न आवश्यक छ, भेलाको एजेन्डा पनि यो छ,’ उनले भने, ‘विभागहरू गठन गर्ने र महासमिति बैठकबाट विधान संशोधन गर्ने काम चाँडै गरिनेछ ।’


कांग्रेसमा संस्थापनइतर पौडेल र सिटौला समूहले तत्काल विधान संशोधन गरेर प्रादेशिक संरचनाअनुसार संगठन निर्माण गर्न दबाब दिइरहेका छन् । उनीहरूले जिल्ला सभापतिको भेलाबाटै महासमिति बैठकको मिति तोक्न दबाब दिँदै आएका छन् ।

प्रकाशित : असार ५, २०७५ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?