कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल-जापान सीधा हवाई उडान हुने

टोकियो — लामो समयको प्रयासपछि पुन: नेपाल–जापान सीधा हवाई सेवा सञ्चालनका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । 

नेपाल-जापान सीधा हवाई उडान हुने

सोमबार नेपाल र जापानका सरकारी अधिकारीहरुबीच वार्तापछि सीधा हवाई सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको टोकियोस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार हवाई सेवा सम्झौता (एएसए) २५ वर्षपछि पुनरावलोकन भएको हो । यसअघि नेपाल–जापानबीच १९९३ मा सीधा हवाई उडान गर्ने सम्झौता भएको थियो ।


सोमबार टोकियोमा नेपाल सरकारको प्रतिनिधिमण्डलका प्रमुख संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव कृष्ण देवकोटा र जापानका पर्यटन, पूर्वाधार तथा भूमि मन्त्रालयका प्रमुख हिरोसी कुवामोतोबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको दूतावासले जानकारी दिएको छ ।


पर्यटन सचिव देवकोटाले लामो समयको प्रयासपछि नेपाल–जापानबीच सीधा हवाई सेवा सञ्चालन गर्ने सम्झौता भएको र अन्य प्राविधिक पक्षमा निरन्तर छलफल हुने जानकारी दिए । उनका अनुसार चारदेखि पाँच महिनाभित्रमा नेपाल-जापान सीधा हवाई सेवा आधिकारीक रुपमा सञ्चालनमा आउने तयारी नेपाल सरकारको छ । सम्झौता अनुसार अब नेपाल-जापानबीच सातामा १४ वटा उडान हुनेछन् । यद्यपि टोकियोमा सबैभन्दा व्यस्त मानिने हानेदा विमानस्थलबाहेक नारिता विमानस्थल र अन्य विमानस्थलबाट हवाई सेवा सञ्चालन गरिने द्विपक्षीय सम्झौता पत्रमा उल्लेख छ ।


सीधा हवाई सेवाले जापानमा ८० हजारको हाराहारीमा रहेका नेपालीहरु र नेपाल घुम्म जाने जापानी पर्यटकहरुले प्रत्यक्ष लाभ लिने सक्ने बैठकमा सहभागी नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल बताए । सन् १९९३ को सम्झौतामा सातामा ७ वटा जति उडान गरिएको भए पनि यो सम्झौतामा सातामा १४ वटा उडान भर्न पाउने हुँदा आफैंमा ऐतिहासिक भएको उपनियोग प्रमुख अर्यालले बताए ।


बैठकमा नेपालको तर्फबाट सचिव देवकोटाको नेतृत्वमा, पर्यटन मन्त्रालयका उपसचिव सचिव प्रमोद नेपाल, नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख अर्याल सहभागी थिए ।



तस्बिर : नेपाली राजदूतावास टोकियो

प्रकाशित : असार ५, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?