कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले मनास्लु पदयात्री जोखिममा

हरिराम उप्रेती

गोरखा — बर्खा लागेसँगै मनास्लु पदमार्गका ठाउँठाउँमा पहिरो जान थालेको छ । माथिबाट ढुंगा झर्न थालेपछि यात्रु जोखिममा छन् ।

पहिरोले मनास्लु पदयात्री जोखिममा

‘कतिखेर पहिरो जान्छ थाहा हुँदैन,’ लापुबेंसीमा खच्चड खेदिरहेका कान्छा गुरुङले भने, ‘तल बूढीगण्डकी छ, माथि भीर । हिँड्दा–हिँड्दै पहिरो खसिरहन्छ । भगवान् सम्झेर हिँड्छौं ।’

पदमार्गअन्तर्गत अर्मलादेखि तातोपानीसम्म नेपाली सेनाले सडक ट्रयाक खोलेको छ । त्यसक्रममा विस्फोटक प्रयोगले कमजोर भएको ढिस्को र पहरा पानी परेसँगै झर्न थालेको छ । ‘हिँड्न सक्ने अवस्था छैन । पानी पर्दा होस् कि घाम लाग्दा, पहिरो झरिरहन्छ,’ लापुका कुमार गुरुङले भने, ‘भीरतिर हेर्दै कुद्ने हो ।’


नौलीखोला, लापुबेंसी, तातोपानी र माछाखोलालगायत एक दर्जन ठाउँमा ठूल्ठूला पहिरो गएका छन् । ‘तल मान्छे हिँडेको हुन्छ, माथिबाट ढुंगा झरेको झर्‍यै गरिरहन्छ, यसले निकै जोखिम बढायो,’ धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने । पदमार्ग दुई महिनाका लागि बन्द गर्नेबारे छलफल भइरहेको उनले बताए ।


‘पदमार्ग जोखिमपूर्ण रहेको उल्लेख गरी अर्मला र माछाखोलामा होर्डिङबोर्ड राख्ने तयारीमा छौं,’ उनले भने । गाउँपालिकाले वैकल्पिक र सुरक्षित मार्ग प्रयोग गर्न पनि स्थानीयलाई आग्रह गरेको छ । पहिरोले उत्तरी गोरखाका सामागाउँ, छेकम्पार, चुम्चेत, सिर्दिवास, विही, ल्हो, प्रोक, विही, गुम्दा र केरौंजालगायत गाउँका स्थानीयलाई आउजाउमा समस्या छ ।


अघिल्ला वर्ष ढुंगा खसेर लाग्दा पदयात्री घाइते हुने तथा ज्यानै जानेसम्मका घटना भइसकेका छन् । उत्तरी गोरखामा सामान ढुवानीको एकमात्र साधन खच्चड हो । पदमार्ग असुरक्षित बनेपछि दैनिक उपभोग्य सामग्री लैजानेहरू, बिरामी तथा कामविशेषले आउजाउ गर्नेहरू चिन्तित छन् ।


ढुंगा खस्ने समस्याले वर्षौंदेखि पीडित उनीहरू यसपालि पनि वषायाम कसरी कटाउने भन्ने पिरलोमा छन् । प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जोखिम घटाउन नेपाली सेनासँग समन्वय गर्ने बताए ।

प्रकाशित : असार ६, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?