कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डरले जाग्राम

अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प, बाढी र दैनिक सुक्खा पहिरोले थिल्थिलो बनेको उत्तरी सीमाक्षेत्रको अवस्था अझै उस्तै छ । बर्खाअघि नै दैनिक पहिरो खस्न र जमिन भासिन थालेपछि स्थानीय जाग्राम बस्ने गरेका छन् । 

डरले जाग्राम

‘भूकम्पलगत्तै नाका बन्द भयो अनि बाढीले तहसनहस बनायो,’ भोटेकोसी गाउँपालिकाको लिपिङ बजारमा होटल चलाइरहेकी डोल्मा शेर्पाले भनिन् । भूकम्पपछि बन्द नाका खुल्ने र गाउँ पहिलेकै अवस्थामा फर्किने आसमा बसेको उनले सुनाइन् ।


‘तर, बर्खाले कहाँ भागौंजस्तो बनाउँछ,’ उनले भनिन्, ‘सडकपिच्छे पहिरो खस्छ । बाढी आउने डरले मन आत्तिन्छ ।’ नाका खुलेका बेला पाइला टेक्ने ठाउँ नपाएर झोले व्यापार गरेकी उनले हालसम्म यो स्थान छाडेकी छैनन् ।


लिपिङ बजारउता कपाल काट्ने एउटा पसल सञ्चालन भइरहेको भए पनि अरू सबै तातोपानी बजारतर्फ सरेको लिपिङकी सुनमाया तामाङले बताइन् । ‘त्यतापट्टिको भूभाग नै खण्डहर भइसकेको छ, माथिल्लो पहिरोको डरले कोही त्यता जाँदैनन्,’ उनले भनिन् । उनका अनुसार बर्खा आएलगत्तै तातोपानी बजारका स्थानीय पनि चौकी डाँडामा सर्न थालिसकेका छन् ।


तातोपानी, कोदारी बजार हुँदै लिपिङ बजारको छेउसम्म सडकको अवस्था ठिकै रहेको

उनले जानकारी दिइन् । त्यसउताको संरचना क्षतिग्रस्त छ । पहिरो हटाएर मितेरी पुलसम्मको सडक खुलाइए पनि मर्मत नहुँदा जीर्ण बन्दै गइरहेको स्थानीय बताउँछन् ।


‘तातोपानी भन्सार कार्यालयअगाडि अघिल्लो बर्खाझैं खोल्सा बग्न थालिसकेको छ,’ भन्सार कार्यालय सुरक्षार्थ बसेका प्रहरीले भने । सशस्त्रका दुई प्रहरीबाहेक त्यो क्षेत्रमा कसैको उपस्थिति छैन ।


भन्सार कार्यालय, बैंक, अध्यागमन, क्वारेन्टाइनलगायत संरचनाको भग्नावशेष मात्रै बाँकी छ । बर्खा नलाग्दै मक्किन थालेका अन्य संरचना अहिले बग्ने अवस्थामा पुगिसकेका छन् ।


सडक खण्ड भत्किएको र माथिबाट ढुंगा खसिरहेकाले त्यहाँ जान बन्देज लगाइएको सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी हजारीलाल जयसवालले बताए । ‘मितेरी पुलदेखि तातोपानी बजार छेउसम्मका भूभागमा सुक्खा पहिरो खस्न थालेको छ,’ उनले भने, ‘कोदारी राजमार्ग मर्मत नगर्दा आउजाउमा समस्या भइरहेको छ ।’


२२ सयको बसोबास रहेको तातोपानीमा जोखिमको त्रासले अधिकांशले घर छोडिसकेका छन् । विपन्न परिवार मात्रै जोखिम मोलेर आफ्नै थलोमा बस्न बाध्य छन् ।


सञ्चार, सडकजस्ता अत्यावश्यक पूर्वाधार अभावले स्थानीय सास्तीमा परेको भोटेकोसी गाउँपालिकाका उपप्रमुख दाबुटी शेर्पा सुनाउँछिन् । ‘नाका नखुल्दा बेवास्तामा परियो,’ शेर्पा भन्छिन्, ‘नाका नखुले पनि आवश्यक पूर्वाधार निर्माण र व्यवस्थित बनाएर छाड्नेछौं ।’

प्रकाशित : असार ६, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?