कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमलरी मृत्यु प्रकरण : पश्चिम तराईमा प्रदर्शन

बर्दिया — ११ वर्षीया घरेलु कामदार (कमलरी) अस्मिता थारूको ‘हत्या’ भएको दाबी गर्दै सरोकारवालाले पश्चिम तराईका बाँके, बर्दिया र दाङमा बुधबार प्रदर्शन गरेका छन् । ११ सूत्रीय माग राख्दै दोषी पत्ता लगाएर कारबाही गर्न उनीहरूले दबाब दिएका छन् ।

कमलरी मृत्यु प्रकरण : पश्चिम तराईमा प्रदर्शन

बर्दिया सदरमुकाममा विभिन्न गाउँबाट आएका २ सय मुक्त कमलरीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाए ।


मुक्त कमलरी विकास मञ्चकी सचिव रीता चौधरीको नेतृत्वमा जिल्ला समन्वय समिति हुँदै जिल्ला प्रशासनको मूलद्वारमा एक घण्टा प्रदर्शन गरे । ज्ञापनपत्रमा मृतक अस्मिताको बलात्कारपछि हत्या गरिएको भन्दै शव उत्खनन गरी पुन: परीक्षण, प्रथा उन्मूलनपछि पनि कमलरी राख्नेलाई हदैसम्मको कारबाही, कमलरीको अविलम्ब उद्धार र पुन:स्थापनालगायत माग राख्दै उनीहरूले ज्ञापनपत्र बुझाएका थिए । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बालिका मृत्युको घटनालाई गम्भीर रूपमा लिएको बताए । ०७० सालदेखि बढैयाताल गाउँपालिका ७ का दुर्गा भण्डारीको घरमा कामदारका रूपमा बस्दै आएकी अस्मिता जेठ २९ गते भण्डारीकै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । भण्डारीलाई सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको छ ।


बाँकेमा धर्ना

बाँकेका मुक्त कमलरीले पनि स्थानीय प्रशासनमा धर्ना दिएका छन् । उनीहरूले कमलरी उद्धारमा सरकारले चासो नदिएको भन्दै धर्ना दिएका हुन् । उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई मागसहितको ज्ञापनपत्र बुझाए । कतिपय कमलरीको मालिकबाटै हत्या भएको आरोप उनीहरूको छ । मुक्त कमलरी विकास मञ्चले अस्मिताको हत्या भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।


दाङमा प्रदर्शन

मृत्युको छानबिन माग गर्दै पश्चिम तराईका मुक्त कमलरी आन्दोलित भएका छन् । उनीहरूले बुधबार घोराही बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेर धर्ना दिए । निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई ज्ञापनपत्र बुझाउँदै मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनीता चौधरीले कमलरी हत्याबारे तत्काल छानबिन हुनुपर्ने माग गरिन् । ‘घटनाको छानबिन नहुँदै शव गाडिएको छ । तत्काल शव उत्खनन गरी पोस्टमार्टम हुनुपर्छ,’ उनले भनिन्, ‘हत्याका दोषीलाई कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।’


ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी आचार्यले मुक्त कमलरीका मागलाई तत्काल गृह मन्त्रलायमा पठाइने बताए । ‘कमलरी राख्नु कानुनविपरीत काम हो । हामीले कमलरीको अवस्थाबारे जानकारी पठाउन सबै स्थानीय तहमा पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘तत्काल उद्धारको काम थाल्छौं । कमलरीमाथि थप घटना नहोस् भन्नेमा हामी सजग छौं ।’


१० वर्षको अवधिमा चार कमलरी झुन्डिएको र दुईजना आगोमा जलेको अवस्थामा भेटिएका छन् । सरकारले २०७० असार १३ गते देशलाई कमलरीमुक्त घोषणा गरेको थियो तर कमलरी राख्ने क्रम रोकिएको छैन ।


कमलरी मृत्युको छानबिन माग गर्दै मुक्त कमलरीले दाङको घोराहीमा गरेको प्रदर्शन । तस्बिर : दुर्गालाल केसी


प्रकाशित : असार ६, २०७५ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?