कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पनामा पेपर्स खुलासा-२ : अवैध धन लुकाउनेमा मेस्सीदेखि अर्जेन्टिनाका राष्ट्रपतिसम्म

काठमाडौँ — खोज–पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कर्न्सोटियम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आईसीआईजे) ले अवैध धन लुकाउने खेलाडीदेखि नेतासम्मको फेहरिस्त पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ ।

पनामा पेपर्स खुलासा-२ : अवैध धन लुकाउनेमा मेस्सीदेखि अर्जेन्टिनाका राष्ट्रपतिसम्म

विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भन्ने पहिलो विवरण (पनामा पेपर्स) खुलासा भएको दुई वर्षपछि आईसीआईजेले दोस्रो विवरण सार्वजनिक गरेको हो ।


मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट आईसीआईजेले पाएको विवरणअनुसार चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी, अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो मार्सी र कुवेतका उच्चपदस्थ अधिकारीलगायत अवैध सम्पत्ति सञ्चय र करछली प्रकरणमा जोडिएका छन् ।


आईसीआइजेले विश्वभरका सयभन्दा बढी सञ्चार माध्यमसँग मिलेर सार्वजनिक गरेको ‘पनामा पेपर्स–२’ मा चर्चित फुटबल खेलाडी मेस्सी र उनका पिता गोर्खे होरासियो मेस्सी पनि ट्याक्स हेभनमा अवैध सम्पत्ति राखेका छन् । उनीहरुले पनामामा खोलिएका अफशोर कम्पनीहरुमार्फत अर्बौं डलर करछली गरेको खुलासा भएको हो । करछली गर्न सुरक्षित मुलुक मानिने पनामामा लियोनल मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक गोप्य कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ ।


मेस्सीको नाम पहिलो पनामा पेपर्समासमेत सार्वजनिक भएको थियो । त्यतिबेला उनले मेघा स्टार इन्टरप्राइजेज ‘पूरै निष्क्रिय’ रहेको दाबी गरेका थिए । तर, कम्पनी सक्रिय राखेर फेरि करछली गरेको थप विवरण बुधबार सार्वजनिक भएको हो । ‘मोसेक फोन्सेकाको आन्तरिक इमेलको अभिलेखले मेसीको दाबीमाथि प्रश्न खडा गरिदिएको छ,’ आईसीआईजेले भनेको छ ।


करछलीको अघिल्लो खुलासा सार्वजनिक भएपछि मेस्सीलाई स्पेनिस कोर्टले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर (करिब २४ करोड रुपैयाँ) जरिवाना गर्ने सजाय सुनाएको थियो । तर, बीबीसीका अनुसार ‘स्पेनको कानूनअनुसार २ वर्षभन्दा कम सजाय भएको कसुरमा फुटबल खेलाडीले जेल बस्नुु नपर्ने व्यवस्थाका कारण’ उनले उन्मुक्ति पाएकाथिए । दूई वर्षअघिको पनामा पेपर्समा २० नेपालीको समेत नाम सार्वजनिक भएको थियो । यसबारे नेपाल सरकारले अहिलेसम्म कुनै छानविन तथा कारबाही अघि बढाएको छैन ।


यस्तै, पनामा पेपर्स–२ ले अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो म्यार्की आफ्नो स्वामित्वमा रहेको बाहमासस्थित ‘फ्लेग ट्रेडिङ कम्पनी’ स्थापना भएको मिति परिवर्तन गरेर चोखिन खोजेको पनामास्थित मोसेक फोन्सेकाको केन्द्रीय कार्यालय र उरुग्वेस्थित शाखाबीच सन् २०१६ सेप्टेम्बर र अक्टोबरमा भएको इमेल कुराकानीले पुष्टि गरेको आइसीआइजेले जनाएको छ ।


बाहमासमा रहेको ‘फ्लेग ट्रेडिङ्ग कम्पनी’ र पनामाको मोसेक फोन्सेकाबीच सम्बन्ध भएको तथ्य लुकाउन पहिल्यैको मिति राखेर कागजात बनाउने मोसेक फोन्सेका कम्पनीका कर्मचारीले प्रयास गरेका थिए । पनामा पेपर्स–२ ले मलेसिया, कुवेत र रूसका राजनीतिज्ञको नामसमेत सार्वजनिक गरेको छ । विवरणअनुसार मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकका भाइ मोहम्मद निजाम विन अब्दुल रजाकले ब्रिटिस भर्जिन आइल्यान्डस्मा कम्पनी दर्ता गरेका थिए ।


इभर ब्राइट यूनिभर्सल होल्डिङस् लिमिटेड कम्पनीको नाममा अमेरिकामा समेत उनको सम्पत्ति छ । २०१७ मेमा भएको संसदीय निर्वाचनबाट सत्ताच्यूत भएका रजाकले आफ्नो कार्यकालमा राज्यको लगानी कोषबाट अर्बौ डलर (खरब रुपैया) हिनामिना गरेका थिए ।


रूसका धनाढ्य तथा राजनीतिकर्मी विटाली मल्किनले पनि स्रोत नखुलेको अर्बौं डलर विदेशमा लगानी गरेको भेटिएको छ । काजकस्थानका राष्ट्रपति नरसुल्तान नजरबयभकी छोरी डरिगा नजरबयभ पनि ब्रिटिस भर्जिन आइल्यान्डसस्थत कम्पनीमा लगानीकर्ता देखिएकी छन् ।


प्रकाशित : असार ७, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?