कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टहरामा भेल

सडक निर्माणमा लापरबाही

काठमाडौँ — रातको २ बजे, दर्के झरी पर्दै थियो । जेठ १६ गते सुन्ताखानमा जस्ताको टहरामा सुतेका सन्तोष गौतमको शरीरमा चिसो पानी खन्याए जस्तो भएपछि आँखा खुल्यो ।

टहरामा भेल

सेतो गन्जी लाएर सुतेको आफ्नै हिलाम्मे शरीर देखेर एकछिन त अक्क न बक्क भए, के भएको भेउ नै पाएनन् ।


तुरुन्तै आमाबुबालाई उठाए । माथिबाट आएको भेलले उनको परिवार बस्ने टहरा छोपिसकेको थियो । होचो टेबलमाथिको ल्यापटप, चामलका बोरा, सुकाउन भनी राखेको बेसार र अदुवा सबै भिजिसकेको थियो । कपडा, ओढ्ने ओच्छ्याउने, किताबकापी, गरगहनासमेत हिलाम्मे भयो ।
उक्त घटना सडक बनाउने क्रममा ठेकेदारको लापरबाहीले भएको भन्दै गौतम क्षतिपूर्ति दिलाइदिन विभिन्न सरकारी निकाय धाइरहेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भेटिएका उनले भने, ‘नयाँ सडक निर्माणका क्रममा पटक–पटक भन्दा पनि पानीको उचित निकास नबनाएकाले यो परिस्थिति आएको हो । नगरपालिकाले ठेक्का लगायो, त्यस क्रममा भएको यो घटनाको क्षतिपूर्ति ठेकेदारले दिनुपर्छ ।’ एमएस्सी पढ्दै गरेका गौतमको परीक्षा नजिक आउन थालिसक्यो तर त्यो दिन भएको घटनाको क्षतिपूर्ति माग्न वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन, गृह मन्त्रालय सबैतिर धाउँदै दिन बितेको छ ।


उनका बुबा लक्ष्मीराज गौतमले जेठ २८ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ठेकेदार अमर कन्स्ट्रक्सनबाट जिउधनको सुरक्षा गरी क्षतिपूर्ति भराई पाऊँ भनी निवेदन दिएका छन् । बर्खाको मौसममा बन्दै गरेको गोकर्ण तारेभीर सडक निर्माणका क्रममा पानी निकासबारे आफूसहितका स्थानीयले पहिले पनि भेल आउने घटनाबारे जानकारी गराउँदा पनि ठेकेदारले नसुनेको उनले बताए । माथितिरको प्लटिङ, बर्खामा पानीको बहाव, पुरानो नालाको चौडाइ आदिबारे स्थानीय जानकार भएकाले पटक–पटक ठेकेदारलाई ढल ठूलो बनाउन भनिरहेका थिए । तर नबनाएकाले माथितिरको सबै भेल घरमा पसेर क्षति भएको गौतमले बताए । ढाडफेदी तारेभीर सडक मर्मत तथा स्तरोन्नति शीर्षकमा यस वर्ष नगरपालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएको छ । वडा ३ ले क्षतिपूर्ति दिलाउन आवश्यक सहयोग गरिदिन नगरपालिकालाई पत्राचार गरेपछि नगरले प्रहरी वृत्त बौद्धलाई जेठ २३ मा पत्र लेखेको छ । तर प्रहरीले छलफलका लागि बोलाउँदा ठेकेदार पक्षबाट कोही नआएको गौतमको भनाइ छ ।


टहराको बास उनको बाध्यता हो । २०७२ को भूकम्पले झन्डै २० वर्षअघि बनाएको घर बस्न नहुने बनाइदिएपछि ३ जनाको परिवार टहरामा बस्दै आएको थियो । पुरानो घरलाई गोठका रूपमा प्रयोग गर्दै आएकामा अहिले त्यही घरले परिवारलाई ओत दिएको छ । कहिले भत्किने हो भन्ने त्रास हुँदाहुँदै पनि बस्नुपर्ने बाध्यता रहेको गौतम बताउँछन् ।


निजी आवास निर्माण अनुदानबापत पहिलो किस्ता ५० हजार रुपैयाँ बुझेका उनको टहराको केही मुनि नयाँ घरको डीपीसी गर्ने काम हुँदै छ । पैसा अभावले पिलर हालेर छोड्ने भनेको घरमा ६ लाख रुपैयाँ सकिसक्यो । ‘त्यस रात त पानी निकाल्दैमा, सरसामान निकाल्दैमा बिहान भयो,’ गौतमले भने, ‘चामल पनि सद्दे थिएन, प्लास्टिकमा राखेको केही चामल जोगिएको रहेछ । त्यही पकायौं ।’

प्रकाशित : असार ८, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?