कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२३ डेरीका दूधमा कोलिफर्म

यसअघि २०७० असारमा पनि निजी तथा सरकारी डेरीका उत्पादनमा कोलिफर्म जीवाणु फेला
सुरज कुँवर

काठमाडौँ — राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि (जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमुनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको हो ।

२३ डेरीका दूधमा कोलिफर्म


बबरमहलस्थित खाद्य तथा प्रविधिमातहतको केन्द्रीय प्रयोगशालाका अनुसार अन्तर्राष्ट्रियस्तरको खाद्य सुरक्षा व्यवस्थापन प्रणालीमा आधारित आईएसओ प्रमाणीकरण गरिएको सरकार स्वामित्वको दुग्ध विकास संस्थानसहित २३ वटा निजी तथा सामुदायिक डेरीको दूधमा कोलिफर्म फेला परेको छ । मन्त्रालयद्वारा जारी रिपोर्टअनुसार आधुनिक डेरी बालाजु (आधुनिक), गल्फु विनायक डेरी काभ्रे (अलिसाज), आकृति दुग्ध तथा कृषि बालकोट (अनमोल), जयश्री डेरी काभ्रे (अपर्ण), भक्तपुर डेरी भक्तपुर (भक्तपुर), चौधरी डेलिसियस मिल्क एन्ड वेभरेज (एचडीआई नीलो/रातो), हिमालय डेरी लगनखेल (डेली यूएचटी), दुग्ध विकास संस्थान (डीडीसी काउ/क्रिम/स्ट्याडर्ड/टि मिल्क) का दूधमा कोलिफर्म जीवाणु पाइएको छ ।


त्यसैगरी जगदम्बा डेरी भक्तपुर (एभ्रीडे), एचडी मिल्क एन्ड वेभरेज काठमाडौं (गोधूलि), कालिका डेरी भक्तपुर (कालिका), कान्तिपुर फ्रेस मिल्क (रातो/नीलो), नवप्रभात डेरी गोदावरी (नवप्रभात), नेपाल डेरी धापाखेल (एन्डिज), कन्ट्री फुड प्रालि भक्तपुर (नोभा), राजधानी डेरी काठमाडौं (आरडीसी), सुजल डेरी थानकोट (सफल), संजीवनी डाइटी उद्योग भक्तपुर (संजीवनी), शिवम् डेरी भक्तपुर (शिवम्), सीताराम डेरी कीर्तिपुर (कृष्ण), हिमालय डेरी प्रडक्ट लगनखेल (टुडे), तुलसा डेरी प्रालि काठमाडौं (तुलसा) र संयुक्त डेरी पाटनको (एस) लगायत प्रशोधित दूधमा पनि कोलिफर्म फेला परेको छ । प्रयोगशालाले सामूहिक कृषि डेरी बालाजुको उत्पादन (सुलभ रातो/नीलो प्याकेट) र भक्तपुरको खरिपाटी डेरीको उत्पादन (गायत्री) मा भने कोलिफर्म नभेटिएको जनाएको छ ।


चिकित्सकका अनुसार कोलिफर्म रातो रगत भएका मानिस, चौपाया र चराचुरुंगीको दिसामा पाइन्छ । यो दर्जन बढी ब्याक्टेरियाहरूको समूह हो । कोलिफर्म मुख्य तीन प्रकारका हुन्छन्– इकोलाई, फेकल र टोटल । दूधमा भेटिएको कोलिफर्म कुन प्रकारको हो भनेर केन्द्रीय प्रयोगशालामा वर्गीकरण गरिँदैन । चिकित्सकका अनुसार इकोलाई कोलिफर्म मिसिएको दूध वा पानी पिउँदा स्वास्थ्यमा हानि पुग्छ । यो जीवाणुको मिसावट भएमा पखाला लाग्ने, टाउको दुख्ने, मांसपेसी बाउँडिने आदि हुन्छ । दूधमा कोलिफर्मको मात्रा जति धेरै हुन्छ, त्यति धेरै जोखिम हुन्छ । कोलिफर्म दूधमा हावाको माध्यमबाट उडेर वा दूषित पानीको मिसावटबाट सर्ने गर्छ ।


डेरी उद्योगमा ७२ डिग्रीसम्मको तापक्रममा दूधलाई उमालेर जीवाणु नष्ट गर्ने गरिन्छ । दूध उमालेपछि चिस्याएर मात्रै पाउचमा प्याकेजिङ गरेर राखिन्छ । प्याकेजिङक्रममा उद्योगको मेसिन, स्टोरेज ट्यांकी, पाइप हुँदै प्याकेटमा दूध भर्ने क्रममा कोलिफर्म सर्ने गरेको केन्द्रीय प्रयोगशालाका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । ‘डेरी उद्योगमा प्रशोधनपछिको अवस्थामा कोलिफर्म मिसावट हुने गरेको देखियो,’ प्रवक्ता वस्तीले बताए ।



कोलिफर्म जीवाणुहरूको प्रत्यक्ष सम्बन्ध खाद्य पदार्थ प्रशोधन तथा उत्पादन गर्ने वातावरणको स्वच्छता तथा सरसफाइसँग रहने भएकाले यस जीवाणुको उपस्थितिलाई उद्योग सरसफाइको सूचक मानिन्छ । मन्त्रालयले विज्ञप्तिमार्फत ‘दूधलाई उमाल्दा कोलिफर्मजस्ता सूक्ष्म जीवाणु नष्ट हुने भएकाले उपभोक्तालाई राम्ररी उमालेर मात्रै उपभोग गर्न’ अनुरोध गरेको छ । उसले दूषित दूध बिक्री गर्ने डेरीलाई कानुनी कारबाही थालिएको जनाएको छ ।

दूधमा सूक्ष्म जीवाणु तथा दूषित नमुना बारम्बार देखिनुले मन्त्रालयमातहत राष्ट्रिय दुग्ध विकास बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कमजोरी कारण रहेको भन्दै उपभोक्ताहरूले गम्भीर प्रश्न उठाएका छन् । यी दुई निकाय जिम्मेवार नहुँदा उपभोक्ताले मिसावट र दूषित दूधलगायत खाद्यान्न खान बाध्य हुनुपरेको देखिएको छ । २०७० असारमा पनि पहिलो पटक थुप्रै निजी तथा सरकारी डेरीका उत्पादनमा कोलिफर्म जीवाणु फेला परेको थियो ।


प्रकाशित : असार १०, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?