१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

समुदायले बनाए क्यान्सर अस्पताल

ठाकुरसिंह थारु

नेपालगन्ज — समुदायको सक्रियतामा एक दशकअघि बाँकेको खजुरामा स्थापना गरिएको क्यान्सर अस्पताल सोमबारदेखि सञ्चालनमा आएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पतालको उद्घाटन गरे ।

समुदायले बनाए क्यान्सर अस्पताल

सरकारले यसलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका रूपमा विस्तार गर्ने निर्णय गरेको थियो । त्यसपछि क्यान्सर विशेषज्ञसहितका जनशक्ति उपलब्ध गराइएको हो ।

यो चितवन पश्चिमको पहिलो क्यान्सर अस्पताल हो । यस क्षेत्रका स्थानीयले निर्माणका लागि मुठी दान गरेका थिए । आर्थिक सहयोग जुटाउन ०६५ माघमा महायज्ञ सञ्चालन गरिएको थियो । त्यसबाट संकलन भएको ५ करोड २६ लाख रकमबाट सुरुवात गरिएको थियो । १ सय बेडको स्वीकृति पाएको अस्पतालले तत्कालका लागि ५९ बेड तयार गरेर सेवा दिन थालेको छ ।

उपप्रधानमन्त्री यादवले अस्पताल सञ्चालनका लागि सरकारले सघाउने प्रतिबद्धता जनाए । यस क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । सरकारले पूर्वाधार निर्माणका लागि अहिलेसम्म २७ करोड रुपैयाँ सहयोग गरेको छ । त्यसमध्ये बहिरंग (ओपीडी) भवनको निर्माण पूरा भएको छ । रेडियोलोजी तथा रेडिएसन भवन निर्माण अन्तिम चरणमा पुगेको अस्पतालले जनायो । भौतिक पूर्वाधार र सेवा सुरुवातमा अहिलेसम्म २२ करोड ५० लाख ८१ हजार रुपैयाँ खर्च भएको छ ।

ओपीडी सेवाका लागि ल्याब, एक्सरे, भिडियो एक्सरे जडान भइसकेको अस्पतालले जनाएको छ । ‘अस्पताल सञ्चालनपछि हाम्रो सपना पूरा भएको छ,’ अस्पताल सञ्चालन समिति अध्यक्ष किस्मतकुमार कक्षपतिले भने, ‘१० वर्षपछि यहाँका बासिन्दाको सपना साकार भएको छ ।’ स्थानीयकै पहलमा अस्पताल निर्माणका लागि ४ बिघा जग्गा उपलब्ध गराइएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेलसहित पाँच चिकित्सक यहाँ खटिएका छन् ।

अस्पतालले ओपीडी सेवामार्फत यथासम्भव उपचार गर्ने र जटिल प्रकारका बिरामीलाई चितवनको भरतपुरस्थित क्यान्सर अस्पताल रिफर गर्ने जनाएको छ ।

अस्पतालले सेवा सुरु गर्नुअघि स्तन र पाठेघरको मुखको क्यान्सर पहिचान गर्न बाँके र बर्दियाका १ सय ६० महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको छ । २ सर्जन, २ मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, ८ जना स्टाफ नर्ससहित २७ जनाको दरबन्दी पूर्ति गरिएको छ ।

अध्यक्ष कक्षपतिको अगुवाइमा संगठित स्थानीयले महायज्ञ लगाएर सुरुमा प्रखर परोपकार मिसन भन्दै सुरु गरेका थिए ।

‘एम्बुलेन्स आइसकेको छ । ओपीडी ब्लक निर्माण सकिएको छ । रेडियोलोजी ब्लक पनि अन्तिममा पुगेको छ,’ अध्यक्ष कक्षपतिले भने ।

प्रकाशित : असार १२, २०७५ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?