हेलिकप्टरबाट सुत्केरीको उद्धार

चन्द्र कार्की

तेह्रथुम — बसन्तपुर-म्याङलुङ २६ किलोमिटर सडक हिलाम्मे भएर सवारी साधन नचलेपछि म्याङलुङ नगरपालिका–५ अम्फुवाकी २७ वर्षीया दिलु लिम्बूलाई मंगलबार हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौं लगिएको छ ।

हेलिकप्टरबाट सुत्केरीको उद्धार

जिल्ला अस्पतालमा शल्यक्रिया गरी सुत्केरी भएकी लिम्बूको पाठेघरबाट रक्तश्राव भएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । लिम्बूको जिल्ला अस्पतालको आकस्मिक प्रसूति कक्षमा गत आइतबार शल्यक्रिया गरी प्रसूति गराइएको थियो ।


कमजोर आर्थिक अवस्थाका लिम्बूका परिवारले गाउँमा ऋण खोजेर हेलिकप्टर भाडाको जोहो गरेका थिए । ३ लाख ६० हजार रुपैयाँ भाडा तिरेर श्री एयरलाईन्स्को हेलिकप्टर चार्टर गरिएको दिलुका श्रीमान् गणेशले बताए । प्रसूतिका क्रममा पाठेघरमा समस्या देखिएकोले शल्यक्रिया गर्दा बढी रक्तश्राव भएको अस्पतालले जनाएको छ । दिलुको पाठेघर च्यातिएर बढी रक्तश्राव भएको उपचारमा संलग्न डाक्टर रोहितकुमार झाले जानकारी दिए ।


बढी रक्तश्राव भएपछि जोखिम बढेको भन्दै अस्पतालले आइतबार नै जिल्ला बाहिरका अस्पतालमा उपचार लागि लैजान बिरामीलाई रेफर गरेको थियो । आइतबार नै हेलिकप्टर चार्टर गरिए पनि मौसम खराबीले हेलिकप्टर आउन नमानेको गणेशले बताए । दिलुको टिचिङ हस्पिटल काठमाडौंमा उपचार भइरहेको छ ।

प्रकाशित : असार १२, २०७५ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?