कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरुषले पनि नर्सिङ पढ्न पाउने

अतुल मिश्र

काठमाडौँ — अब पुरुषले पनि नर्स बन्न पाउने भएका छन् । नर्सिङ शिक्षामा पुरुषलाई विभेद गर्न नहुने माग उठिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७५/७६ देखि नर्सिङ अध्ययन हुने सबै कलेजमा १५ प्रतिशत पुरुषलाई पढाउने भएको छ । अन्य मेडिकल प्रोफेसनमा पुरुष र महिला सबैले पढ्न पाउने अधिकार भए पनि करिब २५ वर्षदेखि नर्सिङमा महिलाले मात्र यो अवसर पाएका थिए ।

पुरुषले पनि नर्सिङ पढ्न पाउने

‘हामीले विश्वविद्यालय, सीटीईभीटी, प्रतिष्ठानलाई मातहत नर्सिङ कलेजमा १५ प्रतिशत पुरुषलाई अध्यापन गराउनैपर्ने व्यवस्था लागू गर्न पत्राचार गरेका छौं,’ नर्सिङ परिषदका अध्यक्ष प्रा.गोमादेवी निरौला श्रेष्ठले कान्तिपुरसँग भनिन्, ‘यसले नर्सिङ शिक्षामा भन्ने गरिएको लैंगिक विभेद हटेको छ ।’ केही वर्षयता भारतलगायत मुलुकबाट नर्सिङ पढेर आउने नेपाली पुरुषले परिषद्बाट लाइसेन्स लिने गरेका थिए । २०५० सालअघिका ४ ब्याचमा करिब ८० जना पुरुष नर्स उत्पादन भएको सम्झँदै निरौला भन्छिन्, ‘त्यसपछि पुरुषले पढ्न पाउने व्यवस्था किन बन्द भयो थाहा भएन ।’


अस्पतालमा कतिपय चिकित्सा प्रक्रियामा पुरुष बिरामीलाई महिला नर्सले हेरचाह गर्दा असहज हुने गरेको औंल्याउँदै उनी भन्छिन्, ‘यस्तो अवस्थामा पुरुष नर्स रुचाउने बिरामीलाई असजिलो हुने स्थितिसमेत थियो ।’ अझ महिला प्रजनन अधिकारले गर्दा सुत्केरी अवस्थामा महिनौं बिदा बस्नुपर्दा स्वास्थ्य निकायमा नर्स अभावसमेत खटकिने गरेको उनले बताइन् । ‘पुरुष नर्स भए यस्तो स्थितिमा सहज हुनेछ,’ उनले भनिन् ।


नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल पनि महिलालाई असहज हुने अवस्थामा पुरुष नर्स हुँदा सहज हुने बताउँछिन् । उनले पुरुषले समेत नर्सिङ पढ्न पाउनुपर्ने माग संघले उठाउँदै आएको बताइन् । ‘मुलुकमा कार्यरत पुरुष नर्स औंलामा गन्न सकिन्छ, नर्सिङ पढ्न खोज्ने पुरुषहरू हाल भारतलगायत मुलुक जाने गरेका छन्,’ उनले भनिन्, ‘अब त्यो रोकिन्छ ।’ नेपालमा नर्सिङ पढाइ हुने करिब १ सय २० वटा कलेज छन् । परिषद्मा दर्ता भएका नर्सको संख्या ८१ हजार १ सय २५ छ । संघका अनुसार सरकारी स्वास्थ्य निकायमा करिब २५ हजारभन्दा बढी नर्स चाहिए पनि १२ हजार जति कार्यरत छन् ।

प्रकाशित : असार १२, २०७५ २२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?