कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणगढ–मुग्लिन सडक: भुक्तानीको अड्को

रमेशकुमार पौडेल

चितवन — दैनिक हजारौं गाडी आवतजावत गर्ने नारायणगढ–मुग्लिन सडकमा पहिरो खसे तत्कालै हटाउन सबै एकजुट हुनुको विकल्प छैन । तर राजधानीको ‘लाइफ लाइन’ मानिएको यो सडक पहिरोले लागातार अवरुद्ध हुन थालेको छ ।

नारायणगढ–मुग्लिन सडक: भुक्तानीको अड्को

सडकमा खसेको पहिरो हटाउनुअघि निर्माण व्यवसायीले भुक्तानी तत्काल नदिए काम सुरु नगर्ने अडको थाप्ने गर्छन् ।


यो सडक मंगलबार झन्डै ११ घण्टा अवरुद्ध भयो । मुग्लिन नजिकको टोपेखोला आडैमा रहेको नाम्चीमा बिहान ५ बजे गएको पहिरो सफा गरी गाडी खुल्दा अपराह्नको ४ बजेको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । उनका अनुसार यो यस वर्षकै ठूलो पहिरो थियो ।


पहिरो गएपछि तत्कालै हटाउने काम भने सुरु हुन सकेन । ‘पहिरो जान्छ सफा गर्नुअघि निर्माण व्यवसायीले पुरानो कामको पैसा नदिने हो भने हटाउँदैनौं भन्छन् । आज (मंगलबार) पनि त्यसै गरे । सम्झाइबुझाइ गरेपछि २ घण्टापछि पहिरो हटाउने काम थाले,’ सडक आयोजना प्रमुख रोहितकुमार बिसुरालले भने । यो सडक ३ खण्ड बनाएर फरकफरक निर्माण कम्पनीलाई कामको जिम्मा दिइएको छ । पहिरो गएको क्षेत्र तेस्रो खण्ड अर्थात् सिमलतालदेखि मुग्लिनसम्म पर्छ । सो खण्डमा भारतीय कम्पनी सुप्रिम र नेपाली कम्पनी रौताहाले संयुक्त रूपमा काम गरेका छन् । तीन खण्डमध्ये सबैभन्दा थोरै काम भएको यही तेस्रो खण्डमा हो ।


निर्माण सम्झौतामा उल्लेख भएभन्दा धेरै पहिरो सफा गर्नुपरेका कारण थप भुक्तानी पाउनुपर्ने निर्माण व्यवसायीको माग छ । ‘हामीले भूकम्पका बेलादेखि नै सुक्खा पहिरो हटाउन थालेको हो । यति धेरै पहिरो हटाएका छौं कि सम्झौतामा उल्लेख भएको पहिरोसँग तुलनै हुन सक्दैन । त्यसैले भुक्तानी चाहियो भनेका हौं,’ रौताहाका निर्देशक धर्मराज दाहालले भने ।


पहिरो गएपछि सफा गर्नुअघि भुक्तानीको विषय उठाउने गरेको उनले स्विकारे । ‘भुक्तानीमा उहाँहरू गम्भीर देखिनुभएन । त्यसैले पहिरो हटाउने भए पैसा चाहियो भन्नैपर्ने अवस्था आएको हो,’ उनले भने । गाडीको चाप बढ्दै जाने र कामै रोकेर बस्न मिल्ने अवस्था नरहेका कारण बाध्य भएर पहिरो सफा गर्नुपरेको उनले सुनाए ।


सडक निर्माण गरेबापत १० करोड रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी रहेको दाहालको भनाइ छ । जसमध्ये ३ करोड रुपैयाँ पहिरो हटाएबापत पाउनुपर्ने उनले बताए । ‘उहाँहरूले नै दिनुपर्ने रकम हो भनेर स्वीकार गरे पनि पैसा दिनु हुन्न । हामी मर्कामा परेका छौं,’ उनले भने । तर भुक्तानीको विषय प्रक्रियामै रहेको आयोजनाका अधिकारीहरू बताउँछन् ।


‘सम्झौताभन्दा के–के थप भएको हो, त्यसको भुक्तानी दिने विषयमा प्रक्रिया पूरा गर्नुपर्छ । सिधै पैसा हात–हातमा राख्न त सकिँदैन । कागजपत्र अघि बढेकै छन् । तर उहाँहरू पहिरो गयो भने मौका यही हो भन्दै अड्को थाप्नुहुन्छ,’ आयोजना प्रमुख बिसुरालले भने । सो खण्डमा ९० प्रतिशतभन्दा कम काम भएको छ । सुरुको सम्झौताअनुसार निर्माणको काम अघिल्लो वर्ष नै सकिनु पर्थ्यो । यहाँ विभिन्न कारण देखाउँदै पटक(पटक म्याद थप हुँदै आएको छ ।


पछिल्लोपटक थपेको म्याद पनि १ महिनाअघि सकिएको छ । तर अझै १० प्रतिशतभन्दा बढी काम बाँकी नै छ । यो खण्ड अप्ठ्यारो खण्ड पनि हो । एकातर्फ सीधा त्रिशूली नदी र अर्कोतर्फ पहाड भएका कारण सडक फराकिलो बनाउन ठाउँ–ठाउँमा पहाड काट्दा पहिरोको खतरा बढेको हो ।


प्रकाशित : असार १३, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?