कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारले तुहाइदिए सडक सपना

हरिराम उप्रेती

गोरखा — यही असार मसान्तभित्र बारपाक पुग्ने सडक कालोपत्रे गर्ने सरकारी योजना ठेकेदारले तुहाइदिएका छन् । सम्पन्न गर्नुपर्ने अवधिमा १२ किलोबाट बारपाकसम्मको ४८ मध्ये ९ किमिको मात्र कालोपत्रे सकिएको छ । ११ किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाले सडक कालोपत्रेका लागि ४ प्याकेजमा ठेक्का लगाएको थियो ।

ठेकेदारले तुहाइदिए सडक सपना

पहिलोपटक प्रधानमन्त्री हुँदा भूकम्पको केन्द्रविन्दु बारपाक आएका केपी ओलीले ०७५ असार मसान्तभित्रै बारपाकसम्म पक्की सडक पुग्ने भन्दै मन्तव्य राखेका थिए । तर उक्त खण्डको प्रगति निकै कमजोर देखिएको छ । आयोजनाको फितलो नियमन र ठेकेदारको लापरबाहीले सडक निर्माण समयमै पूरा नभएको हो ।


गत चैत १५ मा काम सम्पन्न गर्ने भन्दै ९ देखि १७ किमि सडक कालोपत्रेको जिम्मा लिएको नागर्जुन त्रिशूली जेभीको ७० प्रतिशत मात्र प्रगति देखाएको छ । २०७१ असार ३१ मा उक्त जेभीले निर्माणको जिम्मा लिएको थियो । ९ करोड ३७ लाखमा कालेपत्रेको जिम्मा लिएको ठेकेदारले काममा ढिलासुस्ती गरेको सडक आयोजनाले जनाएको छ । १७ देखि २२ किमि क्षेत्र निर्माणको जिम्मा लिएको कन्काई जेभीको ६० प्रतिशत प्रगति देखाएको छ । यसको भने सम्झौता अवधि ०७६ असार २६ सम्म छ । १० करोडमा उक्त कन्स्ट्रक्सनले ठेक्का पाएको हो ।


२ वर्षमै काम सक्ने भन्दै २०७२ असार ३१ मा २२ देखि ३० किमि स्तरोन्नतिको जिम्मा लिएको लोहनी एन्ड ब्रदर्शको सम्झौता अवधि सकिन लाग्दा ३५ प्रतिशत प्रगति छ । १० करोड ७० लाखमा कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । काममा ढिलासुस्ती गरेको कन्स्ट्रक्सको म्याद ६ महिना थपिएको थियो । थपिएको म्याद पनि असार मसान्तमा सकिँदै छ । ३० देखि ४६ किमि कालोपत्रेको जिम्मा लिएको रसुवा एलाइट जेभीको सम्झौता अवधि असार मसान्तमा सकिँदै छ ।


३५ करोडमा ठेक्का सम्झौता गरेको उक्त जेभीले हालसम्म ३५ प्रतिशत मात्र प्रगति देखाएको छ । राङरुङदेखि बारपाकसम्मको सडक स्तरोन्नतिको जिम्मा उसले पाएको छ । रसुवा एलाइट जेभीले जिम्मा पाएको खण्ड २ वर्षभित्र निर्माण सम्पन्न गर्न कठिनै रहेको ११ किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाका प्रमुख अमृतमणि रिमाल बताउँछन् । ‘त्यो खण्डमा काम गर्न गाह्रै छ, भूकम्पले उप्काएको ढुंगा खसिरहन्छ, २ वर्षभित्रै निर्माण सम्पन्न गरभन्दा अलि बढी महत्त्वकांक्षी भयो,’ उनले भने ।


अन्य खण्डका ठेकेदारहरूले भने निर्माण सामग्री र कामदार अभाव देखाउने गरेको आयोजनाको भनाइ छ । ‘काम नगरे कालोसुचिमा राख्छौँ भन्दै केहि दिन अघि पत्राचार गर्‍यौँ, अहिले कामको गति राम्रो छ,’ रिमालले भने, ‘अब १ वर्षभित्रमा काम सक्छौं ।’ सडकको ९ किमि क्षेत्रमा भने २ वर्षअघि नै कालोपत्रे भइसकेको छ ।


भूकम्पको केन्द्रविन्दु बारपाक पुग्ने राष्ट्रिय महत्त्व बोकेको खण्डमा जाइकाले ४ पक्की पुल निर्माण गरिसकेको छ । भूकम्प पुननिर्माण पुनस्थापना कार्यक्रमअन्तर्गत जापानको सहयोगमा निर्माण भएको पुल भने सम्झौता अवधि सकिन १/२ महिनाअघि नै बनेका हुन । झयाल्ला, खहरे, घट्टे र राङरुङमा पक्की पुल बनेर आयोजनालाई हस्तान्तरणसमेत भइसकेको छ । सडक कालोपत्रेका लागी मात्र हाल ६५ करोडबरावरको ठेक्का लगाइएको छ ।


बर्खा लागेसँगै सडकमा निकै सकसका साथ यात्रा गर्न स्थानीय बाध्य छन् । साविकका २ दर्जन वढी गाउँका स्थानीय सडक भएर आउजाउ गर्ने गर्छन् । बर्खा लागेसँगै सवारी अवागमन प्रभावित हुन सक्ने भन्दै स्थानीय चिन्तित छन् । ‘असारसम्म कालोपत्रे हुन्छ भन्ने सुनेका थियौं,’ बारपाककी आशा घलेले भनिन्, ‘तर वर्षौंको समस्या यस वर्ष पनि नहट्ने भयो ।’ दैनिक उपभोग्य सामग्री तथा भूकम्पले भत्काएको घर निर्माण सामग्री ओसारपसारमा बर्खा लागेसँगै समस्या थपिएको स्थानीयको गुनासो छ ।


प्रकाशित : असार १३, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?