नारायणगढ-मुग्लिन सडकमा आज पनि पहिरो, बाटो अवरुद्ध

रमेशकुमार पौडेल

चितवन — मंगलबार झरेको पहिरोका कारण ११ घण्टासम्म अवरुद्ध नारायणगढ मुग्लिन सडकमा आज पनि पहिरो गएर गाडी बन्द भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार आज बिहान साढे ६ बजे चार किलोमा ठुलो पहिरो गएको हो । 

नारायणगढ मुग्लिन सडकको चार किलोमा गएको पहिरो । तस्बिर सौजन्य : नारायणगढ–मुग्लिन सडक आयोजना । 

पहिरो हटाउन कम्तिमा १० बजेसम्म समय लाग्ने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ।
ट्रफिक प्रहरीले वैकल्पिक मार्ग अपनाउन यात्रुहरुलाई अपिल गरेको छ। हिजो मुग्लिनबाट नजिकै रहेको टोपे खोला आडको नाम्चीमा बिहान पाँच बजे गएको पहिरो अपरान्ह चार बजे मात्रै सफा भएर गाडी खुलेका थिए। पहिरो सफा गरेर बाटो खुले पनि सडकमा जथाभावी साइड लागेर गाडी रोकेका कारण सहज ढंगले गाडी चल्न सकेका थिएनन्।

ट्राफिक प्रहरी निरीक्षक गौतमका अनुसार सडक अवरुद्ध भएपछि बाटोमा रोकिएका गाडीहरुले चार बजे बाटो खुले पनि राति अढाई बजेसम्म नारायणगढ मुग्लिन छिचोल्न सकेका थिएनन्। गाडी पुरै पार नहुँदै राति फेरि कालिखोलामा पहिरो गएको थियो। त्यसपछि चार किलो ठुलो पहिरो गएको हो।

पहिरोका कारण सोमबारदेखि नै नारायणगढ मुग्लिन सडकमा सहज रुपमा गाडी चल्न सकेका छैनन्। राजधानी काठमाडौंको लाइफ लाइन मानिने यो सडकमा दैनिक हज्जारौं गाडी ओहर दोहर गर्दछन्।



प्रकाशित : असार १३, २०७५ ०७:३८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

शान्ति सेनामा महिला बढ्ने विश्वास

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रसंघीय पिस किपिङ विभागका उपमहासचिव जिन पेइरी लाक्रोइसले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली महिला सैनिकको संख्या बढ्ने विश्वास व्यक्त गरेका छन् । तीनदिने भ्रमणक्रममा मंगलबार काठमाडौं आएलगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँगको भेटमा उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

फाइल तस्बिर ।

नेपालबाट शान्ति सेनामा महिला सहभागिता बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘आगामी दिन यो संख्या थप बढ्ने अपेक्षा राष्ट्रसंघको छ ।’

क्षत्री र लाक्रोइसबीच राष्ट्रसंघको अनुरोधमा सेनाले विश्व शान्तिका लागि पुर्‍याउँदै आएको बहुआयामिक योगदान, आगामी दिनमा गरिने सहयोग एवं सहकार्यका क्षेत्रलाई विस्तार गर्ने सम्बन्धमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । लाक्रोइसको साथमा राष्ट्रसंघ मुख्यालयस्थित शान्ति सेना विभागका सैनिक सल्लाहकार कार्लोस हुम्बर्टो लोइटे, प्रहरी सल्लाहकर लुइस क्यारिल्हो र राजनीतिक मामिला हेर्ने एलिस के. लमनको समेत उपस्थिति थियो ।


राष्ट्रसंघीय राजनीतिक विभागको नेपाल कार्यालय बन्द गराउने निर्णय भएको सातापछि मुख्यालयबाट शान्ति मिसन हेर्ने उपमहासचिव राजनीतिक मामिला हेर्ने अधिकारीसहित काठमाडौं आएका हुन् । विश्व शान्ति स्थापनार्थ नेपाली सेनाको भूमिकालाई महत्त्व दिएर उनले नेपाल भ्रमण गरेको भनिए पनि कार्यालय बन्द भएपछिको राष्ट्रसंघको राजनीतिक मामिलासमेत यसमा जोडिएको एक अधिकारीले बताए ।


प्रधानसेनापति क्षत्रीले शान्ति सेनामा नेपाली अधिकृतस्तरको सहभागिता वृद्धि गर्न आग्रह गरेको जानकारी सैनिक अधिकारीहरूले दिएका छन् । नेपाल विश्व शान्तिमा खटिने छैटौं ठूलो फोर्स हो । तर, उच्च पदमा आधा दर्जन नेपाली पनि अहिलेसम्म पुगेका छैनन् । लाक्रोइस दक्षिण एसियाका चार मुलुक नेपाल, भारत, पाकिस्तान र बंगलादेश भ्रमण सूचीअन्तर्गत नेपाल आएका हुन् ।


उनले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहारीका प्रमुख तथा उच्च अधिकारीसँग छलफल गर्ने पाँचखालस्थित तालिम केन्द्रको अवलोकन गर्ने, राजनीतिक दलका नेता भेट्नेलगायत कार्यक्रम छ । उनी राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्री लगायतसँग पनि शिष्टाचार भेट गरेर बिहीबार फर्कनेछन् ।

प्रकाशित : असार १३, २०७५ ०७:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT