कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलाले बगाएपछि कोदारी राजमार्ग अवरुद्ध

अनिश तिवारी

सिन्धुपाल्चोक — कोदारी राजमार्गको बाह्रबिसे तातोपानी सडकखण्डको लार्चास्थित माथिबाट आइरहेको भैरवकुण्ड खोलाले सडक बगाउँदा यस क्षेत्रका सवारी साधन ठप्प भएका छन् । 

खोलाले बगाएपछि कोदारी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण गए राति आएको बाढीले बेलिब्रीजछेउको क्षेत्रको सडकलाई बगाएपछि पैदल हिँड्न समेत मुस्किल भएको हो । बर्खालगत्तै दैनिक भइरहेको वर्षाले राजमार्गको विभिन्न स्थानहरु सिरिसे, डाक्लाङ, झिर्पु लगायतका दर्जनौंस्थानमा पहिरो जान थालेको छ । नयाँ पुल, मंगलबारेमा पहिरो झर्न थालेको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ ।

बाह्रबिसे तातोपानी सडकखण्ड २६ किलोमिटर दैनिक भास्सिन थालेपछि सुख्खा बन्दरगाह निर्माण गरिरहेका कम्पनी र आयोजनाको एक्जाभेटर तयारी अवस्थामा राख्न थालिएको छ । खोलाले सडक भत्काएलगत्तै बन्दरगाह निर्माणकर्ता कम्पनीले एक्जाभेटर लगाएर खोल्ने प्रयासमा लागेको भैरवकुण्ड आयोजनाका पुष्पराज डांगीले बताए । ‘आहिले भर्खरै सडक खोल्ने काम भइरहेको छ, पुरा सडक क्षतीग्रस्त बनाएकाले धेरै समय लाग्न सक्छ,’ उनले भने ।

दिनहँु पहिरोको साथै सडक खसेकोले बेलैमा मर्मत नहुँदा यात्रु तथा बिरामी बाटैमा अलपत्र पर्ने गरेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्री बताउँछन् । प्रनि क्षेत्रीकाअनुसार बाह्रबिसे तातोपानी सडकखण्डमा दैनिक जस्तो पहिरो झर्न थालेको छ ।


पहिरोले ठाउँ–ठाउँमा जोखिम बढाएपछि सुरक्षाको लागि सशस्त्र र प्रहरी खटीरहेका छन् । महिनौं भइसक्दा पनि बारम्बार पहिरोले बन्द भइरहेको राजमार्ग मर्मत नगरिँदा सडकको अवस्था झनै बिग्रदो छ ।


‘सधैं बर्खामा यही समस्या भोग्नुपरेको छ, कहिले आउला ढुक्कसँग हिँड्ने दिन,’ आवश्यक कामको लागि हिँडेका भोटेकोसी गाउँपालिका तातोपानीकी पेमाडोल्मा शेर्पाले भनिन् । पहिरोको जोखिम भएपछि सवारी साधन आउन नमान्ने उनको भनाइ छ । उनीमात्र होइन्, सडक अवरुद्ध भएपछि दर्जनौं बिरामी र पर्यटक समेत अलपत्र परेका छन् ।


प्रकाशित : असार १४, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?