कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमयू उपकुलपतिको गाडी तोडफोड, ६ विद्यार्थी पक्राउ

विश्वविद्यालय वार्ताका लागि तयार

सुर्खेत — विद्यार्थीहरूले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको गाडी तोडफोड गरेका छन् । विभिन्न मागसहित आन्दोलनरत इन्जिनियरिङ संकायका विद्यार्थीले शुक्रबार एमयू केन्द्रीय परिसरमा पार्किङमा राखिएको गाडी तोडफोड गरेका हुन् ।

एमयू उपकुलपतिको गाडी तोडफोड, ६ विद्यार्थी पक्राउ

१२ दिनदेखि आन्दोलनरत विद्यार्थीले केन्द्रीय कार्यालयमा लगाएको ताला विश्वविद्यालय प्रशासनले तोडेको थियो । विश्वविद्यालय पदाधिकारी र आन्दोलनरत विद्यार्थीबीच वार्ताको टुंगो नलाग्दा विद्यार्थी तोडफोडमा उत्रेको बताइएको छ । विश्वविद्यालय प्रशासन आफ्ना मागप्रति जवाफदेही नभएको भन्दै विद्यार्थीले एमयूको विस्तारित कार्यालयमा समेत ढुंगामुढा गरे ।


गाडी तोडफोड र कार्यालयमा ढुंगामुढा गर्ने ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमयूको केन्द्रीय क्याम्पस परिसरमा रिले अनशन सुरु गरेका विद्यार्थीहरूको आन्दोलनले उग्र रूप लिएपछि विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस क्रममा निकुञ्ज पाण्डे, न्युटन वली, रामचन्द्र भण्डारी, केशव खडका, निर्मल बीसी र रामकुमार शाह पक्राउ परेका छन् ।


विद्यार्थीहरूले हाइड्रो इन्जिनियरिङको पूर्ण पाठ्यक्रम उपलब्ध गराइनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षा पूर्ण रूपमा सञ्चालन गरिनुपर्ने र १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनुपर्नेलगायत माग राखेका छन् । त्यस्तै, लाइब्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै इन्जिनियरिङ संकायको छुट्टै लाइब्रेरीको व्यवस्था गराइनुपर्ने, सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गरिनुपर्ने माग छन् ।


यता, विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले वार्ताका लागि आफूहरू तयार रहेको बताए । उनले वार्ताको समय निर्धारण हुनुअगाडि नै विद्यार्थी आक्रोशित भएर ढुंगामुढा र तोडफोड गरेको बताए ।

प्रकाशित : असार १५, २०७५ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?