२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

किन रोक्यो परराष्ट्रले प्रहरीको सूचना ?

जनकराज सापकोटा

काठमाडौँ — द्वन्द्वकालमा कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त रुद्र आचार्यलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले चालेको कदमलाई परराष्ट्र मन्त्रालयले अडाएको तथ्य खुलेको छ । अभियुक्त आचार्य बेलायतमा रहेको भन्दै उनलाई पक्रन प्रहरी प्रधान कार्यालयले २०१४ जुनमा रेडकर्नर नोटिस जारी गरिसकेको थियो ।

किन रोक्यो परराष्ट्रले प्रहरीको सूचना ?

त्यसलगत्तै बेलायती प्रहरीले विस्तृत जानकारी मागेपछि प्रहरी प्रधान कार्यालयले उनको विवरण गृह मन्त्रालय हुँदै परराष्ट्रमा पठाएको थियो । तर परराष्ट्रले उक्त महत्त्वपूर्ण सूचना बेलायत नपठाई लुकाएर राखेको छ ।


२०६१ जेठ २४ मा गते तत्कालीन माओवादी कार्यकर्ताले कृष्णप्रसादको हत्या गरेका थिए । कृष्णको हत्यामा संलग्न अभियुक्तमध्येका एक रुद्र आचार्यलाई अदालतले फरार अभियुक्तको सूचीमा राखेको छ । हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै ३१ दिनयता कृष्णप्रसादकी आमा गंगामाया वीर अस्पतालमा आमरण अनशनरत छिन् । गंगामायाको स्वास्थ्य गम्भीर बन्दै जाँदा उनको माग पूरा गर्न सरकारले गरेको पहलबारे बुझने क्रममा प्रहरी प्रधान कार्यालयले पठाएको पत्र परराष्ट्रले अगाडि नबढाएको तथ्य खुलेको हो ।


गृह स्रोतका अनुसार तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पालामा पठाएको पत्र दुई वर्षभन्दा लामो समय बितिसक्दा पनि परराष्ट्र मन्त्रालयले रोकिराखेको छ । आचार्यको जानकारी समेटिएको पत्र बेलायत नपुगेको थाहा पाएपछि प्रहरी प्रधान कार्यालयले जेठ ३१ गते दोस्रो पत्र काटदै पुरानो पत्रबारे चासो राखेको छ । गृह स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले काटेको पत्र गृह हुँदै परराष्ट्र मन्त्रालयमा पुगिसकेको छ ।


त्यसो त २०७२ जेठ ३१ मा गंगामायाले प्रहरी प्रधान कार्यालयमा सूचनाको हकअन्तर्गत निवेदन दर्ता गराएकी थिइन् । उनले बेलायतमा रहेका आचार्यलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएपछि के कस्तो प्रगति भएको छ भन्दै पत्राचार गरेकी थिइन् । गंगामायाले उक्त पत्रमा आचार्यलाई पक्राउ गर्न नसक्नुको कारण र बेलायतबाट सुपुर्दगी गर्न नसकिनुको कारण माग गरेकी थिइन् । उक्त पत्रको जवाफ प्रहरी प्रधान कार्यालयले २०७२ असार १० मा दिएको थियो ।


प्रहरी प्रधान कार्यालयले लेखेको जवाफी पत्रमा गोली प्रहार गरी कृष्णप्रसादको हत्या गरिएको घटनामा आचार्यको संलग्नता रहेको उल्लेख छ । आचार्यलाई पक्राउ गर्न इन्टरपोलमार्फत सुरुमा डिफ्युजन नोटिस जारी गरिएको र वारेन्ट म्याद प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा हुँदै इन्टरपोल महासचिवालय फ्रान्स लियोनमा पठाई रेडकर्नर नोटिस जारी गरिएको उल्लेख छ । उक्त पत्रमा बेलायतको इन्टरपोललाई आचार्य बेलायतको कुन क्षेत्र र स्थानमा बस्छन् भन्ने पस्ता लगाउन अनुरोध गरिएको समेत जनाइएको छ ।


प्रहरीले बेलायतसँग सुपुर्दगी सन्धि नभएकाले अभियुक्तलाई झिकाउन इन्टरपोलसँग समन्वय गरेको थियो । तत्कालीन प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमल सिंह बमको हस्ताक्षर भएको उक्त पत्रमा आचार्यलाई पक्राउ गरी नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको समेत उल्लेख छ । छोराको हत्यामा संलग्नलाई कारबाहीको माग राखी गंगामाया लामो समयदेखि संघर्षरत छिन् । छोराको हत्यारालाई कारबाहीको माग राखेर ३ सय ३४ दिनसम्म अनशन बस्नेक्रममै गंगामायाका श्रीमानको मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिलेसम्म त्रिवि शिक्षण अस्पतालमै राखिएको छ ।

प्रकाशित : असार १६, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?