कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीजी प्रतिवेदन असमझदारी चिर्न : कोसियारी

काठमाडौँ — भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का नेता एवं प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारत पक्षीय संयोजक भगतसिंह कोसियारीले दुई देशबीचको सम्बन्धमा देखापर्ने असमझदारी चिर्ने गरी संयुक्त प्रतिवेदन तयार भएको बताएका छन् ।

ईपीजी प्रतिवेदन असमझदारी चिर्न : कोसियारी

नेपाल र भारतबीच रहेका सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहितका द्विपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीले आफ्नो कार्य सम्पन्न गरेलगत्तै कोसियारीले राजनीतिक नेतृत्वलाई त्यस्तो जानकारी गराएका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य नेताहरूसँग छुट्टाछुट्टै भेटघाट गरेर प्रतिवेदन कार्यान्वयनमा पनि जोड दिए । ‘भारतको चाहना नेपालसँगको मित्रतालाई थप उचाइमा लैजाने हो । नेपाली पक्षको चाहनालाई हामीले स्वीकार गरेका छौं,’ कोसियारीले भेटमा भने । दुवै मुलुकका प्रधानमन्त्रीले उक्त प्रतिवेदन बुझेपछि कूटनीतिक स्तरमा अघि बढाएर नयाँ सहमति गर्न बाटो खुल्नेछ ।

ईपीजीको नवौं बैठक सम्पन्न गर्दै साझा प्रतिवेदन जारी गरिएपछि उनले भेटघाट गरेका थिए । कोसियारीले ओली पहिलोपटक प्रधानमन्त्री हुँदा समूह बनेको बताउँदै भने, ‘उहाँकै कार्यकालमा नै हामीले प्रतिवेदन बुझाउने अवसर पाएका छौं । यो सुखद हो । यो कार्यान्वयन तहमा पुग्ने विश्वास हाम्रो छ ।’ नेपालले उठाएका विषय अधिकांश सम्बोधन भएको उक्त प्रतिवेदनलाई भारतीय सरकारी निकायले कसरी लिन्छ भन्नेमा यसको कार्यान्वयन निर्भर हुने परराष्ट्रका एक अधिकारीले बताए । ईपीजीमा भारत सकारात्मक हुन नसकेको भनिरहेको अवस्थामा भारतीय पक्षले नेपाली पक्षले उठाएका विषयलाई स्वीकार गरेको हो ।

कोसियारीसँगको भेटपछि उपप्रधान तथा रक्षामन्त्री पोखरेलले दुवै देशले प्रतिवेदनलाई इमानदारीसाथ कार्यान्वयन गर्नेतर्फ ध्यान दिने विश्वास व्यक्त गरे ।

१९५० को सकस
नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सम्झौता भएकै भोलिपल्टदेखि विवादमा परे पनि टुंगो लाग्न सकेको थिएन । किन यस्तो सम्झौता भयो भन्नेमा आम चासो पहिलेदेखि नै थियो । भारत स्वतन्त्र भएको तीन वर्षमा नै नेपालले हतारमा गरेको उक्त सम्झौताका कतिपय बुँदा अहिलेको अन्तर्राष्ट्रिय मान्यतामा कामै नलाग्नै भइसकेकाले त्यसलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउने सुझाव समूहको छ ।

दुईपक्षीय सम्झौताभन्दा पनि अन्य बहुपक्षीय सन्धि–सम्झौता तथा राष्ट्रसंघका बडापत्रहरू नै बढी प्रभावित देखिन्छन् । अन्तर्राष्ट्रियस्तरमा एक प्रकारको सम्झौता र दुईपक्षीय रूपमा अर्को सम्झौता हुँदा आफैंमा बाझिएकाले त्यसमा ध्यान दिएर सुझाव दिइएको छ । यस्ता विषय कमजोर राजनीतिक धरातल हुँदा कोट्याउन नहुने सुझाव दिइएको थियो । यतिबेला अन्य अन्तर्राष्ट्रिय कानुन तथा बाध्यकारी नियमहरूले थिचिसकेको अवस्थामा ध्यान दिइएको हो । कूटनीतिक मामिलासम्बन्धी अन्तर्राष्ट्रिय भियना कन्भेन्सनसँग पनि यो सम्झौताका कति बुँदाहरू मेल नखाएकामा सुधार गरिएको भए पनि केही ‘युनिक सम्बन्ध’ का बुँदालाई भने नियमनको पाटोमा राखेर सुझाइएको छ ।

सन्धिका विषयमा बारम्बार कुरा उठे पनि २०५१ सालमा पहिलोपटक प्रधानमन्त्री मनमोहन अधिकारीले औपचारिक रूपमा भारतसमक्ष राखेका थिए । त्यसपछि नेपालले हरेक भ्रमणमा राजनीतिक गाल टार्नका लागि आफ्नो तयारीबिना नै यो विषय उठाउँदै आएको थियो ।

अधिकारीको भ्रमणको चार वर्षपछि लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका कमल थापाले तत्कालीन राजनीतिक दलहरूसँगको समन्वयमा एक औपचारिक प्रस्ताव नै तयार गरेर भारतलाई बुझाएका थिए । तर त्यो प्रस्ताव कुनै उपयोगमा आएन । १९९७ मा परराष्ट्रमन्त्री रहेका थापाले राष्ट्रिय सहमति नै गराएर त्यसको अर्को ड्राफ्ट भारतलाई औपचारिक रूपमा बुझाए । त्यो पनि अघि बढेन । त्यसपछिका मन्त्रीहरूले त्यसलाई ‘नन पेपर’ का रूपमा प्रस्तुत गरेर आफू नै कमजोर हुने काम गरेको थापाले बताउँदै आएका छन् ।

सन् १९५० को सन्धिलाई सचिवस्तरमा नै अघि बढाउने भन्ने समझदारी अहिले मात्र भएको होइन । हरेक पटकको उच्चस्तरीय भ्रमणको संयुक्त वक्तव्यमा यो विषय समावेश गरिन्छ । सन् २०११ मा भने सचिव स्तरबाट मात्र नभएर ‘ट्रयाक टु’ अर्थात् सरकारभन्दा भिन्न तहबाट समेत छलफल गरेर टुंगोमा पुग्ने समझदारी भएको थियो । त्यही अनुरूप काम अघि बढाउन अहिले पनि सहमति भएको हो ।

त्यसमा चार सदस्यीय प्रबुद्ध वर्गका व्यक्तिहरू रहने व्यवस्थाअनुरूप केपी ओली प्रधानमन्त्री र कमल थापा परराष्ट्रमन्त्री रहँदा नै समूह गठन भएको थियो । अन्तर्राष्ट्रिय मामिला बुझेका सांसद, त्यही स्तरका नागरिक समाजका व्यक्ति, अर्थविद् र अन्तर्राष्ट्रिय कानुनको अध्ययन गरेका वरिष्ठ अधिवक्ताको टोली दुवै सरकारले तयार गरेर छलफल भएको थियो । तर यसमा मधेसको प्रतिनिधित्व नभएकामा आलोचना भएको थियो । द्विपक्षीय सम्बन्धमा अन्य सन्धि सम्झौताभन्दा पनि १९५० को सन्धिको गाँठो फुकाउन नै प्रबुद्ध समूहलाई मुख्य सकस थियो । उक्त सन्धिका कतिपय विषय मध्यमार्गी बाटो अवलम्बन गरेर समाधान गर्न खोजिएको छ ।

प्रकाशित : असार १८, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?