कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा प्रशासनमा दुई वर्षदेखि ताला

मनोज बडु

दार्चुला — ब्यास गाउँपालिका–१ छाङरुमा रहेको सीमा प्रशासन कार्यालय दुई वर्षदेखि बन्द छ । एकजना सहयोगीले कार्यालय कुर्दै आए पनि पछिल्ला दुई वर्षयता ती कर्मचारी ब्यास उक्लिएका छैनन् ।

सीमा प्रशासनमा दुई वर्षदेखि ताला

भारत र चीनको सीमा क्षेत्र ब्यासमा ६ महिनाका लागि कार्यालय सञ्चालनमा आउँथ्यो । हिउँदमा सदरमुकाम खलंगा सार्ने चलन थियो । अहिले कार्यालयको ढोकामा ताला झुन्डिएको स्थानीय जितसिंह बोहराले बताए । सरकारले सीमा प्रशासनका लागि शाखा अधिकृतसहित ५ जना कर्मचारीको दरबन्दी तोकेको छ ।

सीमामा दरबन्दी भएका नायब सुब्बा र कार्यालय सहयोगी भने सदरमुकाम खलंगास्थित जिल्ला प्रशासन कार्यालयमा काम गरिरहेका छन् । नायब सुब्बाले नागरिकता फाँटको काम हेरिरहेका छन् । खलंगामा पनि सीमा प्रशासनले ४ कोठे भवन भाडामा लिएको छ । तर, खलंगा र छाङरु दुवै ठाउँमा सीमा प्रशासन कार्यालय सञ्चालनमा नआएको स्थानीयले बताए ।

सीमा कार्यालयबाट गरिँदै आएको अनुमतिपत्रको सिफारिस जिल्ला प्रशासन कार्यालयबाटै भइरहेको नासु सतीश शाहले बताए । सीमा प्रशासनबाटै नागरिकता र छिमेकी मुलुक जाने प्रवेश पास वितरण गर्न २०३४ मा कार्यालय स्थापना गरिएको थियो ।

अहिले त्यसको औचित्य नभएको कर्मचारी बताउँछन् । ‘अधिकृतस्तरको कर्मचारीको व्यवस्था नहुन्जेल ब्यासमा सीमा प्रशासन कार्यालय राख्नुको औचित्य देखिँदैन,’ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भने, ‘बाह्य मुलुकको प्रवेश पास बनाउन पनि अधिकृतस्तरको कर्मचारी आवश्यक पर्छ ।’

उनका अनुसार अहिले सीमा प्रशासनमा नासुस्तरका कर्मचारी मात्र छन् । ‘नासुलाई प्रवेश पास जारी गर्ने अधिकार छैन,’ उनले भने । ब्यासको सीमा प्रशासन कार्यालयले सिफारिस मात्र गर्न मिल्ने उनको भनाइ छ । ‘सिफारिस त कार्यालय सहयोगीले पनि गर्न सक्छ,’ उनले भने ।

विगत दुई वर्षदेखि सीमाका कुनै पनि कर्मचारी छाङरुमा नआएको घरधनी जितसिंह बोहराले बताए । ‘केही वर्षअघिसम्म वैशाखबाट असोजसम्म एकजना कार्यालय सहयोगीले सीमा कार्यालय खोल्थे,’ उनले भने, ‘त्यसयता कार्यालयमा ताला झुन्ड्याइएको छ ।’

पहिले कार्यालयमा नेपाली झन्डा गाडिएको हुन्थ्यो । अहिले झन्डासमेत छैन । सीमा प्रशासन कार्यालयको रेखदेख, समन्वय र परिचालनको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीमा हुने लामो समय सीमा प्रशासनमा काम गरेका पूर्वकर्मचारी फकिरसिंह धामीले बताए । सीमा प्रशासन कार्यालयले मासिक रूपमा प्रजिअलाई सीमाको अवस्थाका बारेमा रिपोर्टिङ गर्ने व्यवस्थासमेत रहेको उनको भनाइ छ ।

देशकै सामरिक महत्त्व र संवेदनशील क्षेत्रको सीमा प्रशासन कार्यालयको यस्तो हविगत देख्दा उनी दु:ख प्रकट गर्छन् । ‘भएका कर्मचारी अन्तै खटाइएका छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कर्मचारी खटाएर नियमित कार्यालय सञ्चालन गरिनुपर्छ ।’ नासु साहले भने आफूहरू सीमा कार्यालय छाङरुमा नजाने तर सुरक्षाकर्मीसँगको समन्वयमा मासिक रिपोर्ट प्रजिअलाई बुझाउँदै आएको बताए । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा रहेको कार्यालय सञ्चालनमा लापरबाही भएको ब्यासका स्थानीय मानसिंह धामीले बताए ।

‘सामरिक महत्त्वका क्षेत्रमा कार्यालय सञ्चालन गरी कर्मचारी खटाउनुपर्ने हो,’ उनले भने, ‘राज्यको ध्यान पुगेको छैन । सीमाक्षेत्रमा राज्यको उपस्थिति हुनु आवश्यक छ ।’ स्थानीयलाई पनि राज्य छ भन्ने अनुभूति गराउन तत्काल कार्यालय सञ्चालन गरिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : असार १८, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?