कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेटले बिच्किए किसान

कैलालीमा साना ठूला गरी ३२ वटा सिंचाइ योजनामा काम भइरहे पनि सरकारले न्यून बजेट छुट्याउँदा समयमै पूरा हुनेमा संशय
मोहन बुढाऐर

धनगढी — दोदोधराका किसान लालबहादुर साउद वर्षाैंदेखि आकासे पानीकै भरमा रोपाइँ गर्न बाध्य छन् । उनको गाउँ नजिक खोला छ, त्यहाँ प्रशस्त पानी छ । आउँदो माघमा सम्पन्न हुने गरी सिंचाइ योजनाको काम भइरहेको सुन्दा उनी निकै खुसी थिए । तर त्यो धेरै दिन टिकेन ।

बजेटले बिच्किए किसान

सरकारले यसपालि पनि योजनामा बजेट हाल्न कन्जुस्याइँ गरेपछि उनी निराश छन् ।

साउदको गाउँ कैलालीको बर्दगोरिया गाउँपालिका–२ दोदोधराको पिरुवा सिंचाइ योजनामा सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि ८ लाख ४८ हजार रुपैयाँ मात्र विनियजन गरेको छ । योजना सम्पन्न गर्न चार करोड बजेट माग गरिए पनि थोरै रकम दिएको हो । सिंचाइ डिभिजन कार्यालय कैलालीका प्रमुख गणेश मरासिनी भन्छन्, ‘निर्माण सम्पन्न हुन लागेको योजना न्यून बजेटकै कारण अलपत्र पर्ने भयो ।’

मरासनीका अनुसार ५० प्रतिशत निर्माण सम्पन्न भइसकेको योजनाको नहरमा आगामी वर्ष पानी सञ्चालन हुने अवस्था थियो । नहरबाट खेत सिञ्चित हुने र कृषि पेसाबाटै धनी बन्ने सपना देखेका ४० वर्षीय साउदजस्तै दोदोधराका एक हजार परिवार अहिले निराश छन् ।

डिभिजन प्रमुख मरासिनी भन्छन्, ‘अब योजना समयमै सम्पन्न हुने/नहुने ठेकेदारको तजबिजमा निर्भर छ ।’ उनले हालसम्म २ करोडजतिको काम भइसकेको योजनाको भुक्तानी ४८ लाख मात्रै भएको जानकारी दिए । यस्तो अवस्थामा ठेकेदार कम्पनीले पाउनुपर्ने रकम नपाउँदा निर्माणकार्य बीचमै अलपत्र छोडिदिने जोखिम बढेको छ ।

पिरुवा सिंचाइ योजना एउटा उदाहरण मात्र हो । २० करोड लागतमा निर्माण हुने भनिएको खुरखुरिया सिंचाइ योजनाको कथा पनि यस्तै छ । आर्थिक वर्ष ०७५/७६ का लागि यो योजनामा पनि करिब साढे ८ लाख मात्र बजेट पारिएको छ । यही हाराहारीमा बजेट विनियोजन हुँदै गए ‘नातिको पाला’ सम्म पनि योजना सम्पन्न हुन हम्मे पर्ने प्राविधिक बताउँछन् । चालु आर्थिक वर्षमा बजेट बढेर आउने अपेक्षा गरेका यहाँका किसान हर्कबहादुर भन्छन्, ‘अब त नातिकै पालामा आएर नहरमा पानी बग्छ कि जस्तो लाग्न थाल्यो ।’ यो आर्थिक वर्षमा भने ७८ लाख ८३ हजार बजेट विनियोजित भएको थियो ।

गौरीगंगा नगरपालिका–४ स्थित खुरखुरिया सिंचाइ योजनाको ‘कमान्ड एरिया’ ६ सय हेक्टर छ । यो पुनर्निर्माण योजना हो । निर्माण सम्पन्न भएको तीन वर्षपछि ०६६ को बाढीले इन्टेक भत्काएपछि नहरमा पानी सञ्चालन हुन सकेको छैन । बाढीले इन्टेक र मूल बाँध भत्काएको दशकपछि पुनर्निर्माणको चरणमा रहेको खुरखुरिया सिंचाइ योजनामा पनि थोरै मात्र बजेट विनियोजन गरिएको छ । अघिल्लो वर्षको तुलनामा चालु आवमा ८ गुणा कम बजेट विनियोजन भएपछि यहाँका किसानको सपना पनि बिलाउँदै गएको छ ।

सिंचाइ डिभिजन कार्यालय कैलालीले यो योजनाको डिजाइन फेरेर पुनर्निर्माणका लागि अनुमानित २० करोड लाग्ने इस्टिमेट गरेको थियो । सिंचाइ डिभिजनका इन्जिनियर यादवप्रसाद मैनालीले सरकारले न्यून बजेट विनियोजन गर्दा क्रमागत योजनाअनुसार काम गर्नुपर्ने बाध्यता आएको बताए । ‘यस्तो अवस्थामा निर्माण सम्पन्न हुनै दशक लाग्ने देखिन्छ,’ उनी भन्छन् ।

प्रकाशित : असार १९, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?