कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानसरोवर गएका ८ तीर्थयात्रीको मृत्यु, ६ सय जना अलपत्र

बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारियो
कलेन्द्र सेजुवाल

सुर्खेत — कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको हो । खराब मौसमका कारण सयौं अलपत्र छन् ।

मानसरोवर गएका ८ तीर्थयात्रीको मृत्यु, ६ सय जना अलपत्र

नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ ।


भारतीय दूतावासको खर्चमा नेपाली सेनाको हेलिकप्टरले दुई फ्लाइट गरी यात्रीलाई नेपालगन्ज झारेको थियो । निजी कम्पनीका हेलिकप्टर र हवाईजहाजले पनि अलपत्र तीर्थयात्रीको उद्धार गरेको सिमकोटमा रहेका सिम्रिक एयरका कर्मचारी कमल गौतमले बताए । उनका अनुसार शनिबारदेखि मौसम खराब भएपछि मानसरोवर जाने र फर्किने यात्रु अलपत्र परेका थिए । लेक लागेर र अन्य कारणले यस वर्ष ८ तीर्थयात्रीको मृत्यु भएको छ ।


हुम्ला जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार भारत, केरलाका ५६ वर्षीय लिमान्दृडाय नारायणनको सिमकोटस्थित होटलमै मृत्यु भएको छ । मानसरोवर दर्शनपछि होटलमा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको डीएसपी रवीन श्रेष्ठले जानकारी दिए । सोही दिन भारत, आन्ध्र प्रदेशकी सल्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यु भएको थियो ।


केरुङ नाका हुँदै कैलाश पुगेकी भारत, महाराष्ट्र निवासी विनिता सञ्जय खेडेकरको आइतबार परिक्रमा गर्ने क्रममा लेक लागेर मृत्यु भएको थियो । अन्य दुईको पनि लेक लागेर मृत्यु भएको ट्राभल व्यवसायीले जनाए । मानसरोवर यात्रा गराउँदै आएको सम्राट ट्राभल्सका सीएन पाण्डेका अनुसार उनको कम्पनीमार्फत मानसरोवर गएका एक जनाको घोडाबाट लडेर मृत्यु भएको छ । उनका अनुसार गत वर्ष २० जनाको मृत्यु भएको थियो ।


कैलाश मानसरोवर जाने तीर्थयात्रीको मृत्यु हुनुको प्रमुख कारण ‘हाई–अल्टिच्युड’ (लेक लाग्नु) हो । भारतको गर्मी हुने ठाउँमा बसेका तीर्थयात्रीलाई एक्कासि निकै उचाइको कैलाशमा जाँदा तापमानसँग समायोजन हुन कठिन हुन्छ । अक्सिजनको मात्रा कम हुँदा कैलाश क्षेत्रमै उनीहरूको मृत्यु हुने गरेको ट्राभल व्यवसायी बताउँछन् ।


तीर्थयात्रीको अन्तिम लक्ष्य मानिएको कैलाश समुद्री सतहदेखि ५ हजार ९ सय ५० मिटर उचाइमा छ । तीर्थयात्री भने साढे ३ हजारदेखि ५ हजार मिटरसम्म मात्र पुग्ने गर्छन् । त्यसमाथि यस वर्ष चीनले डोर्लापासभन्दा अघि बढ्न कडाइ गरेको छ । ५२ किलोमिटर लामो कैलाशको फेरो पूरा गर्न पैदलै तीन दिन लाग्छ । तर, अधिकांश तीर्थयात्री परिक्रमा नगरेरै फर्किन्छन् । ‘कैलाशको यही फेदमा परिक्रमा गर्ने क्रममा तीर्थयात्रीको मृत्यु हुने गरेको छ,’ ट्राभल व्यवसायी पाण्डेले भने, ‘मृत्युको प्रमुख कारण लेक लाग्नु हो ।’


अहिलेसम्म हिल्सा नाका भएर करिब ६ हजार ६ सय तीर्थयात्रीले कैलाश दर्शन गरेका छन् । वैशाख तेस्रो सातादेखि सुरु भएको कैलाश मानसरोवर यात्रा असोज मध्यसम्म चल्ने गर्छ । अझै तीन महिना बाँकी रहेको र चिसो पनि बढ्ने सम्भावना भएकाले तीर्थयात्रीसामु जोखिम यथावतै छ ।

प्रकाशित : असार २०, २०७५ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?