तिब्बत–ओलाङचुङगोला : सडक बन्यो, गाडी छैन

आनन्द गौतम

लेलेप (ताप्लेजुङ) — सडक निर्माण गरिरहँदा टिप्तालाभन्ज्याङ–ओलाङचुङगोला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङलाई लागेको थियो– अब तिब्बत आउजाउ गर्न पैदलयात्रा गर्नुपर्ने छैन । गाउँटोलका बासिन्दालाई पनि उनले खुसीको खबर सुनाए ।


तर ट्रयाक खुलेको वर्ष दिनसम्म पनि यहाँका बासिन्दाले गाडी चढ्न पाएका छैनन् । मोटरबाटोमा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। उनीहरूले तिब्बतका प्रशासन तथा प्रहरी प्रमुख चढेर आएको गाडी भने बारम्बार देख्न पाएका छन्।

ओलाङचुङगोलामा जन्मेर देश/विदेशमा रहेका वालुङहरूले आफ्नै लगानीमा बस्तीदेखि तिब्बत जोड्ने सडकको ट्रयाक खोलेका हुन्। उक्त सडकमा चौंरी, याक हिंडाउन भने सहज भएको स्थानीय बताउँछन्। वालुङ समाजले ३ करोडभन्दा बढी लगानीमा २४ किलोमिटर सडक निर्माण गरेको छ। समुदायबाट रकम जुटाई चिनियाँ ठेकेदार कम्पनीमार्फत बस्तीसम्म सडक पुर्‍याइएको हो।

सदरमुकाम फुङलिङबाट विस्तार भइरहेको सडक नजोडिएको र तिब्बतबाट सवारीसाधन खरिद गर्ने वातावरण नभएकाले स्थानीयले मोटरबाटोमा पैदलयात्रा गर्नुपरेको छ। भन्सार कार्यालय नभएकाले पनि तिब्बतबाट गाडी खरिद गर्न समस्या रहेको स्थानीय बताउँछन्। ट्रयाक खुलेपछि हेलिकप्टरमा सानो गाडी लाने सोच बनाए पनि बिग्रँदा बनाउने ठाउँ नभएकाले लैजान नसकिएको छेतेनको भनाइ छ।

चीन सरकारसँग गाडीका लागि अनुरोध गर्ने या त प्रक्रिया मिलाएर खरिद गर्ने विषयमा पनि छलफल भएको फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङले बताए।

तिब्बतसँग सडक जोड्न सक्रियता देखाएका चीनका लागि पूर्वनेपाली प्रशासक ताम्ला उक्यावसँग पनि छलफल गरिएको तर सबै सम्भावना कम भएको उनको भनाइ छ। छेतेनका अनुसार अब सदरमुकामबाट गइरहेको सडकको प्रतीक्षा गर्नुपर्ने भएको छ। फुङलिङबाट विस्तार भइरहेको सडक फक्तालुङ गाउँपालिका ६ लेलेपको बस्तीसम्म पुगेको छ। सडक विस्तारको जिम्मेवारी लिएको एलाइट ठेकेदार कम्पनीका अनुसार ओलाङचुङगोला जोडिन अब ३० किलोमिटर बाँकी छ। सदरमुकामबाट ४० किमि ट्रयाक खुलिसकेको छ।

निरन्तरको बसाइँसराइ रोक्न र छिमेकी देशसँग सडक सञ्जालले जोडिन ओलाङचुङगोलावासीले सडकमा लगानी गरेका हुन्। सरकारले यो सडक जोड्न बहुवर्षीय ठेक्कामा बजेट छुट्याएको छ। १० मिटर चौडाइको सडक ट्रयाक खोल्न ३९ करोड ७६ लाखमा ठेक्का परेको छ।

प्रकाशित : असार २३, २०७५ १६:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेकपाको नियमावली टुंग्याउन तीन सदस्यीय कार्यदल गठन

रासस

काठमाडौँ — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । 



प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालयको बैठकले पार्टीको स्थायी समिति बैठकले दिएको सुझावको आधारमा परिमार्जनसहित नियमावलीलाई यही २५ गते भित्रमा अन्तिम रुप दिन कार्यदल गठन गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राससलाई जानकारी दिए।

नेकपाका नेता बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहनुभएको कार्यदलले तयार गरेको नियमावलीलाई आगामी मंगलबार बस्ने बैठकमा प्रस्तुत गरिने र बैठकले अनुमोदन गरेपछि प्रकाशनका लागि पठाइने प्रवक्ता श्रेष्ठको भनाइ छ।

'बिहीबार बसेको पार्टीको स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको थियो, अब मंगलबार बस्ने पार्टी सचिवालयको बैठकले वर्तमान समसामयिक राजनीतिक परिस्थितिको बारेमा समेत छलफल गनेछ'–उनले भने।

प्रकाशित : असार २३, २०७५ १५:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT