२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नाबालिका छोरीको विवाह गराउने अभिभावक पक्राउ 

पर्सा — नाबालिक छोरीको बाल विवाह गरी दिन लागेका एक अभिभावक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज–१८ इनर्वा मनियारीका प्रवेशी साह कानु छन् ।

नाबालिका छोरीको विवाह गराउने अभिभावक पक्राउ 

उनले आफ्नी छोरी सन्ध्याको विवाह सोमबार गराउन लागेका थिए । प्रवेशीलाई आइतबार साँझ घरबाटै पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्जका प्रमुख प्रहरी निरीक्षक कुमार मैनालीले बताए ।

पूर्व निर्धारित लगन साइत अनुसार प्रवेशकी ८ कक्षामा पढदै गरेकी १४ वर्षीया छोरी सन्ध्याको विवाह सोमबार पर्सागढी नगरपालिका जिग्ना हरपुरका हरिनारायण साह कानुका छोरा अजयसंग हुन लागेको थियो । अजयको उमेर हाल २१ वर्ष बुझिएपनि यकिन भई नसकेको प्रनि मैनालीले बताए । कानूनत: विवाह गर्ने केटा–केटीको उमेर २० वर्ष पुगेको हुनुपर्नेमा सन्ध्या बालिग नभएकाले उनका बावुलाई पक्राउ गर्नु परेको मैनाली बताए ।


यो बालविवाह बारेको सूचना प्रवेशीको छिमेकीबाटै आएको थियो । ‘बाल विवाह हुदै छ भन्ने सूचना प्रवेशीको छिमेकीहरुबाटै आएपछि उनलाई पक्राउ गर्न प्रहरी टोली आइतबार साँझ खटिएको थियो,’ मैनालीले भने, ‘अब उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाउँछौं, उनी उपर सम्भवत: बाल विवाह उद्योग मुद्दामा कारवाही चल्छ ।’


प्रवेशीले छोरीको उमेर १८ वर्ष रहेको दाबी गरेपनि सन्ध्याको शारीरिक अवस्था हेर्दा उनको उमेर त्यति देखिंदैन । सन्ध्याको विवाहको कथा मटकोर आदि विधिको प्रकृया पनि पुरा भई सकेको थियो ।

पछिल्लो समय तराईका बालविवाह घटदै गएको छ । विशेष गरी जिल्लाको ग्रामिण भेगमा लुकाई छिपाई गरिने बाल विवाहको प्रयासमा स्थानीय बासिन्दाहरुकै सूचनाको आधारमा प्रहरी प्रशासनले रोक लगाउने गरेको छ । बिभिन्न गैरसरकारी संस्था तथा सामाजिक कार्यकर्ताहरुको समेतको लामो प्रयास पछि जिल्लाका अभिभावकहरुमा बाल विवाह गर्न नहुने चेतना खुल्दै गएको र बाल विवाहको घट्दो दर पनि त्यसकै परिणाम रहेको सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् ।

दशक अघिसम्म पनि जिल्लामा बाल र अनमेल विवाह ठूलो समस्याको रुपमा रहेको थियो । विशेष गरी डोम समुदायमा बालविवाह अत्यधिक हुने गरेको थियो । पछिल्लो समय यो समुदायमा बाल विवाह घटदै गएको छ ।


सोमबार वीरगन्ज–१८ मनियारीमा हुन लागेको बालविवाहको निमन्त्रणा कार्ड । तस्विर : शंकर आचार्य/कान्तिपुर ।


प्रकाशित : असार २५, २०७५ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?