कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको अवस्था जटिल

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा १० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार उनीसँग टेलिफोन वार्ता गर्न चाहे पनि खराब स्वास्थ्यका कारण सम्भव भएन ।

डा. केसीको अवस्था जटिल

सोमबार दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालयबाट डा. केसीलाई फोन आएको थियो । तर डा. केसीको स्वास्थ्यमा समस्या आएपछि कुराकानी हुन नसकेको उनका आफन्त किशोर केसीले बताए । ‘डा. केसीसँग प्रधानमन्त्रीले केही कुरा गर्न चाहनुभएको थियो,’ उनले भने, ‘तर उहाँ बोल्न नसक्ने भएपछि मैले फोनबाट कुरा गर्न नसक्ने बताए ।’


डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । केसीको अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा. प्रवीण गिरीले बताए । ‘अहिले पिसाबका लागि शौचालयसम्म जान सक्ने अवस्था छैन,’ उनले भने, ‘अवस्था जटिल भए पनि अत्यावश्यक औषधिसमेत लिन मान्नुभएको छैन ।’ उनलाई अक्सिजन र स्लाइनबाहेक अरू औषधि नदिइएको उनको भनाइ छ ।


डा. केसीलाई मांसपेशी सुन्निने, रिंगटा लाग्ने, छातीको बीच भागमा दुखाइ बढ्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मुटुको चाल तलमाथि हुने, पिसाब नहुनेजस्ता समस्या देखिएको अस्पतालले जनाएको छ ।


जनप्रतिनिधिले भेटे डा. केसीलाई

अनशनरत केसीलाई भेट्न कालीकोटका जनप्रतिनिधिको टोली जुम्ला आइपुगेको छ । कालीकोट तिला गुफा नगरपालिकाका जनप्रतिनिधि आएका हुन् । टोलीले डा. केसीको स्वास्थ्य अवस्था बुझेर उनका मागप्रति ऐक्यबद्धता जनाउँदै अन्तिमसम्म साथ दिने जनाएको छ । शिक्षण अस्पतालको सघन कक्षमा अनशनरत डा. केसीका माग पूरा गर्न पनि जनप्रतिनिधिले सरकारलाई आग्रह गरेका छन् ।


चिकित्सा शिक्षाको आमूल परिवर्तनका लागि डा. केसीले गरेको सत्याग्रहको पक्षमा कालीकोटमा पनि आन्दोलनका कार्यक्रम अघि बढाउने तिलागुफा नगरपालिका–५ का वडाध्यक्ष टीकाराम न्यौपानेले बताए । ‘वर्तमान सरकारले डा. केसीको अनशनको अपमान गर्दै माफियामुखी ऐन ल्याउन लागेको छ,’ उनले भने, ‘डा. केसी सर्वसाधारण नागरिकप्रति उत्तरदायी छन् ।’

प्रकाशित : असार २५, २०७५ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?