कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–चीन दोस्रो परामर्श बैठक: प्रोटोकलमा सहमति जुट्दै

चेतनाथ आचार्य

बेइजिङ — नेपाल–चीन दोस्रो परामर्श बैठक दुई देशबीच व्यापार तथा पारवहन प्रोटोकललाई अन्तिम रूप दिने विषयमा सहमतिनजिक पुगेको छ । मंगलबार र बुधबार बेइजिङमा भएको बैठकमा दुवै पक्षले प्रोटोकललाई अन्तिम रूप दिन थुप्रै सहमति गरेको नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले जानकारी दिए ।

नेपाल–चीन दोस्रो परामर्श बैठक: प्रोटोकलमा सहमति जुट्दै

बैठकमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे तथा चीनका तर्फबाट चिनियाँ यातायात मन्त्रालयका उपमन्त्री लिउ सिआवोमिङले नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्रमन्त्रालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका आठ अधिकारी र बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर लम्सालसहित ९ जना सहभागी थिए ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणकै समयमा व्यापार तथा पारवहन प्रोटोकलमा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो । तर, अन्तिम रुप दिन दुई पक्षीय तयारी नपुगेकाले तत्काल हस्ताक्षर नभए पनि चाँडै टुंग्याउन दुवै राष्ट्रका अधिकारीले सक्रियता देखाएका हुन् । दुई देशबीच तेस्रो परामर्श बैठक छिट्टै काठमाडौंमा बस्ने सहमतिसमेत भएको जानकारी लम्सालले दिए । उनका अनुसार तेस्रो बैठकले प्रोटोकललाई अन्तिम रुप दिने सम्भावना छ ।

‘व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलले अत्यन्त महत्त्वपूर्ण र दूरगामी प्रभाव राख्ने भएकाले यसलाई बहुपक्षको व्यापक छलफलबाट टुंग्याउनुपर्छ,’ लम्सालले भने, ‘तेस्रो परामर्श बैठकले टुंग्याउन पनि सक्छ । आवश्यक ठानिए पुन: अर्को बैठक बस्नुपर्ने हुन सक्छ ।’

प्रोटोकलमा हस्ताक्षरपछि नेपालले भारतको भूमिबिना नै समुद्रसम्म पहुँच पाउनेछ । चीनले प्रयोग गर्न सुविधा दिएका बन्दरगाहबाट नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न पाउने भएकाले आपूर्ति व्यवस्थामा भारतमाथि निर्भर रहनुपर्ने अवस्था अन्त्य हुनेछ । ओली पहिलोपटक प्रधानमन्त्रीका रुपमा चीन जाँदा सन् २०१६ मार्चमा व्यापार तथा पारवहन सम्झौता गर्न प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको थियो ।

यसलाई प्रोटोकलका रुपमा अन्तिम टुंगो लगाउन नेपाल–चीन परामर्श बैठक बसेको हो । बैठकमा भाग लिनुअघि गत सोमबार नेपाली प्रतिनिधिमण्डलले बेइजिङ नजिकैको थिआनचिन बन्दरगाह अवलोकन भ्रमण पनि गरेको थियो । दुई देशबीच व्यापार तथा पारवहन सन्धिपछि चीनले नेपाललाई उपयोग गर्न दिने विभिन्न बन्दरगाहमध्ये थिआनचिन पनि एउटा हो । यो बन्दरगाहबाट स्थलमार्ग भएर नेपाल पुग्न क्वाङचौ बन्दरगाहकै जतिको दूरी पर्छ भने साङहाईबाट केही नजिक पर्छ ।

प्रकाशित : असार २८, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?