गैंडा उपहारले चीनसँगको सम्बन्ध थप प्रगाढः प्रधानमन्त्री

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताएका छन् ।

नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा उहाँले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा व्यक्त गरेका हुन् ।

Yamaha

प्रधानमन्त्री ओलीले केही समयअघिको आफ्नो चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट भएको स्मरण गर्दै भ्रमणका बेला भएको पारवहन र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम दु्रतगतिमा अघि बढेको जानकारी गराए ।

भृकुटी र अरनिकोबाट शुरु भएको नेपाल–चीनबीचको सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । चीनलाई हस्तान्तरण गरेका गैंडालाई चीन सरकारले उचित वातावरणमा हुर्किने व्यवस्था मिलाउने अपेक्षा गर्दै उनले मुलुकको भौगोलिक र जैविक विविधतामार्फत विभिन्न देशसँग नेपालको सम्बन्ध प्रगाढ बनेको बताए ।

नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७३ असार २६ गतेको बैठकबाट चीन सरकारलाई दुई जोडी गैंडा दिने निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जबाट एक जोडी गैंडा ल्याई हस्तान्तरण गरिएको हो । अर्को जोडी गैंडा आगामी साउनभित्र हस्तान्तरण गरिसक्ने बताइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले साइटिस निर्यात प्रमाणपत्र र प्रजाति उत्पत्ति प्रमाणपत्रसहित एक जोडी गैंडा नेपालका लागि चिनियाँ राजदूत यु होङ मार्फत चीन सरकारलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गैंडा हस्तान्तरण कार्य बहुआयामिक महत्वको भएको बताउँदै यसले आगामी दिनमा नेपालको पहिचानको चर्चा विश्वमा अझ बढ्ने धारणा व्यक्त गरे ।

हस्तान्तरण गरिएका एक जोडी गैंडामध्ये भालेको नाम ‘भद्र’ र पोथीको नाम ‘रुपसी’ राखिएको छ भने दुवैको उमेर एकदेखि दुई वर्षको छ । भाले गैंडाको तौल अनुमानित ९०० केजी छ भने पोथी गैंडाको तौल एक हजार २०० केजी रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

दुवै गैंडालाई आजै साँझ चीनबाट आउने कार्गो विमानमा राखेर लैजाने र गैंडालाई चीनको गोन्जाउ प्रान्तको चेमोलोङ सफारी पार्कमा प्राकृतिक वातावरणमा राखिने यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।

कार्यक्रममा चिनियाँ राजदूत यु होङले गैंडा उपहार चीन सरकारका लागि विशेष उपहार भएको बताउँदै उक्त गैंडा उचित वातावरणमा आफ्नै घर ठानेर हुर्किने विश्वास व्यक्त गरे ।

चीन र नेपालबीचको भेटघाट र आदानप्रदानले सम्बन्धमा थप प्रगाढ र विस्तार हुँदै गएको बताए ।

वन्यजन्तु संरक्षण एवं प्रवर्द्धनका लागि नेपाल सरकारद्वारा हालसम्म मित्रराष्ट्र भारत, संयुक्त राष्ट्र अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रियालगायत मुलुकलाई २६ वटा गैंडा उपहारस्परुप प्रदान गरिसकिएको छ ।

प्रकाशित : असार २८, २०७५ १४:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

इंग्ल्याण्ड र क्रोएसियाबीचको सेमिफाइनल खेल : नविनको विश्लेषण [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वकप फुटबलअन्तर्गत बुधबार भएको इंगलेण्ड र क्रोएसियबीचको सेमिफाइनल खेल कस्तो रहयो ? त्रिभुवन आर्मी क्लबका फुटबल प्रशिक्षक नवीन न्यौपानेको विश्लेषण:

विश्वकप फुटबलअन्तर्गत बुधबार भएको इंगलेण्ड र क्रोएसियबीचको सेमिफाइनल खेल कस्तो रहयो? त्रिभुवन आर्मी क्लबका फुटबल प्रशिक्षक नवीन न्यौपानेको विश्लेषण:

प्रकाशित : असार २८, २०७५ १४:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT