कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

'आइतबारदेखि आकस्मिकबाहेकका सेवामा सरिक हुँदैनौं'

अतुल मिश्र

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरु आइतबारदेखि आकस्मिकबाहेकका सेवामा सामेल नहुने भएका छन् । शुक्रबार माइतीघर मण्डलामा अस्पतालको सांकेतिक बहिरंग विभाग (ओपीडी) सञ्चालन गरेका रेजिडेन्ट चिकित्सकहरुले आइतबारदेखि आकस्मिकबाहेकका सेवामा सरिक नहुने जनाएका हुन् ।

'आइतबारदेखि आकस्मिकबाहेकका सेवामा सरिक हुँदैनौं'

‘हामी आइतबारदेखि आकस्मिकबाहेकका सेवामा सरिक हुँदैनौं’, नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसन, त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा. सुमित पाण्डेले कान्तिपुरसँग भने– ‘आज (शुक्रबार) सबै काम गर्‍यौं, भोलि शनिबार नै भयो, आइतबारदेखि आकस्मिकबाहेकका सेवा छोडेर डा. गोविन्द केसीको आन्दोलनको समर्थनमा लाग्ने छौं ।’


रेजिडेन्ट चिकित्सकहरुको अनुसार शनिबारसमेत माइतीघर मण्डलाको निशेधित क्षेत्रमा सांकेतिक बहिरंग विभाग सञ्चालन गरेर स्वास्थ्य सेवा दिइने छ । ‘यसलाई डाक्टरहरुसमेत आफ्नो कार्य क्षेत्रबाट बाहिर निस्के भन्ने चुनौतीपूर्ण अर्थमा सरकारले हेर्नु पर्छ’, डा. पाण्डेले भने । शिक्षण अस्पतालमा करिब तीन सय रेजिडेन्ट चिकित्सकहरु छन् ।


चिकित्सक संघको दबाब भेला


नेपाल चिकित्सक संघले डा.गोविन्द केसीको आमरण अनशनको १४ औं दिनसम्म समेत सरकारले जीवन रक्षाका लागि कुनै ठोस कदम अगाडि नबढाएको भन्दै शनिबार दबाब सिर्जना गर्न भेला आयोजना गरेको छ । संघका अनुसार शनिबार बिहान माइतीघर मण्डलामा बृहत् भेला गरेर सरकारलाई डा. केसीको जीवन रक्षाका निम्ती दबाब दिइने छ ।


यसैबीच चिकित्सक संघका पुर्वअध्यक्ष डा.केदारनरसिंह केसीले विवादास्पद प्रतिस्थापन विधेयकलाई संसद्‍बाट तुरुन्त फिर्ता लिएर वार्ताको वातावरण तयार गर्न सरकारसँग अपिल गरेका छन् ।

प्रकाशित : असार २९, २०७५ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?