कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी राजमार्गमा दिनहुँ व्यवसायीको आन्दोलन

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्गमा सवारी चलाउन पाउनुपर्ने माग राख्दै यातायात व्यवसायीले दिनहुँजसो आन्दोलन गरिरहेका छन् । ३२ सिटका साना बस र १३ टनसम्म भारवहन क्षमताका मालवाहक साधन चल्न पाउनु पर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

बीपी राजमार्गमा दिनहुँ व्यवसायीको आन्दोलन

सिन्धुलीमाढी–खुर्कोट खण्डमा यातायातका साधन चल्न पाउनुपर्ने माग राख्दै उनीहरुले रित्ता सवारी साधन शनिबार कमलामाई नगरपालिका–४ को बीपी राजमार्ग हिरापानी खण्डमा एकतर्फी तेर्साएर विरोध जनाएका छन् ।

गत जेठ २१ गते सर्वोच्चका न्यायाधीश सपनामल्ल प्रधानको एकल इजलाशले १० टन भारवहन क्षतमताको मालबाहक सवारी र १८ सिटसम्मको साना यात्रुवाहक साधनमात्र चल्न पाउने गरि अन्तरिम आदेश जारी भएपछि आन्दोलनकारीका सवारी साधन रोकिएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ३२ सिट क्षमताका बस र १६ टन क्षमताका मालवाहक साधन चल्न दिने निर्णय गरेपछि अधिवक्ता कैलाशराज दाहालले राजमार्गको भविष्य खतरामा पर्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । लामोसमयसम्म निकास नआएपछि बाध्य भएर शान्तिपूर्ण आन्दोलनमा होमिनु परेको बीपी राजमार्ग यातायात सेवा समितिका कान्छामान वलले जनाए ।

‘यसअघि संचालनमा आएका ३२ सिटे बस र १३ टनसम्मका मालवाहक साधन चल्न दिए, हामी व्यवसायीलाई हुन्छ, सम्मानित सर्वोच्चको अन्तरिम आदेशले हामी मर्कामा पर्‍यौं,’ व्यवसायी वलले भने, ‘राजमार्गका चारखण्ड मध्ये तीन खण्डमा सबै सवारी साधन सञ्चालन हुने सिन्धुलीमाढी–खुर्कोट खण्डमा नहुने यो कस्तो नियम हो ।’

‘सर्वोच्च अदालतमा पेशी सरेको सर्‍यै गर्दा एकातिर हामी व्यवसायी मारमा पर्‍यौं, अर्कोतिर सामान ढुवानीमा समस्या आयो,’ ट्रक व्यवसायी संघका तारा दाहालले सुनाए ।

सर्वोच्चको आदेश बमोजिम मापदण्ड विपरितका सवारी साधन संचालनमा रोक लगाएको प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए । कानूनको पालना गर्दा बिभिन्न लाल्छना समेत खेप्नु परेको उनले बताए ।

प्रकाशित : असार ३०, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?