कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाह्र क्विन्टल शंखेकीरा संकलन

रासस

सल्यान — सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ ।  जिल्लाको शारदा नगरपालिका–६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो ।

बाह्र क्विन्टल शंखेकीरा संकलन

जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली आदिमा क्षति पुर्‍याउन थालेपछि स्थानीय सरकारको पहलमा बरलाको करीब २० देखि २५ हेक्टरमा रहेको शंखेकीरा नियन्त्रण गर्न सुरु गरिएको हो ।


एक किलो शंखे कीरा संकलन गरेबापत ५० रुपैयाँ दिएर कीरा संकलन गरिएको हो । शारदा नगरपालिकाको आर्थिक सहयोगमा संकलन गरिएको कीरामा आयोडिन नून छर्केर राखिएको छ ।


आयोडिन नूनले नै उक्त कीरा मर्ने भएकाले यस्तो गरिएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अम्मरराज घिमिरेले बताए ।

ठूलो आकारको शंखेकीरा नेपालमा पहिले नभएको तर पछिल्लो समय विभिन्न खानेपानीका योजनाअनुसार ठूला पाइपहरु विदेशबाट भित्र्याउँदा पाइपभित्र कीरा पसेर आएको हुन सक्ने घिमिरेले बताए । यो कीराले भोलिका दिनमा ठूलो क्षति गर्ने भएकाले यसलाई समयमै नष्ट गर्नुपर्ने उहाँको भनाइ छ । चिसो समयमा शंखेकीरा जमिनमुनि लुक्ने र गर्मी याममा बाहिर निस्कने गर्दछ ।


यो कीराले एक पटकमा एक हजार ६ सय अण्डा पार्ने भएकाले व्यापक फैलने र यसले जुनसुकै अन्नबाली पनि उम्रनेबित्तिकै नष्ट गर्ने घिमिरेको भनाइ छ । यसरी जिल्लाका अन्य गाउँ ठाउँमा शंखेकीरा देखिएमा तत्काल सामूहिक रूपमा नष्ट गर्न पनि उनले अन्य किसानलाई आग्रह गरे ।


यो पटक उक्त १२ क्विन्टल कीरा समात्न र नष्ट गर्न लगायतको खर्च करीब ७० हजार रुपैयाँ जति लाग्ने सानपा–६ का वडाध्यक्ष भीकराज बुढाथोकीले बताए । कीरा मार्ने अभियान यो पहिलो चरणको भएकाले फेरि दोस्रो चरणमा पनि अभियान चलाउने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।


संकलन गरेको कीरा सबै मरे पनि एक दुई दिनभित्र खाडल खनेर गाड्ने बुढाथोकीले जानकारी दिए । गत वर्षदेखि देखा परेको यो कीराले यो वर्ष किसानको बालीनालीमा धेरै क्षति पुर्‍याएको उनको भनाइ छ ।


आफूले बारीमा लगाएको करीब ६० हजारबराबरको तरकारी शंखेकीराले नष्ट गरिदिएको स्थानीय किसान भीमबहादुर बुढाथोकीले बताए । 'कीरा मार्न अनेकौँ प्रयास गरियो तर सफल भइएन, यो कीराले कुनै पनि तरकारी बाली काट्न छोडेन । यतिमात्रै संकलन गरेर शंखेकीरा नष्ट हुँदैन यो अभियान चलाएर नष्ट गर्नुपर्छ', बुढाथोकीले भने ।

प्रकाशित : असार ३१, २०७५ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?