कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेलले बोलाए छुट्टै बैठक

काठमाडौँ — आफ्नो समूहलाई बलियो बनाउने कसरतस्वरूप आइतबार देउवाले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक गरे भने पौडेलले सोमबार त्यस्तै प्रकृतिको बैठक बोलाएका छन् ।

पौडेलले बोलाए छुट्टै बैठक

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार आफूपक्षीय केन्द्रीय सदस्यको बैठक गरेलगत्तै संस्थापनइतर पक्षले सोमबार त्यस्तै प्रकृतिको बैठक बोलाएको छ । छलफलका विषय समानजस्तै भए पनि दुवै पक्षको बैठकको अन्तर्य भने आ–आफ्नो समूहलाई गोलबद्ध बनाइराख्ने रणनीतिबाट लक्षित देखिएको छ ।


बूढानीलकण्ठस्थित आफ्नै निवासमा आयोजित बैठकमा देउवाले आफ्नो ‘पोजिसन’ बुझ्नका लागि सुझाव लिएको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । ‘पछिल्लोपटक भ्रातृ तथा शुभेच्छुक संस्थामा पकड गुम्दै गएपछि देउवा आफ्नो पक्षलाई गोलबद्ध बनाउन क्रियाशील भएका हुन्,’ ती केन्द्रीय सदस्यले भने, ‘आफ्नो पक्षलाई बलियो बनाइराख्ने र १४ औं महाधिवेशनमा पुन: सभापति उम्मेदवार बन्ने उनको तयारी देखिन्छ ।’


त्यस्तै तयारीमा संस्थापनइतर पक्षका नेताहरू देखिन्छन् । यद्यपि यो समूहमा भावी नेतृत्वको विषयमा एकमत छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलका अतिरिक्त नेतृत्वको आकांक्षा राख्नेहरू झन्डै आधा दर्जन छन् । यो पक्षका नेता अर्जुननरसिंह केसीले नेतृत्वको विषय आवश्यकता र परिस्थितिले त्यतिबेलै टुंगो लाग्ने बताए ।


आइतबारको बैठकमा पार्टीभित्र आफ्नो वर्चस्व कसरी कायम राख्ने भन्नेमा सभापति देउवा केन्द्रित देखिन्थे भने सोमबार हुने संस्थापनइतर पक्षको भेलामा पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेता देउवालाई कसरी कमजोर बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने देखिन्छ । पौडेल पक्षले विधान समिति गठन र प्रादेशिक समिति अधिवेशनबाट निर्वाचित हुनुपर्ने विषयलाई छलफलको मुख्य एजेन्डा बनाउने भएको छ । तर, सभापति देउवा त्यसलाई मान्न तयार छैनन । उनले संस्थापनइतर पक्षलाई ३ र संस्थापन पक्षलाई ४ संयोजक दिने गरी तदर्थ समितिको प्रस्ताव गरेका छन् । ‘प्रदेश समितिको अधिवेशन गर्नुपर्ने, म्याद सकिएका भ्रातृ संस्थाको अधिवेशन गर्नुपर्नेलगायत सबै विषयमा प्याकेजमै सहमति हुनुपर्छ भन्ने जोड हाम्रो हो,’ केसीले भने, ‘हामीले भागबन्डा माग गरेका होइनौं । पार्टी सञ्चालनको विधि, प्रक्रिया र सहमतिसाथ अघि बढ्ने पद्धति खोजेका हौं ।’


हालै सम्पन्न शिक्षक संघ, ट्रेड युनियन कांग्रेस, कर्मचारी युनियनमा पकड गुमेपछि देउवाले बाँकी भ्रातृ संस्थाको निर्वाचन गराउन आलटाल गर्दै आएको संस्थापनइतर पक्षका आरोप छ । प्रदेश समितिको अधिवेशन गर्दा पनि वर्चस्व नरहने भय देउवामा देखिन्छ । देउवा पक्षमा रहेका केन्द्रीय सदस्य श्याम घिमिरेले आइतबारको छलफलमा यी विषयले प्रवेश नपाएको बताए । ‘पार्टीभित्र एकता कायम गरेर जानुपर्छ, त्यसका लागि पौडेल पक्षसँग पनि सभापतिले लचक भएरै कुराकानी गर्नुपर्छ भन्नेमा धेरैजसोको सुझाव थियो,’ घिमिरेले भने, ‘कम्युनिस्टहरूसँग प्रतिस्पर्धामा जानका लागि पार्टी एकताको सन्देश पहिला दिनुपर्छ भन्नेमा सबैको जोड रह्यो ।’


धेरैजसोले सभापति देउवालाई नयाँ दृष्टिकोण र कार्यक्रमसाथ अघि बढ्न सुझाएका थिए । ‘अब लडाइँ र झगडा गरेर हुन्न, नयाँ कार्यक्रम र दृष्टिकोण बोकेर जानुपर्छ । त्यसअघि सभापतिले पनि आफ्नो ठाउँमा लचकता देखाएर सबैलाई समेट्ने कोसिस गर्नुपर्छ,’ घिमिरेले थपे, ‘अर्को पक्षले पनि पार्टी बचे नै हामी बच्ने हो भन्ने हिसाबले लचकता देखाउन सक्नुपर्छ ।’ सबैले बोल्ने क्रम नसकिएपछि बैठक सोमबार पनि चल्ने भएको छ ।


प्रकाशित : असार ३१, २०७५ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?