कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूतावास स्थापना दिवसको खर्च असहायलाई

काठमाडौँ — इजरायलले आफ्नो स्थापनाको ७० वर्ष र मसाभ (इजरायली परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग निकाय) को स्थापनाको ६० वर्षको कार्यक्रममा लागि छुट्याएको रकम असहाय बालबालिकाको लागि उपयोग गरेको छ । 

दूतावास स्थापना दिवसको खर्च असहायलाई

रिसेप्सनदेखि विविध कार्यक्रम गर्दै लाखौँ रकम खर्च गर्ने पुरानो प्रचलनलाई रोक्दै दूतावासले सामान्य कार्यक्रम गरेर रकमबाट बालबालिकाहरुका लागि तयार पारिएको ४० वटा इजरायली ‘व्हिलचियर अफ होप’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमार्फत् अपांग बालबालिकालाई बुझाइएको थियो ।

सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएदेखि नै मसाभले नेपाललाई विकास कार्य, विशेषगरी मानवस्रोतको दक्षता विकासमा सघाउँदै आएको छ । अपाङ्ग बालबालिकाहरुको हिंडडुलमा पहुँच र आत्मनिर्भरता वृद्धि गरी जीवनमा सहजता ल्याउने विशेष कार्यमा खर्च गर्ने निर्णय गरेर त्यस्ताको कार्यक्रम गरेको दूतावासले जनाएको छ ।

लायन्स क्लब काठमाडौं क्यापिटल डिस्ट्रिक्ट ३२५–ए २ र करुणा फाउन्डेसन नेपालले यस मानवीय कार्यमा इजरायली राजदूतावाससँग हातेमालो गरेको बताइएको छ । उक्त कार्यको प्रशंसा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले बालबालिकाहरुलाई व्हिलचियरहरुले गर्दा हिडडुल गर्न सहज हुने बताए ।


‘हाम्रो दुई देशबीच सम्बन्ध स्थापना कालदेखि नै नेपालको सामाजिक–आर्थिक विकासमा इजरायल सरकारद्वारा निरन्तर प्राप्त सहायताको प्रशंसा गर्दछु,’ मन्त्री ज्ञवालीले भने, ‘भूकम्पपछि मानवीय सहायताका साथै चिकित्सको ठूलो टोली खटाएर अस्पताल नै स्थापना गरी बिरामीको उपचार गरेकामा इजरायल सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

दुई देशबीच हालै भएको परामर्श संयन्त्रको बैठकबाट आफू सन्तुष्ट रहेको बताउँदै उनले आपसी सहकार्य र सहयोगका क्षेत्र भविष्यमा अझ विस्तार हुने विश्वास व्यक्त गरे ।


इजरायली राजदूत बेन्नी ओमेरले यस्तो मानवीय कार्यमा राजदूतावासले केही सहयोग गर्न सकेकोमा सन्तुष्टि व्यक्त गरे । ‘यस्तो विशेषखालको, हलुका र आरमदायी व्हिलचियरको प्रयोगले यी बालबालिकाहरुमा आफै स्वतन्त्र भएर हिँडडुल गर्न सक्ने क्षमता बढाउने छ,’ उनले भने, ‘भविष्यमा पनि यस्ता मानवीय कार्यहरुमा इजरायली राजदूतावासले सहायोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’


भविष्यमा पनि इजरायली राजदूतावासले असक्त जनता र उनीहरुको जीवनस्तरमा थप सुधार ल्याउने यस्ता सामाजिक कार्यका लागि सहयोग गर्दै जान बताए ।

यसअघि पनि इजरायली दूतावासले राष्ट्रिय दिवस मनाउने रकमबाट यस्तै प्रकारको समाजिक कार्य गरेको थियो ।

प्रकाशित : श्रावण १, २०७५ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?