कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुसन्धानको बजेट आफैं जुटाउन निर्देशन

‘अब आफ्नै बुताले अनुसन्धानमा जुट्ने तरखरमा छौं’

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले आफूअन्तर्गतका चार अनुसन्धान केन्द्रलाई आफैं बजेट जुटाउन निर्देशन दिएको छ । त्रिविमातहत नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) छन् ।

अनुसन्धानको बजेट आफैं जुटाउन निर्देशन

महत्त्वपूर्ण क्षेत्रमा अध्ययन–अनुसन्धान गर्ने कामका निम्ति केन्द्र स्थापना गरिएका हुन् । तर, केही दशकयता राजनीतिक हस्तक्षेप र कार्यकर्तालाई जागिर खुवाउने निकायका रूपमा बदलिएपछि ती अनुसन्धान केन्द्रबाट उद्देश्यअनुसार काम हुन सकेको छैन ।


त्रिविले ती केन्द्रमा खटाइएका शिक्षक र कर्मचारीलाई तलबको बजेट मात्र उपलब्ध गराउँदै आएको छ । ‘यी चारै संस्थामा प्राज्ञिक स्वतन्त्रता छ’, सिनासको ४७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपकुलपति तीर्थराज खनियाँले भने, ‘त्यो सोच्न प्राध्यापकलाई छुट छ । राम्रो प्रस्ताव तयार गरी दाता खोजेर अध्ययन, अनुसन्धानको काम गर्न सक्छन् । अनुसन्धानका निम्ति उपयुक्त प्राध्यापक पाउन सक्नुभएन भने भन्नुहोस् उपलब्ध गराइनेछ ।’


प्राध्यापक डा. प्रेमकुमार खत्रीले कार्यपत्र प्रस्तुत गर्दै दु:खका दिनमा सिनासमा कुनै राजनीतिक हस्तक्षप नरहेको बताए । ‘सिनास त्रिविको एक स्थायी संस्था हो,’ सिनासको पूर्वकार्यकारी निर्देशकसमेत रहेका खत्रीले भने, ‘कुशल नेतृत्व, वर्तमान संघीय संरचनासहितका सम्बन्धित विविध विषयको अनुन्धान कार्ययोजना, चुस्त परियोजना प्रस्ताव, मजबुत आर्थिक व्यवस्थापन, दक्ष प्राध्यापकको टिमवर्क अहिलेको आवश्यकता हो ।’


शिक्षाध्यक्ष सुधा त्रिपाठीले साउने संक्रान्तिका दिन स्थापना गरिएको सिनासले आफ्नो लक्ष्यमा पुग्न जरुरी रहेको बताइन् । ‘अनुसन्धान केन्द्रमा अनुसन्धान गर्न नसक्ने प्राध्यापक भए जानकारी दिनोस्, हामी कक्षा कोठामा पठाउँछौं,’ केन्द्रको लक्ष्य प्राप्तिमा प्राज्ञिक सहयोग पुर्‍याउने भन्दै उनले भनिन्, ‘सबै मिलेर लुतो फालौं । अब लुतो कन्याउनमै समय खर्च नहोस् ।’


सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्कीले भने प्राज्ञिक अनुसन्धानका निम्ति ५ करोड रुपैयाँको अक्षयकोष स्थापना गरिएको बताए । सिनासको प्रमुख उद्देश्य राजनीतिक, सामाजिक, आर्थिक, मानविय र राष्ट्रिय महत्त्वका विविध पक्षको अनुसन्धान गर्ने हो । नेपाल र एसियाका अन्य मुलुकका विविध विषयमा तुलनात्मक अध्ययन गर्नु रहेको छ ।


‘अब आफ्नै बुताले हामी अनुसन्धानमा जुट्ने तरखरमा छौं,’ कार्कीले भने, ‘दस जना प्राध्यापक छौं । प्रत्येकले अनुसन्धान परियोजना पाएका छौं ।’ केन्द्रका अधिकारीले भने त्रिविले तलब मात्र दिएको तर अनुसन्धान गर्न बजेट नभएको गुनासो गर्दै आएका छन् ।


प्रकाशित : श्रावण २, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?