कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध बाटो टर्की

आर्थिक वर्ष २०७४/७५ मा मात्रै १४ जनाले टर्की जाने सपनाका कारण ठगिएको उजुरी गरेका छन् । तीमध्ये दुई जनाले टर्की पुग्ने सपनामा पैसा डुबाएका छन् भने ५ जना भनेजस्तो काम नपाएपछि आफैं पैसा खर्चेर स्वदेश फर्केका छन् ।
जनकराज सापकोटा

काठमाडौँ — ‘माइनस डिग्रीको चिसो । घनघोर जंगलको बाटो । दिनभरि सुत्ने अनि रातभरि बत्ती पनि नबाली अन्दाजका भरमा खोला, खोल्सी हिँडदा कस्तो हुन्छ भन्नुस् ?’ नवलपरासी, कावासोतीका टीकाराम भट्टराईले प्रश्नबाटै कुरा सुरु गरे । गत मंसिरमा बीसदिने पर्यटक भिसामा दिल्लीबाट बहराइन हुँदै टर्की पुगेका उनी अन्य नेपालीझैं टर्कीबाट अवैध रूपमा ग्रिस प्रवेश गर्न खोजका थिए ।

अवैध बाटो टर्की

टीकारामसहित तीन नेपालीलाई प्रहरीले दुई दिन थुनेर टर्की नै फिर्ता पठाइदियो । ग्रिस छिर्ने प्रयास विफल अनि लगातार हिँडाइ, अनिद्रा र चिसोले बिरामी भएपछि एक साता ओभरस्टेबापतको ६५ लिरा जरिवाना बुझाएर उनी मंसिर अन्तिममा स्वदेश फर्के ।

हन्डर, ठक्करसँगै करिब ५ लाख रुपैयाँ गुमाएर टीकाराम त फर्किए तर उनीसँगै गएका नवीन तिवारी भने फर्केनन् । टर्कीमा भनेजस्तो कमाइ नहुने भएपछि नवीन मानव तस्करका एजेन्टको सहारामा ग्रिस हिँडेका थिए । तर उनी ग्रिस पुगे त ? यसको उत्तर न परिवारसँग छ, न त साथीभाइ–आफन्तसँग । नविनसँगै टर्कीमा केही साता बसेकाहरूसँग पनि छैन ।

आमा र भाइ सात महिनादेखि नवीनकै खबरको अधीर प्रतीक्षामा छन् । पर्यटक भिसामा टर्की पुग्ने र मानव तस्करलाई लाखौं बुझाई जोखिम मोलेर ग्रिस, इटाली, स्पेन र पोर्चुगललगायत देश प्रवेश गर्ने नेपालीको संख्या ठूलो छ । कसरी नवीन मानव तस्करको फन्दामा परे ? उनी कसरी ग्रिस छिर्न खोजेका थिए भन्ने प्रश्नको उत्तरले अवैध रूपमा टर्की हँुदै ग्रिस छिर्न खोज्ने सयौं नेपालीको कथा बताउँछ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्रै १४ जनाले टर्की जाने सपनाका कारण ठगिएको उजुरी गरेका छन् । तीमध्ये दुई जनाले टर्की पुग्ने सपनामा पैसा डुबाएका छन् भने ५ जना भनेजस्तो काम नपाएपछि आफैं पैसा खर्च गरी स्वदेश फर्केका छन् । त्यस्तै दुई जनाले अवैध रूपमा ग्रिस छिरेपछि अलपत्र परेकाले उद्धार अनि ठगलाई कारबाहीको माग राख्दै निवदेन दर्ता गरेका छन् । चार जना टर्कीमा र दुई जना नेपाल छाडेपछि भारतमा अलपत्र छन् । यही अवधिमा टर्की पुगेर मनग्गे कमाउने सपनाको पासोमा परी ठगिएका ३७ जनाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा मानव बेचबिखन तथा ठगीमा उजुरी दर्ता गराएका छन् । पीडितहरूको मागदाबीअनुसार उनीहरूले २ करोड पचास लाख रुपैयाँ डुबाएको देखिन्छ ।

टीकारामले आफू र नवीन घरबाट बुटवल, महेन्द्रनगर हुँदै दिल्ली पुगेको र त्यहाँ केही साता बसेर बहराइन हुँदै टर्की पुगेको बताए । बुटवलका एजेन्ट ओम रासकोटीले उनीहरूलाई दिल्ली बस्ने एजेन्ट भीम गुरुङकहाँ पुर्‍याइदिएका थिए । भीमले उनीहरूलाई दिल्लीबाट टर्की उडाउने काम गरे । टर्की पुगेपछि टीकाराम र नवीनको भेट पाल्पा, रामपुरका नारायण सुनवार, सिन्धुपाल्चोक हेलम्बु–७ का रामकुमार भट्टराई, इलामका मोती गुरुङ र स्याङ्जाका रोहित गुरुङसँग भएको थियो ।

टीकारामले करिब दुई साता लामो बसाइमा टर्कीमा सयौं नेपाली अलपत्र अवस्थामा देखेको बताए । उनले भने, ‘दलालले भनेअनुसार काम नहुने । काम पाइए पनि पैसा ज्यादै थोरै हुने र ऋणको ब्याज पनि तिर्न नपुग्ने भएपछि सबै ग्रिस वा अन्य देश जान दलाल खोज्नुपर्ने अवस्थामा पुग्दा रहेछन् ।’ वैध रूपमा काम गर्न आवश्यक परिचयपत्र बनाउनै ६ सय डलर खर्च हुने भएपछि सबै जनाले जसरी हुन्छ ग्रिस जाने उपाय खोज्ने गरेको उनको भनाइ छ ।

टीकारामका अनुसार कमाइ नभएपछि र लगेको खर्च सकिएपछि उनीहरूले पनि ग्रिस पुर्‍याउने दलाल खोजी गरे । त्यही क्रममा भेटिए काठमाडौं घर बताउने आशिष घिमिरे । कान्तिपुरले गरेको अनुसन्धानमा नेपालबाट भारतको बाटो हँुदै टर्की पठाउने गिरोहको मुख्य नाइकेमध्येका एक आशिष नेपाली पासपोर्टवाहक भए पनि उनीसँग भारतीय रासन कार्डसमेत रहेको देखिन्छ । उनले ‘साढे चार लाख रुपैयाँ दिए ग्रिस पुर्‍याइदिने’ बाचा गरेपछि टीकारामसहितको टोली तयार भएको थियो । कावासोती बस्ने नवीनका भिनाजु तुलसी न्यौपानेले नवीनले थप पैसा चाहिने बताएपछि मलेसिया बस्ने आफन्तलाई भनेर उतैबाट हुन्डीमार्फत आशिषलाई साढे चार लाख दिएको बताए ।

टर्कीबाट ग्रिस छिर्न नसकेपछि नेपाल फर्केका एक पीडितका अनुसार आशिषले पहिलो टोलीलाई ग्रिस पुर्‍याउने जिम्मा मोहम्मद नामक एक पाकिस्तानीलाई दिएका थिए । टोलीमा थिए– मोती, रोहित र नवीन । पाकिस्तानी नागरिक उनीहरूलाई सीमा कटाउन जाँदै गर्दा नवीनले भिनाजु तुलसीलाई फोन गरेर आफू ग्रिस हिँड्न लागेको बताएका थिए । ‘हामी हिँड्यौं । एक महिना सम्पर्क हँुदैन । मेरो पासपोर्ट, कागजात र सबै लत्ताकपडा यतै टर्कीमा छ । ग्रिस पुगेपछि एजेन्टले कुरियर गरेर पठाइदिन्छ भनेको थियो,’ तुलसीले भने । यसरी ग्रिस हिँडेका नवीन त्यसपछि परिवारको सम्पर्कमै आएनन् । उनी ग्रिस पुगे कि पुगेनन् वा प्रहरीले समात्यो वा अन्य कुनै भवितव्य आइपर्‍यो केही थाहा छैन ।

त्यसको केही दिनपछि टीकाराम, रामकुमार र नारायणको टोली ग्रिसतिर लाग्यो । तर, उनीहरू एक दिनको बाटो हिँडेपछि पक्राउ परे । दुई रात थुनामा बसेर फर्किए । ९ लाख खर्चिएर टर्की पुगी जेलनेल भोगेर पुस १७ मा नेपाल फर्केका एक पीडितले त्यहाँका चोकचोकमा कैयौं नेपाल अलपत्र अवस्थामा भेटिएको सुनाए । अर्का एक पीडितका अनुसार मानव तस्करको चंगुलमा परेर टर्की पुग्नेमा अनेकन पृष्ठभूमिका नेपाली छन् । उनले सशस्त्र प्रहरीको जागिर छोडेर हिँडेका चार जनादेखि खाडीमा कमाएको पैसा खर्चेर टर्की पुगेका नेपालीसम्म भेटेको बताए । टीकारामले पनि सात वर्ष मलेसिया र दुई वर्ष साउदी अरबमा बिताएका थिए । त्यही कमाइ टर्की जान खर्चेका थिए । नारायण पनि कतारमा साढे ६ वर्ष बसेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी कृष्णहरि शर्माका अनुसार तस्करीको जालोमा परी टर्कीमा बिचल्ली हुनेहरूको संख्या पछिल्लो समय बढेको छ । टर्कीबाट फर्केका एक पीडितले नेपालीहरू कसरी ज्यानको बाजी थापेर ग्रिस छिर्छन् भन्ने सुनाए । ‘घनघोर जंगलको बाटो दुई–तीन दिनसम्म हिँड्नुपर्छ,’ उनले भने, ‘प्रहरी देख्यो भने मरेजस्तो अभिनय गरेर घण्टौं लुक्नुपर्छ ।’ उनका अनुसार पक्राउ परिने डरले तस्करले रातिमात्रै हिँडाउँछन् ।

प्रहरीले पक्राउ गरेपछि केही दिन जेल बसेका राम, टीकाराम र नारायण नेपालै फर्किने निधोमा पुगे । उनीहरूभन्दा अघिल्लो टोलीका मोती र रोहित ग्रिस पुगी फेसबुकमा फोटो हालिसक्दा पनि नवीनको केही अत्तोपत्तो थिएन । टीकारामले आफूहरूले पाकिस्तानी एजेन्ट मोहम्मद र नेपाली एजेन्ट आशिष दुवैसँग नवीनबारे सोधेको बताए । दुवैले नवीनलाई अत्यधिक चिसोका कारण निमोनियाँ भएको र अस्पताल लगिएको जवाफ दिए । विश्वास नलागेपछि टीकारामले फेरि सोधे, ‘त्यसो भए नवीनलाई कुन अस्पतालमा राखिएको छ त ? अस्पतालमा बसेको फोटो खिचेर पठाऊ ?’ त्यसपछि मोहम्मद तर्किए । आफू एजेन्ट भएकाले अस्पताल छिरेर फोटो खिच्न नमिल्ने जवाफ दिएर सम्पर्कविहीन भए ।

त्यसो भए नवीन कहाँ छन् त ? उनीसँगै ग्रिस हिँडेका मोती र रोहितले नयाँ–नयाँ ठाउँको फाटो पोस्ट गरिरहेका छन् । कान्तिपुरले उनीहरूसँग सम्पर्क गर्न खोजेको प्रयास सफल भएन । नवीनका भिनाजु तुलसीले उनको खोजी जारी राखे पनि कुनै विश्वासिलो खबर पाउन नसकेको बताए ।

प्रकाशित : श्रावण ६, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?