कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बोल्न विवश भएँ’

काठमाडौँ — निदाएको बेला पनि चिन्ता लाग्छ, डा. केसीलाई के भयो होला भनेर । बिहान उठेपछि पनि मोबाइलमा खबर हेर्छु । घडीको सुईजस्तो मन खित्रिकखित्रिक भइरहन्छ । सरकारको मानो खाएर के बोलेको भन्लान् तर विवश भइयो । किनकि एउटा मान्छे मृत्युशय्यामा छ । डा. केसीले आज जे मागेका छन्, त्यो उनले आफ्ना निम्ति मागेका होइनन् । जनताका निम्ति, तपाईं–हाम्रा निम्ति मागेका हुन् ।

‘बोल्न विवश भएँ’

देशमा आदर्श सरकारले शिक्षा र स्वास्थ्य भएसम्म सुलभ गराउनुपर्छ । कसलाई भन्दा गरिबहरूलाई, अशक्तहरूलाई । जनताको स्तर वृद्धि गर्ने हो भने गरिबका छोराछोरीलाई डाक्टर पढाउनुपर्छ, धनीकालाई होइन । धनीकाले धन खर्च गर्छन् । डा. केसीले त्यही मागेका हुन् । गरिबलाई शिक्षा देऊ, स्वास्थ्यसेवा सुलभ गराऊ भनेका हुन् । अहिलेको सरकारले यसलाई बुझ पचाएर नजानेजस्तो गरे पनि जनताले बुझेका छन् । जनता उनको पक्षमा छन् ।

म सरकारसँग अनुरोध गर्छु कि डा. केसी र उनीजस्ता अनुयायी कुनै दलका कार्यकर्ता होइनन् । आफ्नो शासनको शैलीमा डा. केसीलाई कहिले कांग्रेस भनेको छ, कहिले अरूलाई कांग्रेस भनेको छ, त्यो बेकार हो । सबैले बुझेका छन्, डा. केसीले जनताको आवाज बोलेका छन् । केसीले नेपालबाट केही लाँदैनन् मरेर जाँदा, उनी त अमरत्व प्राप्त गरिसकेका व्यक्ति हुन् ।

सरकारसँग अनुरोध गर्छु– उहाँको माग पूरा गरौं, गर्नैपर्छ । अमेरिकामा बिल गेट्सले जति कमाउँछन् जनतामा लगेर बाँडछन् । अस्ति खेलाडीले विश्वकप जित्दा आमजनतालाई लगेर बाँडे । नेपालमा कमाउने व्यक्तिले त्यसैगरी विभिन्न क्षेत्र बनाएको सरकारले देखाइदिन सक्छ ? त्यस्ता व्यक्तिलाई किन पोस्ने ? म सरकारमा बसेका, पढेलेखेका व्यक्तिलाई समाजवाद, लोकतन्त्र र प्रजातन्त्र सिकाउन आएको होइन । तर, बुझ्नुपर्छ– समाजवाद कसरी लागू हुन्छ भनेर । आमजनता, गरिबलाई उठायो भने मात्र समाजवाद हुन्छ । एउटा ठेकेदारलाई मोटो बनाएर के हुन्छ ?

त्यो व्यक्तिबारे मैले अस्ति युटयुबमा हेरें, ओलीलाई कहिले हजुरबा भन्छ, कहिले के भन्छ । घोर बेइज्जती गरिरा’छ ओलीजीको । तैपनि उहाँहरू मौन हुनुहुन्छ । मैले मार्सी भात खुवाएकै हो भन्छ । यो त लाज लाग्नुपर्ने कुरा हो । आमजनता त्यसै सडकमा आएका होइनन् । यी सरकारका विरोधी होइनन् । सरकार खसोस् भन्ने पनि हाम्रो कुरा होइन । तर सरकारले जनताले भनेको मान्नुपर्छ । नत्र ‘अनपपुलर’ हुन्छ । मेरो फेरि पनि आग्रह छ, यो सामाजिक आन्दोलन हो । डा. केसीको माग पूरा नभए देशमा आगो बल्छ ।

शनिबार डा. गाेविन्द केसीकाे समर्थनमा भएकाे प्रदर्शनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको मन्तव्यको सम्पादित अंश

प्रकाशित : श्रावण ६, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?