कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुल्य घटाएकाे विरोधमा किसानले बाँडे दुध

रमेशकुमार पौडेल

चितवन — दुधको मुल्य घटेपछि चितवनका किसानहरुले केही दिनयता लागातार विरोध प्रदर्शन गर्दै आएका छन् । शुक्रबार भण्डाराका किसानले सडकमा दुध पोखेर विरोध गरेको भोलिपल्टै ज्यामिरेमा पनि किसानले दुध पोखे । तर, सोमबार बिहान रत्ननगरमा किसानहरुले गरेको विरोध भने भिन्न रहयो । त्यहाँका किसानले सडकमा अरुलाई दुध खुवाएर सरकारको विरोध गरे । 

मुल्य घटाएकाे विरोधमा किसानले बाँडे दुध

दुग्ध विकास संस्थानले दुध बेच्ने सहकारी संस्थाहरुलाई टीएस कमिसन भनेर प्रति लिटर ६ रुपैया ९२ पैसा अतिरिक्त भुक्तानी दिन्थ्यो । त्यो पैसाबाट सहकारीले कर्मचारी, सञ्चालन खर्च जुटाउँदै आएको र किसानलाई प्रति लिटर तीन रुपैयाका दरले थप रकम दिदै आएका थिए । साउन १ गतेदेखि संस्थानले टीएस कमिसन घटाएर तीन रुपैयाँ मात्रै दिदै आएको छ ।


‘यसो भएपछि हामीले किसानलाई थप तीन रुपैया दिन सक्दैनौं । संस्थानको कदमले किसान मर्कामा परे,’ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका सचिव लोकनाथ सापकोटाले भने ।


अध्यक्ष हरिहर सुवेदीले सरकारलाई आफ्ना कुरा सुनाउन किसानहरुले विरोध गर्दै आएको र रत्ननगरले फरक तरिकाले विरोध गरेको बताए ।


नगरस्तरीय दुग्ध उत्पादक सहकारी समिति र व्यवसायिक पशुपालक कृषक समाजले रत्ननरमा सोमबार बिहान ८ बजे आधा घण्टा चक्काजाम गरेर यात्रु र बटुवाहरुलाई दुध बाँडेका हुन् । ‘हाम्रो पीरमार्का सरकारले सुन्नु पर्छ । नभए हामी आन्दोलन फैलाउँदै लानेछौं । अहिले रचनात्मक विरोधमा छौं,’ व्यवसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगालेले भने ।


सोमबार बिहान सडकमा यात्रुलाई दुध बाँड्दै रत्ननगरका किसान । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।

प्रकाशित : श्रावण ७, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?