नख्खुु जेल प्रकरण: सिरियल किलरबाटै कैदी ‘हत्या’

जनकराज सापकोटा

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख २१ मा नख्खु जेलभित्र कैदी भक्तबहादुर सुनवारको शंकास्पद मृत्युमा ‘सिरियल किलर’ अभिषेक सिंह संलग्न रहेको निष्कर्ष निकालेको छ । कर्तव्य ज्यानका चार फरकफरक मुद्दामा सजाय खेपिरहेका सिंहविरुद्ध प्रहरीले विष सेवन गराई कैदीको हत्या गरेको अभियोगमा सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

प्रतिकात्मक तस्बिर

जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका भक्तबहादुर अचानक बिरामी परेलगत्तै मृत्यु भएपछि उक्त घटना शंकास्पद मानिएको थियो। सुनवारको मृत्युको कारण पत्ता लगाउन प्रहरी परिसर ललितपुरले छानबिन अगाडि बढाएकै बेला १६ जेठमा गृह मन्त्रालयले पनि उक्त घटनाबारे छानबिन गर्न समिति गठन गरेको थियो। समितिले उनको मृत्युको यकिन कारण पत्ता लगाउन नसकेपछि केन्द्रीय अनुसन्धान ब्युरोले थप अनुसन्धान सुरु गरेको थियो।

Yamaha

सुनवार जेलभित्र अभिषेकका निकट सहयोगीका रूपमा काम गर्थे। स्वस्थ अवस्थामा रहेका सुनवार एक्कासि किन बिरामी परे र त्यसलगत्तै उनको मृत्यु कसरी भयो भन्ने उत्तरको खोजी गर्ने क्रममा छानबिन समितिले शंकाको सुई सिंहतिर सोझ्याएको थियो। जेलर र चौकीदारसँग राम्रो सम्बन्ध नभएपछि सुनवारको हत्या गरेर त्यसको दोष लगाएर उनीहरूको सरुवा गराउन अभिषेकले हत्या गरेको हुन सक्ने निष्कर्षसमेत गृह समितिले गरेको थियो।

गृहको समितिले अभिषेकले नै सुनवारको हत्या गरेको हुन सक्ने बताए पनि त्यसलाई पुष्टि गर्ने आधार फेला पार्न सकेको थिएन। गृहस्रोतका अनुसार पोस्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण खुल्न नसकेपछि समितिले विज्ञ टोली नै बनाएर गहन अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो। कैदी मृत्युको कारण भिसेरा परीक्षणपछि पनि नखुलेपछि केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरीको विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र शिक्षण अस्पतालका अटोप्सी विज्ञ डाक्टरहरूसँग समन्वय गरेको थियो।

स्रोतका अनुसार औषधि विज्ञानका विषयमा जानकार सिंहले विभिन्न औषधिको प्रि क्रसर केमिकल अर्थात् औषधि बनाउनका निम्ति आवश्यक कच्चा पदार्थको कामबारे ज्ञान राख्छन्। उनले त्यही ज्ञानको दुरुपयोग गर्दै मेडिकल औषधिको मिसावट गरेर मन्द विष बनाई कैदीको हत्या गरेको निष्कर्ष ब्युरोले निकालेको छ।

यसअघिका हत्याका केसमा पनि सिंहले मन्द विषको प्रयोग गरेको निष्कर्ष प्रहरीले निकाले पनि कस्तो विष भनेर बताएको थिएन। कतिसम्म भने हत्याका चारै घटनामा उनले विषको प्रयोग गरेको भनिए पनि भिसेरा परीक्षणबाट त्यसको पुष्टि भएको थिएन। व्यक्ति हत्याका निम्ति सिंहले कस्तो विषको प्रयोग गर्छन् र त्यसको निर्माण कसरी गर्छन् भन्ने तथ्य पत्ता लगाउनु प्रहरीका निम्तिसमेत टाउको दुखाइको विषय भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोको एक प्रहरीका अनुसार कैदीको मृत्युबारे पत्ता लगाउनु प्रहरीका निम्ति निकै चुनौतीपूर्ण काम थियो।

गृह समितिका अनुसार नख्खु कारागारमा सिंह बस्ने कोठामा खानतलासी गर्दा प्रहरीले विभिन्न प्रकारका एलोप्याथी र आयुर्वेदिक औषधिका पोका नै बरामद गरेको थियो। उनले त्यतिका धेरै औषधि कारागारभित्र किन र कसरी पुर्‍याए भनेर छानबिन समिति नै अचम्ममा परेको थियो। जबकि कारागार ऐन २०१९ ले जेलभित्र कुनै औषधि लैजानुपूर्व चिकित्सक र कारागार प्रशासनसँग स्वीकृति लिनुपर्छ।

जबकि सिंहले औषधि राख्न कारागार प्रशासनसँग कुनै स्वीकृति लिएका थिएनन्। कान्तिपुरसँग कुरा गर्दै समितिका एक सदस्यले भने, ‘उनको साथबाट त्यतिका धेरै औषधि फेला परेपछि नै हामी सशंकित भएका थियौं।’ स्रोतका अनुसार प्रहरीले उनको साथबाट अंग्रेजी भाषामा लेखिएको फुड प्वाइजनसम्बन्धी पुस्तक पनि बरामद गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता कृष्णहरि शर्माले सिहंमाथिको अनुसन्धान सकिएको बताए। शर्माले विषय विज्ञ चिकित्सकसँगको परामर्श र गहन अनुसन्धानपछि हत्याको केसमा निष्कर्षमा पुगिएको बताए। शर्माले भने, ‘यो अनुसन्धानमा धेरै विषय विज्ञको परामर्श र सहयोग लिइएको छ।’ उक्त घटना बारे अाजै पत्रकार सम्मेलन गरेर बताउन लागेकाे छ । कान्तिपुरको सम्पर्कमा आएका ब्युरोको एक अधिकारीले भने, ‘यकिन प्रमाणभन्दा पनि परिस्थितिजन्य प्रमाणका आधारमा घटनालाई पुष्टि गर्नुपर्ने अवस्था आइपरेको छ।’

सिंहले हत्या गरेको पुष्टि भएपछि नख्खु कारागारले उनलाई पहिला बसिरहेको ब्लकबाट अर्को ब्लकमा सारेको छ। नख्खु कारागारका एक कर्मचारीका अनुसार भीआईपी ठाँटमा बस्ने सिंहलाई भेट्न उनका परिवारका केही सदस्य र एक महिला बारम्बार आउने गर्छन्। ती कर्मचारीले भने, ‘कारागारभित्र पैसाको बलमा जे पनि गर्न सक्छन् भन्ने छवि बनाएका छन् यिनले।’

सिंहको शक्ति
कमजोर जेल प्रशासन र स्वार्थी कर्मचारीका कारण सिंहले कारागारभित्र आफ्नै साम्राज्य विस्तार गरेका छन्। कतिसम्म भने, जेलभित्र उनीबाट असुरक्षा बढेको भन्दै अर्को जेलमा सारे पनि उनी केही महिनापछि नै फर्केर नख्खु जेलमै आइपुग्छन्। २०७१ भदौ २५ गते डिल्लीबजार कारागारबाट नख्खु पुर्‍याएपछि सिंहको तीन पटक सरुवा भइसक्यो। तर नख्खुबाट सरुवा भएर जहाँ पुगे पनि उनी पैसा र शक्तिको बलमा केही महिनामै नख्खुमै आइपुग्छन्।

जस्तो कि, २०७२ माघमा सिंहलाई सुर्खेत कारागारमा सारियो। तर केही महिना सुर्खेत बसेर सिंंहले आफूलाई डिल्लीबजार कारागारमा बस्ने व्यवस्था मिलाए। डिल्लीबजार कारागारमा केही महिना बसेपछि उनी फेरि २०७३ भदौ २६ गते नख्खु कारागारमै पुगे। उनको उपस्थितिले कारागारभित्र असुरक्षा बढेको र कैदीहरू विभाजित बनेको भन्दै उनलाई फेरि २०७३ चैत २७ गते रूपन्देही कारागारमा सारियो। तर सारिएको करिब तीन महिनापछि नै उनी फेरि नख्खु आइपुगे। पहुँच र शक्तिको प्रयोग गर्दै उनी रूपन्देहीबाट मकवानपुरको भीमफेदी कारागार सरुवा भए र त्यहाँबाट पनि २०७४ जेठ २९ गते नख्खु कारागार नै आइपुगे।

नख्खु कारागार प्रशासनका एक कर्मचारी ‘उनी कसको शक्ति र बलका आधारमा आफूले चाहेको जेलमा बस्ने व्यवस्था मिलाउन सक्छन् भन्ने कुरा बुझिनसक्नु रहेको’ बताउँछन्। ती कर्मचारीले भने, ‘पैसाको बलमा सिंहले कारागारभित्र अर्को संसार खडा गरेका छन्।’

को हुन् सिंह?
बाँकेको नेपालगन्ज स्थायी घर भई पछिल्ला वर्षमा भैंसेपाटी बस्ने सिंहको अपराध यात्रा दशक पुरानो छ। सिंहमाथि अनुसन्धान गरिरहेका प्रहरीका अनुसार द्वन्द्वकालमा माओवादीद्वारा बाबुको हत्या भएपछि सिंह अपराध संसारमा प्रवेश गरेका थिए। चार महिना नेपाली सेनामा जागिर खाएर छोडेपछि भारतमा गएर आयुर्वेदको ज्ञान लिएका सिंह औषधि विज्ञानबारे पनि जानकार छन्। प्रहरीका अनुसार उनी विभिन्न मेडिकल औषधिको कम्पोजिसनबारे मात्रै जानकार छैनन्, औषधिमा रहेका तत्त्वलाई छुट्याउनसमेत सक्छन्।

प्रहरीका अनुसार भारतबाट फर्केपछि सिंहले आफूलाई शिवभक्त बताउँदै बाबाको रूपसमेत धारण गरेर बसेका थिए। प्रहरीका अनुसार चार हत्याको अभियोग पुष्टि भए पनि सिंहले आफूले ६ जनाको हत्या गरेको बताउने गरेका छन्। बर्दियाका चौधरी थरका दुई माओवादीको हत्यामा पनि सिहंको संलग्नता रहेको बताउने गरिए पनि त्यसको पुष्टि भइसकेको छैन। पछिल्लो समय उनी ललितपुरकी आफूभन्दा दोब्बर उमेरकी एक महिलासँग सम्बन्धमा छन्। प्रहरीका अनुसार ती महिलाले नै सिंहको आर्थिक आवश्यकता पूरा गर्दै आएकी छिन्।

सिरियल किलरको मनोवृत्ति
चार व्यक्ति हत्याको अभियोगमा सजाय खेपिरहेका सिंहमाथि यतिबेला पाँचौं व्यक्ति हत्याको मुद्दा सुरु हुँदैछ। शृंखलाबद्ध व्यक्ति हत्याको कर्तुतमा कुख्याति कमाउनेमा सिंहमात्रै एक्ला छैनन्। यसअघि सप्तरीका सकिल हुसेनमाथि पनि आठ व्यक्ति हत्याको अभियोग छ।

हुसेनले २०६४ देखि २०७० का बीचमा सुनसरी र सप्तरीमा आठ जनाको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो। २०७० चैत २ मा सप्तरी त्रिकौलकी निर्मलादेवी शाहको हत्यापछि फरार सकिललाई फागुन पहिलो साता नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को सहयोगमा कतारबाट पक्राउ गरिएको थियो।

नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीका अनुसार व्यक्ति अपराधी बन्नुका पछाडि सामाजिक पृष्ठभूमिले काम गर्छ। भण्डारीले भने, ‘एउटा अपराधबाट शक्ति र पैसा आर्जन गर्ने र अपराधकर्मको सजायबाट पनि मुक्ति पाउने वातावरण भएपछि अपराधीको मनोबल बढछ।’ भण्डारीका अनुसार अपराधीहरू एउटा अपराध लुकाउन सफल भए भने अर्को अपराध गरेर आफ्नो स्वार्थ पूरा गर्न थालिहाल्छन्। उनले भने, ‘अपराधबाट आर्जित पैसाबाट अपराध लुकाउँदै अर्को अपराध गर्ने वातावरण निर्माण हुँदा सिरियल किलरहरू जन्मिन्छन्।’

Esewa Pasal

प्रकाशित : श्रावण ८, २०७५ १०:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेशको चेतावनी स्वाभाविक

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘अधिकार खोसे विकल्प खोज्छौं’ भनी संघीय सरकारलाई प्रदेशहरूले चेतावनी दिएछन् । साउन १ गतेदेखि लागु हुनेगरी संघ, प्रदेश र स्थानीयसमेत तीनै तहका सांगठनिक संरचना अनुमोदन भएपश्चात् सीमित जिल्ला, अञ्चल अस्पताल केही क्षेत्रीय कार्यालयमात्र प्रदेश मातहत राखिएकाले प्रदेशका तर्फबाट विरोधका स्वर गुञ्जिन थालेको हुन सक्छन् ।

प्रदेशमा राख्ने भनिएका महत्त्वपूर्ण निकाय र विभाग संघकै मातहत राखिएपछि प्रदेशहरूको असन्तुष्टि सतहमै आउनु स्वाभाविक हो । जन सरोकारसँग प्रत्यक्षत: जोडिएका निकाय नरहे प्रदेशलाई काम गर्न गाह्रो हुनसक्छ । हरेक काममा केन्द्रको मुख ताक्नुपर्दा प्रदेशको औचित्यमाथि प्रश्न उठ्छ । यसले अन्तत: संघीयता धरापमा पार्छ । प्रदेशका चिन्ता र चासोप्रति केन्द्रले बेलैमा सुन्नुपर्छ ।
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ, काठमाडौँ

प्रकाशित : श्रावण ८, २०७५ १०:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT