व्यापारी हत्या आरोपी दुई जनालाई जन्मकैद

प्रतिक्षा काफ्ले

स्याङ्जा — जडीबुटी बेच्दै हिँडेका ५० वर्षीय मुस्ताङका छाङदीङ गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालतले दुई जनालाई जन्मकैदको सजाय तोकेको छ ।  जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले साविक आरुचौर गाविस-४ चिप्लेटीका २२ वर्षीय तिलकबहादुर विकलाई सर्वस्वसहित जन्मकैद र ५० वर्षीय शोभाखर विकलाई जन्मकैद तोकेको हो ।

Yamaha

हत्यामा संलग्न ३८ वर्षीया लक्ष्मी विकलाई अभियोग दाबीबाट सफाई दिइएको छ । ०७४ फागुनमा अदालतले उनलाई ३० हजार रुपैयाँमा धरौटीमा छाडेको थियो । अन्य २ जनालाई पुर्पक्षमा पठाएको थियो भने हत्यामा संलग्न ११ जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

न्यायाधीश अधिकारीको इजलासमा अदालती बयान बन्दबस्तको ११८(२) बमोजिम गुरुङलाई हत्या गरेपछि शव लुकाउन सहयोग गर्ने सोही ठाउँका उमाकान्त, पिताम्बर, कृष्णबहादुर, दुर्गाबहादुर, हर्कबहादुर, भाग्यविजयी, विशाल, सरोज, नरबहादर र सुरबहादुर विकलाई ११८ को दफा ५(३) को १० बमोजिम ६/६ महिना कैद सजाय तोकिएको जिल्ला न्यायाधीश अधिकारीले जानकारी दिए ।

चिप्लेटीका दलीत बस्तीमा १३ जनाको संलग्नतामा ०७३ पुस २७ गते गुरुङलाई हत्या गरी खाल्डोमा गाडिएको र गाउँ छिमेकमा हल्ला भए पछि उत्खनन् गरी साविक अर्जुनचौपारी गाविस-५ स्थित भट्टे पथान सामुदायिक वनमा गाडिएको अवस्थामा भेटाइएको थियो । पोस्टमार्टम तथा डाक्टरी रिर्पोटअनुसार उक्त व्यक्तिको घरेलु हतियार (चक्कु) प्रयोग गरी हत्या गरिएको पाइन्छ ।

गत पुस २७ गते स्थानीय शोभाखर विकको घरमा बास बसेको र शोभाखरका भतिज सञ्जयसँग झगडा हुँदा कुटपिटबाट उनको मृत्यु भएको बताइएको छ ।

प्रकाशित : श्रावण १०, २०७५ १६:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दुई विद्यार्थी संगठन एकता गर्न तीन उपसमिति

रासस/याेन्हाप

काठमाडौँ — पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । 

दुई विद्यार्थी एकता कार्यदलको बिहीबार बसेको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन् ।

उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ । उपसमितिले प्रतिवेदन बुझाएपछि एकता प्रक्रियालाई अन्तिम रुप दिइने छ ।

क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार राजनीतिक तथा शैक्षिक उपसमितिमा अनेरास्ववियुबाट महेश बर्तौला, शैलेश लामा, ओसिम आलम, मकर खड्का र झपीन्द्र खत्री तथा क्रान्तिकारीबाट तिलकराज भण्डारी, पञ्चा सिंह, रविकिरण यादव, मिलन एमसी र तुकमान महरा छन् । विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुबाट रश्मी आचार्य, सुनिता बराल, आरसी लामिछाने र सुदेश पराजुली तथा क्रान्तिकारीबाट सुरेन्द्र बस्नेत, दीपक देवकोटा, विजय गौतम र दीपेश पुन रहेका छन् ।

संगठन समायोजन उपसमितिमा अनेरास्ववियुबाट ऐन महर, आरती लामा, समिक वडाल र सुदर्शन शिवाकोटी तथा क्रान्तिकारीबाट उत्तम अधिकारी, दीपक जोशी, इन्द्र भुसाल र जिपी मैनाली रहेका छन् ।

कार्यदलमा तत्कालीन नेकपा एमालेबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा अनेरास्ववियुका इन्चार्ज रवीन्द्र अधिकारी र अनेरास्ववियुका अध्यक्ष तथा सांसद नवीना लामा एवम् क्रान्तिकारीबाट अध्यक्ष रञ्जित तामाङ र क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल रहेका छन् । पार्टी एकता भएको तीन महिनाभित्र भातृसंगठन एकता गर्ने नेकपाले जनाएको थियो ।

प्रकाशित : श्रावण १०, २०७५ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT