कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमतीलाई टेन्सन दिन अपहरणको नाटक !

जनकराज सापकोटा

काठमाडौँ — एकाबिहानै आएको एउटा सूचनाले प्रहरी परिसर काठमाडौंमा हल्लीखल्ली मच्चाइदियो । टोखा क्षेत्रबाट एक नागरिकले फोन गरेर आफन्त तनहुँ स्थायी घर भई नयाँ बसपार्कमा विद्युतीय सामानको पसल गर्ने शिवराज घिमिरे अपहरणमा परेको बताए ।

श्रीमतीलाई टेन्सन दिन अपहरणको नाटक !

सूचना दिनेका अनुसार टोखास्थित डेराबाट कामका लागि निस्किएका शिवराज आफैंले आफू अपरहणमा परेको, अपहरणकारीले लगातार कुटिरहेको बताउँदै फोन गरेको भन्दै यथाशक्य उद्धारका लागि प्रहरी गुहारे । राजधानीको व्यस्त बसपार्क क्षेत्रबाट एकाबिहान भएको घटनाले प्रहरीलाई पनि झस्काइदियो ।


सूचना पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंले सादा पोसाकका ५ प्रहरीलाई अपहरणकारी खोजीमा परिचालन गर्‍यो । परिसरकै आदेशमा बसपार्क प्रभागका प्रहरी टोली, प्रहरी वृत्त महाराजगन्जबाट डिएपीसहतिको टोली पनि खोजी कार्यमा परिचालित भए । अपहरितको ठेगाना पत्ता लगाउन प्रहरीले उनको मोबाइल लोकेसन पनि ट्रेस गर्‍यो । अपहरित शिवराजको मोबाइल लोकेसन काँडाँघारी हुँदै काभ्रेको पनौतीतिर सोझिएको देखियो । लगत्तै प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुखलाई फोन गरी खोजीमा टोली परिचालित गरायो । प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले कान्त्पिुरसँग भने, ‘दिनभर हामी खोजी कार्यमा जुटिरह्यौं ।’


अपहरित व्यक्ति फेला नपरेर निराश बनेको प्रहरीले साँझ ढल्केपछि सूचना पायो । अपहरित व्यक्ति स्वयम्भूस्थित शिवालय मन्दिर नजिक छन् भन्ने । प्रहरी टोली त्यत्तै सोझियो । मन्दिरको छेउमा २५ वर्षीय शिवराज भेटिए । त्यसपछि रहस्य खुल्यो, न उनी अपहरणकारीबाट कुटिएका थिए, न साँच्चिकै अपहरणमा परेका थिए । प्रहरीले केरकार गरेपछि उनले श्रीमतीसँग बारम्बार झगडा हुने गरेकाले उनैलाई टेन्सन दिन अपहरणको नाटक गरेको बताए । शिवराजले आफू बस चढेर पनौती पुगी दिनभर उतै घुमेर फर्केको बताए ।


परिसरका एसएसपी पोखरेलले भने, ‘नक्कली अपहरणको नाटकले हामीलाई दिनभर तनाव दियो ।’

प्रकाशित : श्रावण १०, २०७५ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?