पाइपबाटै ग्यास

३२ घरमा ग्यास वितरण गर्न पाइप जोड्दैछन् नेपाली र भारतीय प्राविधिक
माधव घिमिरे

विराटनगर — जतुवा क्षेत्रमा अचेल धमाधम पाइप बिछ्याइँदै छ । त्यसबाट पानी होइन, ग्यास बग्नेछ । यही साउनभित्र । महानगर १४ को यस इलाकाका बासिन्दाको चुलोमा त्यही पाइपको ग्यास आइपुग्नेछ ।

विराटनगर १४, जतुवास्थित गौशालामा बायो ग्यास उत्पादनका लागि गोबर संकलन गर्दै । तस्बिर : माधव घिमिरे । कान्तिपुर

सिलिन्डर बोक्ने झन्झट सकिनेछ । तीन दशकदेखि सञ्चालनमा रहेको गौशालाबाट बायोग्यास निकालिएको हो । ‘पहिलो चरणमा ३२ घरमा ग्यास वितरण गर्न पाइप जडान भइसकेको छ,’ संस्थाका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘साउनभित्रै परीक्षण गरी नियमित ग्यास उपलब्ध गराउने तयारीमा छौं ।’ प्रत्येक घरमा दुइटा चुलो र ग्यास प्रयोग गर्न चाहिने सामान न्यूनतम मूल्यमा गौशालाले उपलब्ध गराएको छ ।

दोस्रो चरणमा थप सय घरमा पुर्‍याउने लक्ष्य रहेको अग्रवालले बताए । ती घर गौशाला रहेको स्थानबाट एक किलोमिटर आसपासका हुनेछन् । ग्यास प्लान्ट जडान र अरू प्राविधिक कामका लागि भारतको गुजरातबाट आएका र नेपाली प्राविधिकले काम गरिरहेका छन् । ३३ वर्षअघि ‘गाईको वृद्धाश्रम’ का रूपमा सुरु गरिएको उक्त श्रीकृष्ण गौसेवा सदनमा त्यसबेला केही गाई मात्र थिए । अहिले दुई सयभन्दा बढी गाई र बाच्छाबाच्छी छन् ।

Yamaha

गाईको सेवाका लागि सुरु गरिएको यो गौसदनमा संख्या बढदै गयो । महानगरका उद्योगी–व्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा गौशाला चलेको छ । यसले जैविक मल बनाएर न्यूनतम मूल्यमा बेच्दै आएको छ । दूध बिक्रीबाट हुने आम्दानी गौशालाकै खर्चमा उपयोग गरिन्छ । स्वास्थ्यका लागि उपयोगी हुने भनेर हरेक बिहान यहाँ करिब डेढ सय जना गौमूत्र सेवनका लागि पुग्छन् ।

अब यही गौशालाबाट बायो ग्यास उत्पादन गरेर घरघरमा पाइपमार्फत पुर्‍याइने भएको हो । यसका लागि १ करोड २५ लाख रुपैयाँ लागतमा ग्यास प्लान्ट, पाइपलाइन र अन्य संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । स्थानीयको घरसम्म ग्यास पुर्‍याउन पाइप जडानसमेत भइसकेको छ । गौशालामा १९ ‘गोसेवक’ दैनिक खटिन्छन् । स्वेच्छाले सेवा गर्न पुग्ने स्थानीयको संख्या उत्तिकै छ । कतिपय पशु चिकित्सक र प्राविधिकका रूपमा काम गरिसकेकाहरू पनि गौशालालाई सघाउनेमा पर्छन् ।

नियमित गोसेवकमध्ये एक महीचन्द्र यादवका अनुसार गौशालामा २ सय ५ गाई र बाच्छाबाच्छीबाट दैनिक करिब २ हजार किलो गोबर निस्कन्छ । त्यही गोबरलाई जम्मा पारेर ग्यास प्लान्टमा राखिन्छ । त्यहाँबाट ग्यास उत्पादन गरी जम्मा गर्ने प्लास्टिकको ठूलो ट्यांकी जडान गरिएको छ । त्यसैबाट पाइपमार्फत घरघरमा ग्यास पुग्नेछ । ‘हामीले यो नाफा कमाउने उद्देश्यले गरेको होइन,’ अग्रवालले भने, ‘हरेक घरमा मिटर राखिएको हुन्छ, जति ग्यास प्रयोग हुन्छ, त्यही मिटरमा उठेअनुसार शुल्क लिइनेछ ।’

यो बजारमा पाइने एलपी ग्यासभन्दा गुणस्तरयुक्त र मूल्यमा पनि सहुलियत हुने उनले बताए । मूल्य भने परीक्षणको काम सकिएपछि उपभोक्ताकै सहमतिमा तय गरिने अग्रवालको भनाइ छ । ग्यास प्लान्टका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सघाएको छ । उसको ८० प्रतिशत र संस्था एवं स्थानीय उपभोक्ताको २० प्रतिशत लगानी यसमा रहनेछ । प्लान्ट र वितरण प्रणाली निर्माणको रेखदेख केन्द्रका प्रतिनिधिले पनि गरिरहेका छन् । अध्यक्ष अग्रवालका अनुसार प्रदेश १ का विभिन्न स्थानमा अध्ययन गरेपछि यसैलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा मानेर केन्द्रले ग्यास उत्पादन र वितरणमा सघाएको हो ।

गौशालामा निकै अघिदेखि जैविक मल उत्पादन गरी किलोको १२ रुपैयाँमा बिक्री गरिँदै आएको छ । त्यति धेरै संख्यामा गाई भए पनि दैनिक झन्डै ६० लिटर मात्रै दूध बेच्ने गरिएको छ । ‘बाच्छाबाच्छीले अघाउँजी खाएपछि मात्रै दूध दुहुने गरेका छौं,’ अर्का गोसेवक ताराचन्द्र यादवले भने, ‘दिनको झन्डै ६० लिटर दूध मात्र बेच्छौं ।’ सबैको आम्दानी गाईको स्याहार र गौशाला सञ्चालनमै खर्च गरिन्छ ।

गाई सुरुमा अन्यत्रबाट ल्याएर राखिएको थियो । पछि त्यहीँ जन्मी हुर्की गरेपछि संख्या दुई सय नाघेको हो । ‘यहाँका गाई र बाच्छाबाच्छी अन्यत्र लगिँदैन,’ यादवले भने, ‘यहीँ जन्मन्छन्, यहीँ मर्छन्, हामी विधिपूर्वक अन्तिम संस्कार गर्छौं ।’

Esewa Pasal

प्रकाशित : श्रावण ११, २०७५ ०७:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फोहोरबाट ग्यास

सिलिन्डरको ९०० रुपैयाँ
विराटनगरमा बिछ्याइयो बायोग्यास पाइप
एलपीभन्दा सस्तो र गुणस्तरयुक्त
पाइप घरघरमै पुग्ने
पहिलो चरणमा ३२, त्यसपछि १०० घरमा
नवीन पौडेल

परासी — फोहोरबाट बायोग्यास । दिनको १ सय ५० सिलिन्डर उत्पादन । गोटाको ९ सय रुपैयाँ मूल्य । हाम्रै नवलपरासीमा । हो, पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ फल्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले खाना पकाउने ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ ।

उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ । ‘रामग्राम नगरपालिकाका बजार क्षेत्रमा तत्काल पाइपलाइनबाट भान्छा–भान्छामा ग्यास पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘यो सस्तो मात्र होइन, वातावरणमैत्रीसमेत छ ।’

कुहिने वस्तु यसको कच्चा पदार्थ हो । फोहोर, कुखुराको सुली, गोबर, चिनी मिलको छोक्रा आदि प्रयोग गरिन्छ । अग्रवालका अनुसार कच्चा पदार्थ जैविक मल बनाउन उद्योगले १५ बिघा जग्गा भाडामा लिएर मकै खेती गरेको छ । त्यो पनि वर्षमा चार पटकसम्म फल्ने जातको ।

त्यसैलाई कुहाएर कच्चा पदार्थ बनाउने उद्योगको योजना छ । ‘तत्काल चितवनबाट कुखुराको सुली ल्याएर प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘स्थानीय तहसँग सहकार्य गरेर जैविक फोहोर संकलनसमेत सुरु गरिएको छ ।’ पछि पाइपबाट उपलब्ध गराए पनि सुरुमा सिलिन्डरमा भरेर पठाउने गरिएको छ । बजारमा उपलब्ध एलपी ग्यास विस्थापन गर्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको लगानीकर्ताले दाबी गरेका छन् । त्यसका लागि ४ सय रुपैयाँभन्दा सस्तो दिइएको छ । पहिलो चरणमा परासी र भैरहवाका उद्योग एवं होटलले यसको उपभोग थालेका छन् । ‘यसको हिटिङ पावर अन्य ग्यासको भन्दा २५ प्रतिशत बढी छ,’ अग्रवालको दाबी छ, ‘त्यसैले यो फारो पनि हुन्छ ।’

उद्योगले कच्चा पदार्थका लागि नवलपरासी, बाँके, दाङ, रुपन्देहीलगायत जिल्लाका स्थानीय तहसँग फोहोर व्यवस्थापनमा सहकार्य गर्नेबारे छलफल भइरहेको जनाएको छ । केहीसँग त सहकार्य सुरु भइसकेको छ ।

उद्योगमा ३ हजार ७ सय ५० घनमिटरको प्लान्ट स्थापना गरिएको छ । स्थानीय तहले संकलन गर्ने फोहोरमार्फत दैनिक १२ टन जैविक मल उत्पादन भइरहेको बायोग्यास प्लान्टका प्रबन्धक प्रकाश अर्यालले बताए । ‘कुहिने फोहोरमैलाको उचित प्रयोगका लागि प्लान्ट स्थापना गरिएको हो,’ उनले भने, ‘स्थानीय तहले दिनहुँ संकलन गर्ने फोहोरबाट ग्यास उत्पादन गरिरहेका छौं ।’ १२ कुरोड रुपैयाँ लागतको उद्योग सञ्चालनका लागि नेपाल सरकारले ४ करोड ९१ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

प्रकाशित : श्रावण ११, २०७५ ०७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT