कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाइपबाटै ग्यास

३२ घरमा ग्यास वितरण गर्न पाइप जोड्दैछन् नेपाली र भारतीय प्राविधिक
माधव घिमिरे

विराटनगर — जतुवा क्षेत्रमा अचेल धमाधम पाइप बिछ्याइँदै छ । त्यसबाट पानी होइन, ग्यास बग्नेछ । यही साउनभित्र । महानगर १४ को यस इलाकाका बासिन्दाको चुलोमा त्यही पाइपको ग्यास आइपुग्नेछ ।

पाइपबाटै ग्यास

सिलिन्डर बोक्ने झन्झट सकिनेछ । तीन दशकदेखि सञ्चालनमा रहेको गौशालाबाट बायोग्यास निकालिएको हो । ‘पहिलो चरणमा ३२ घरमा ग्यास वितरण गर्न पाइप जडान भइसकेको छ,’ संस्थाका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘साउनभित्रै परीक्षण गरी नियमित ग्यास उपलब्ध गराउने तयारीमा छौं ।’ प्रत्येक घरमा दुइटा चुलो र ग्यास प्रयोग गर्न चाहिने सामान न्यूनतम मूल्यमा गौशालाले उपलब्ध गराएको छ ।

दोस्रो चरणमा थप सय घरमा पुर्‍याउने लक्ष्य रहेको अग्रवालले बताए । ती घर गौशाला रहेको स्थानबाट एक किलोमिटर आसपासका हुनेछन् । ग्यास प्लान्ट जडान र अरू प्राविधिक कामका लागि भारतको गुजरातबाट आएका र नेपाली प्राविधिकले काम गरिरहेका छन् । ३३ वर्षअघि ‘गाईको वृद्धाश्रम’ का रूपमा सुरु गरिएको उक्त श्रीकृष्ण गौसेवा सदनमा त्यसबेला केही गाई मात्र थिए । अहिले दुई सयभन्दा बढी गाई र बाच्छाबाच्छी छन् ।

गाईको सेवाका लागि सुरु गरिएको यो गौसदनमा संख्या बढदै गयो । महानगरका उद्योगी–व्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा गौशाला चलेको छ । यसले जैविक मल बनाएर न्यूनतम मूल्यमा बेच्दै आएको छ । दूध बिक्रीबाट हुने आम्दानी गौशालाकै खर्चमा उपयोग गरिन्छ । स्वास्थ्यका लागि उपयोगी हुने भनेर हरेक बिहान यहाँ करिब डेढ सय जना गौमूत्र सेवनका लागि पुग्छन् ।

अब यही गौशालाबाट बायो ग्यास उत्पादन गरेर घरघरमा पाइपमार्फत पुर्‍याइने भएको हो । यसका लागि १ करोड २५ लाख रुपैयाँ लागतमा ग्यास प्लान्ट, पाइपलाइन र अन्य संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । स्थानीयको घरसम्म ग्यास पुर्‍याउन पाइप जडानसमेत भइसकेको छ । गौशालामा १९ ‘गोसेवक’ दैनिक खटिन्छन् । स्वेच्छाले सेवा गर्न पुग्ने स्थानीयको संख्या उत्तिकै छ । कतिपय पशु चिकित्सक र प्राविधिकका रूपमा काम गरिसकेकाहरू पनि गौशालालाई सघाउनेमा पर्छन् ।

नियमित गोसेवकमध्ये एक महीचन्द्र यादवका अनुसार गौशालामा २ सय ५ गाई र बाच्छाबाच्छीबाट दैनिक करिब २ हजार किलो गोबर निस्कन्छ । त्यही गोबरलाई जम्मा पारेर ग्यास प्लान्टमा राखिन्छ । त्यहाँबाट ग्यास उत्पादन गरी जम्मा गर्ने प्लास्टिकको ठूलो ट्यांकी जडान गरिएको छ । त्यसैबाट पाइपमार्फत घरघरमा ग्यास पुग्नेछ । ‘हामीले यो नाफा कमाउने उद्देश्यले गरेको होइन,’ अग्रवालले भने, ‘हरेक घरमा मिटर राखिएको हुन्छ, जति ग्यास प्रयोग हुन्छ, त्यही मिटरमा उठेअनुसार शुल्क लिइनेछ ।’

यो बजारमा पाइने एलपी ग्यासभन्दा गुणस्तरयुक्त र मूल्यमा पनि सहुलियत हुने उनले बताए । मूल्य भने परीक्षणको काम सकिएपछि उपभोक्ताकै सहमतिमा तय गरिने अग्रवालको भनाइ छ । ग्यास प्लान्टका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सघाएको छ । उसको ८० प्रतिशत र संस्था एवं स्थानीय उपभोक्ताको २० प्रतिशत लगानी यसमा रहनेछ । प्लान्ट र वितरण प्रणाली निर्माणको रेखदेख केन्द्रका प्रतिनिधिले पनि गरिरहेका छन् । अध्यक्ष अग्रवालका अनुसार प्रदेश १ का विभिन्न स्थानमा अध्ययन गरेपछि यसैलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा मानेर केन्द्रले ग्यास उत्पादन र वितरणमा सघाएको हो ।

गौशालामा निकै अघिदेखि जैविक मल उत्पादन गरी किलोको १२ रुपैयाँमा बिक्री गरिँदै आएको छ । त्यति धेरै संख्यामा गाई भए पनि दैनिक झन्डै ६० लिटर मात्रै दूध बेच्ने गरिएको छ । ‘बाच्छाबाच्छीले अघाउँजी खाएपछि मात्रै दूध दुहुने गरेका छौं,’ अर्का गोसेवक ताराचन्द्र यादवले भने, ‘दिनको झन्डै ६० लिटर दूध मात्र बेच्छौं ।’ सबैको आम्दानी गाईको स्याहार र गौशाला सञ्चालनमै खर्च गरिन्छ ।

गाई सुरुमा अन्यत्रबाट ल्याएर राखिएको थियो । पछि त्यहीँ जन्मी हुर्की गरेपछि संख्या दुई सय नाघेको हो । ‘यहाँका गाई र बाच्छाबाच्छी अन्यत्र लगिँदैन,’ यादवले भने, ‘यहीँ जन्मन्छन्, यहीँ मर्छन्, हामी विधिपूर्वक अन्तिम संस्कार गर्छौं ।’

प्रकाशित : श्रावण ११, २०७५ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?