कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्तीमै पहिरो: ९ को मृत्यु, १२ घाइते

बलराम घिमिरे

रसुवा — गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । पहिरो बस्तीभन्दा करिब ४ किमि माथिबाट आएको हो ।

बस्तीमै पहिरो: ९ को मृत्यु, १२ घाइते

मृत्यु हुनेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ५ का ४२ वर्षीय श्याम श्रेष्ठ, २६ वर्षीय विक्रम श्रेष्ठ, ४५ वर्षीय मंगले तामाङ, सोही गाउँपालिका ४ का ३७ वर्षीय रेशम खड्का, रसुवा गोसाइँकुण्ड गाउँपालिका १ थुमनका ४५ वर्षीय मिङमार गुम्बु तामाङ, सोही गाउँपालिका २ टिमुरेका ४७ वर्षीय दोर्जे वाङ्जु घले र उनकी श्रीमती ३७ वर्षीया कार्साङ किमु घले छन् ।

यसैगरी नुवाकोट शिवपुरी गाउँपालिका ८ का रमेश तामाङ र विदुर नगरपालिका ३ का शर्मिला कमिनीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) सन्तोष तामाङले जनाए ।

मृतकमध्ये ५ जना कन्टेनर चालक हुन् । घाइतेमध्ये ५ जनालाई राजधानी लगिएको छ भने ७ जना स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि घर फर्केका छन् । पहिरोले २ वटा टहरा, एक होटल, प्रहरी बिट र तीन वटा मालवाहक कन्टेनर पनि पुरेको छ । लगातार पहिरो खस्न थालेपछि स्थानीय भागेर नजिकैको भन्सार कार्यालयछेउ पुगेका थिए ।

‘निद्रामा थियौं,’ दोर्जे तामाङले भने, ‘पहिले त आवाज सुनेर आत्तियौं, पहिरो भन्ने थाहा भएपछि भागाभाग भयो ।’ वर्षा भइरहेकाले स्थानीय त्रस्त रहेको रसुवागढी भन्सार प्रमुख गोपाल कोइरालाले बताए । ‘खोल्साको माथिल्लो भागमा रहेको ठूलो ढुंगाले पहिरोलाई अर्को दिशामा लगेकाले बाँचियो,×’ उनले भने । सेना, प्रहरी र स्थानीयले राति नै उद्धार सुरु गरेका थिए । अविरल वर्षाका कारण उद्धारमा समस्या भएको थियो ।

‘घटनास्थल पुग्दा स्थानीय आत्तिएका थिए,’ कालिजंग गणका सेनानी दिनेश थापाले भने, ‘राति नै उद्धार सुरु गर्‍यौँ ।’ भूकम्पलगत्तै तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापार रसुवागढीबाट हुँदै आएको छ । नाकाछेउको उक्त बस्तीमा बसोबास पनि बाक्लिँदै गएको छ । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किमि दूरीमा पर्छ । पहिरो मुख्य बस्तीतिर नगएकाले अझ ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

मृतकका परिवारलाई राहतस्वरूप तत्काल जनही १ लाख रुपैयाँ उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

घरटहरा नोक्सानी भएकालाई तत्काल १० हजार र घर बनाउन ५० हजार उपलब्ध गराइने उनको भनाइ छ । गाउँपालिकाका तर्फबाट पनि मृतकका परिवारलाई ४० हजार रुपैयाँसम्म राहत दिइने गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । रसुवागढी जलविद्युत् आयोजनाको स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

‘पहिरोतिरै दौडिएछु’
-केशव श्रेष्ठ, आमाछोदिङमो गाउँपालिका–५, थाम्बुचेत
हामी ६ जना थियौं । बुधबार दिनभर घुमेर करिब साढे ११ बजेतिर टासिदेले होटलमा सुत्न गयौं । ओछ्यानमा पल्टिए पनि निद्रा लागेको थिएन । पहिला ठूलो आवाज आयो । भुइँचालो जस्तो लाग्यो । हतार–हतार बाहिर निस्किएँ । माटोको लेदो घरसम्मै आइसकेछ । त्यसपछि झ्याल फोरेर भागेँ । पहिरो खसेको ठाउँतिरै दौडिएछु । लेदोले बगाएर केही तलसम्म पुर्‍यायो । माथि बत्ती बलेको देखेपछि हंसले ठाउँ छोड्यो । कसो–कसो पहिरो छिचोलेर बारीतिर पुगेँ । होटलबाट सँगै निस्किएका साथी कता पुगे, थाहा पाइनँ । अहिले पुनर्जन्म पाएजस्तो लागिरहेको छ । होटलबाट मसहित ६ जना भागेका हौं । काम गर्नेहरू पनि पुरिए होलान् ।

प्रकाशित : श्रावण ११, २०७५ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?