काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले करिब १० करोड रुपैयाँ खर्चेर तयार पारेको बाघ गणनासम्बन्धी प्रतिवेदन गोप्य राख्ने भएको छ ।
सन् २०१३ मा भन्दा बाघको संख्या घटेपछि तथ्य लुकाउन खोजेको हो ।
पछिल्लोचोटि करिब १० महिना लगाएर गरिएको गणनामा चितवन निकुञ्जमै बाघको संख्या १५ वटाभन्दा बढीले घटेको पाइएको छ । बाघ र आहार प्रजातिको गणनाले बाघको धेरै संख्या रहनेमा पर्छ चितवन निकुञ्ज ।
निकुञ्ज विभागको तथ्यांक अनुसार ५ वर्षयता पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्म ३३ वटा बाघ प्राकृतिक कारणले मरेका छन् । तीमध्ये बढी चितवन निकुञ्जमा १७ वटा मरेका छन् । ११ वटा प्राकृतिक कारणले र अन्य विद्युतीय पासो र विष हालेर मारिएका हुन् । बर्दिया निकुञ्जमा पनि प्राकृतिक हिसाबले ११ बाघ मरेका छन् । तर, गणनामा बर्दियामा अघिल्लोपटकभन्दा बढी बाघ पाइएका छन् ।
सन् २०१३ को गणनाअनुसार चितवन निकुञ्जमा १ सय २० बयस्क बाघ थिए । यसपटक एक सय हाराहारी मात्र पाइएको उच्चस्रोतले जनाएको छ । तर, यो तथ्य बाहिर ल्याउन खोजिएको छैन ।
बाघको संख्या बढाउन ५ वर्षयता दातृ निकायले समेत करोडौँ रुपैया खर्चेका छन् ।
जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल नेपाल) र डब्लूडब्लूएफ नेपालले बाघ र तिनका आहार प्रजातिको संरक्षण, भौतिक संरचना निर्माण र चोरीसिकार नियन्त्रणका लागि ३० करोड रुपैयाँभन्दा बढीका कार्यक्रम सञ्चालन गरेका थिए ।
विज्ञहरू सम्मिलित प्राविधिक टोलीले चितवनमा बाघ घटेको जानकारी दिएपछि मन्त्रालयका अधिकारी झस्किएका थिए । यसै कारण उनीहरुले आइतबार विश्व बाघ दिवसका दिन सार्वजनिक गर्ने भनिएको प्रतिवेदन गुपचुप राख्न खोजेका हुन् । त्यसप्रति बाघ गणना र तथ्यांक विश्लेषणमा सहभागी विज्ञहरुले आपत्ति जनाएका छन् ।
चितवन निकुञ्जमै बाघ घटेको तथ्य बाहिर ल्याउँदा नकारात्मक सन्देश जाने र आलोचना हुने भन्दै मन्त्रालयले प्रतिवेदन सार्वजनिक नगर्ने निर्णय लिएको हो । प्रतिवेदनबारे केही नबोल्न प्राविधिकहरुलाई निर्देशनसमेत दिइएको छ ।
मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले बाघको तथ्यांक विश्लेषण चलिरहेको दाबी गर्दै घुमाउरो पारामा प्रतिवेदनप्रति आशंका व्यक्त गरे । ‘एसईई रिजल्टको जस्तो समस्या भोग्नु नपरोस् भनेर तथ्यांक विश्लेषण जारी राख्न खोजिएको हो,’ उनले भने ।
बाघ गणना र तथ्यांक विश्लेषणको सबै जिम्मा राष्ट्रिय निकुञ्ज विभागले लिएको थियो । विभाग महानिर्देशक मनबहादुर खडाले बाघ दिवसका दिन नयाँ तथ्यांक सार्वजनिक गर्ने धोको अधुरै रहेको बताए । ‘हेर्नुस् यो धेरै गाह्रो काम रहेछ’ उनले भने, ‘संख्या बाहिर ल्याउन अझै केही समय लाग्ने देखिन्छ ।’
चितवन निकुञ्जमा बाघ घट्नुमा कतिपय विशेषज्ञले पर्सा र चितवन निकुञ्जसँगै भारततर्फको वाल्मीकी टाइगर रिजर्भ हुनुलाई कारण मानेका छन् । सीमा सँगै भएकाले बाघ दुवैतिर ओहोरदोहोर गर्ने र नेपाली बाघ बाल्मिकीतिर गएको हुन सक्ने दाबी गरिएको छ । उता पनि बाघको गणना सकिएको छ ।
पर्सा, बर्दिया र बाँके निकुञ्जमा भने संख्या बढेको प्राविधिकहरुको भनाई छ । नेपालका पाँचवटा निकुञ्जमा बाघ पाइन्छन् । हरेक पाँच वर्षमा गणना गरिन्छ । सन् २०१३ मा पर्सादेखि शुक्लाफाँटासम्म बयस्क बाघको संख्या १ सय ९८ थियो ।
पछिल्लोचोटि विभागको अगुवाइमा मंसीर १४ देखि थालिएको गणना फागुनमा सकिएको थियो । यस क्रममा क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघको तस्बीर लिइएको थियो । गणना सहज बनाउन पर्सा निकुञ्जदेखि शुक्लाफाँटा निकुञ्जसम्मको क्षेत्रलाई पर्सा–चितवन कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र लालझाडी–शुक्लाफाँटा–जोगबुढा कम्प्लेक्समा विभाजन गरिएको थियो । निकुञ्जभित्र नपर्ने वन क्षेत्रमा पनि गणना गरियो ।
विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार गणनामा ६ सय जोडी (१२ सय) क्यामेरा प्रयोग गरिएको थियो । प्राविधिक टोली संयोजक एवं निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार स्वचालित क्यामेराले ८ हजारवटा तस्बिर कैद गरेका थिए ।
दोब्बर पार्ने घोषणा
विश्वमा १३ देशमा बाघ पाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशका सरकार प्रमुखहरुको सम्मेलन भएको थियो । उक्त सम्मेलनले सन् २०२२ सम्म विश्वभर बाघको संख्या ३५ सयको दोब्बर पार्ने संकल्प गरेको थियो । नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी थिए । त्यति बेला नेपालमा बाघको संख्या १२१ थियो । सन् २०२२ सम्म नेपालले २५० पुर्याउने संकल्प गरेको थियो । बाघको संख्या बढाउने उद्धेश्यले सरकारले बाँके निकुञ्ज घोषणा गरी पर्सा निकुञ्जलाई विस्तारसमेत गरेको छ ।
वर्ष संख्या
सन् २००८ : १२१
सन् २०१३ : १९८
लक्ष्य
सन् २०१८ : २०० प्लस
सन् २०२२ : २५० प्लस
कहाँ कति ? (२०१३ को गणनाअनुसार)
चितवन निकुञ्ज १२०
बर्दिया निकुञ्ज ५०
शुक्लाफाँटा निकुञ्ज १७
पर्सा निकुञ्ज ७
बाँके निकुञ्ज ४
प्रकाशित : श्रावण १२, २०७५ १८:३५