कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्य बर्खामै खडेरी

तीन वर्षयता खिन र धौलागोहका पाखामा घाँस उम्रिएको छैन, केतुकी र सिउँडीका बुटाबाहेक बोटबिरूवा देखिँदैनन्
तुलाराम पाण्डे

पलाता (कालीकोट) — मध्य साउनमा पनि पलाता गाउँपालिकाको खिन र धौलागोहको अधिकांश जमिन बाँझै छ । तीन वर्षदेखि पर्याप्त पानी नपरेकाले किसानले समयमा खेती लगाउन पाएका छैनन् । पिउने पानीको जहिल्यै अभाव भइरहन्छ ।

मध्य बर्खामै खडेरी

यी दुई गाउँका पाखामा घाँस उम्रिन छाडेको पनि तीन वर्ष नै भइसकेको छ, जताततै केतुकी र सिउँडीका बुटा मात्रै देखिन्छन् । जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको यहाँका अधिकांशको दैनिकी नजिकका बजारमा ज्याला मजदुरी गरेर बित्छ । रकम जोहो भए खाद्य संस्थानको चामलका लागि लाइन लाग्छन् ।

साविकका यी दुई गाविस अहिले पलाता गाउँपालिकाको वडा १ देखि ६ सम्म पर्छन् । यहाँका २ हजार ३ सय घरधुरीमा ११ हजारभन्दा बढीको बसोबास छ । यहाँको १० प्रतिशत बासिन्दाले मात्रै ३ महिना खान पुग्ने अन्न उब्जनी गर्छन् । अरू सबैले पानी नपरेको वर्ष बेसाहा खोज्नुपर्ने बाध्यता छ । पाखो बारी पर्याप्त भएको धौलागोह र खिनका ठाडो बारीमा पानी परेको वर्ष भने वर्षभरिलाई खान पुग्ने कोदो र मकै फल्ने गरेको स्थानीय जयकला प्याकुरेलले बताइन् ।

‘तीन साल भयो सुक्खा खडेरी परेको,’ धौलागोह खाडाका नन्दाखर न्यौपानेले स्थानीय लवजमा भने, ‘हिउँदे बाली त लाइनै पायानौ (लाउनै पाइएन), वर्षे बाली पनि सुकेर गयो । बेसाहा गर्नाले (खाद्यान्न खोज्दै) गली गया (थाकिसक्यौं), क्या खाएर परानी धानौं (के खाएर ज्यान जोगाऊँ) ।’

गाउँमा पानी नभएपछि ३ घण्टा परको गाउँबाट ल्याउँदै बान्जाडाका महिला । तस्बिर : तुलाराम

लामो खडेरीपछि असार दोस्रो साता यी दुई गाउँमा पानी पर्‍यो । पानी परेपछि केही कृषकले पाखो बारीमा कोदो रोपे । तर सुक्खा ठाउँमा रोपेको कोदो सुकेर मर्ने हो कि भन्ने पिरलोले उनीहरूलाई सताएको छ ।

गत हिउँदभरि खडेरी परेकाले अधिकांश बासिन्दाले हिउँदे बाली लगाउन पाएनन् । लगाएको ठाउँमा पनि पानी नपरेकाले उत्पादन भएन । त्यस भेकमा अहिले खाद्यान्न समस्या चर्किएको छ । विगतमा विश्व खाद्यको ‘कामका लागि खाद्यान्न कार्यक्रम’ सञ्चालन भए पनि यस वर्ष नभएकाले थप समस्या परेको पलाता गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर भण्डारीले बताए ।

खडेरीले मूल सुकेपछि खानेपानीको अभाव चर्किएको छ । डेढ–दुई घण्टा टाढाका परम्परागत धारा र कुवामा ५–६ घण्टा लाममा बस्नुपर्ने बाध्यता छ । बान्जाडा गाउँका १ सय २२ घरधुरीका लागि एउटा मात्रै धारो छ । त्यहाँ पानी थाप्न तँछाडमछाड हुने गरेको छ । ‘कति दिन त पानी भर्नकै लागि कुटाकुट हुन्छ,’ एकल महिला आम्पुरा प्याकुरेलले भनिन्, ‘लाइन बस्न नसक्नेले पानी थाप्न पाउँदैनन् ।’ पानीको समस्या समाधान गर्न २५ धाराको बृहत् बुड्ने खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरियो तर धारामा पानी नपुग्दै मूल सुकेपछि योजना अधुरै छ ।

स्थानीयले २ करोड बढीको योजना सकिए पनि पानी पिउन र योजनामा काम गरेको रकम नपाएको गुनासो गरेका छन् । ‘पैसा सकियो, पानी आएन,’ स्थानीय जयरूप न्यौपानेले भने, ‘४ वर्ष लगाएर योजना सम्पन्न भयो, मूल नै सुकेपछि धाराबाट पानी झरेन ।’ उनले केही रकम खानेपानी कार्यालयबाट लिन बाँकी रहेकाले उपभोक्तालाई उपलब्ध गराउने बताए । खिन र धौलागोहमा खानेपानीको मूल पनि नजिक छैनन् ।

खडेरीले गाउँमा कोदोको बेर्नासमेत उम्रन नसकेपछि डेढ घण्टा टाढाको धौलागोहबाट ल्याउँदै स्थानीय । तस्बिर : तुलाराम

बुड्ने खानेपानी आयोजनाका लागि बिछ्याइएको पाइप निकालेर तल्सेरीको मूलबाट पानी ल्याउन पहल भइरहेको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । आउने दसैंसम्म धौलागोहमा पानी झार्ने गाउँपालिकाको योजना छ । अध्यक्ष बमका अनुसार पलातामा ‘एक घर एक धारा, एक बस्ती एक टयांकी’ कार्यक्रम सुरु गरिएको छ ।

ज्याला मजदुरीका लागि अधिकांश बासिन्दा भारत जान्छन् । उनीहरूलाई गाउँमै काम दिएर स्वरोजगार बनाउन गाउँपालिकाले एक सय युवाको पलाता निर्माण कार्यदल बनाएर परिचालन गरेको छ । मासिक २४ हजार तलब दिने गरी निर्माण भएको कार्यदल सडक, खानेपानी आयोजना, विद्यालय र सामुदायिक भवन निर्माणलगायत काममा परिचालित छ ।

आकाशे पानीको भरमा खेती गरिने पलाता भेगमा खडेरीले उत्पादन नभएपछि खाद्यान्न संकट परेको धौलागोह–५ का प्रभुलाल न्यौपानेले बताए । बाली काट्न नपाएको ३ वर्ष भइसकेको उनले बताए । ‘हामीलाई बिख (विष) खानुजस्तो भयो,’ घाटपारि चौरबाट ब्याजे ऋण खोजेको रकमले चामल लिएर फर्केका पलाता–२, मिजुवाडाका सज्जने विश्वकर्माले भने, ‘कसरी बाँच्ने ? आजबेली (आजभोलि) दाम, काम र माम (अन्न) केही छैन ।’

प्रकाशित : श्रावण १५, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?