कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोशीबारे आज निर्णय होला ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे छलफल गर्न बुधबारका लागि बोलाइएको बैठकमा सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसले कसरी प्रस्तुत हुने भन्ने छुट्टाछुट्टै रणनीति बनाएका छन् । नेकपाले बुधबार निर्णय हुने गरी बैठकमा प्रस्तुत हुने रणनीति बनाएको छ ।

जोशीबारे आज निर्णय होला ?

जोशीलाई अस्वीकृत गर्नेतिर समिति जान खोजे बैठक बहिष्कार वा छानबिन उपसमिति बनाउने विकल्पतर्फ लाग्ने कांग्रेसको योजना छ ।


‘बुधबारको बैठकबाट सहमतिमै यी सबै विषय टुंग्याउनुपर्छ भन्ने हाम्रो जोड छ,’ नेकपाका सांसद योगेश भट्टराईले भने । जोशीको प्रमाणपत्रलगायत अन्य विषयमा थप प्रमाण जुटेकाले उनलाई अस्वीकार गर्ने नेकपाको लाइन परिवर्तन भएको छैन ।


कांग्रेस संसदीय दलकी सचेतक एवं सुनुवाइ समितिकी सदस्य पुष्पा भुसाल भने आरोपको प्रमाण र तथ्यले पुष्टि नहुँदासम्म समितिले जोशीको सुनुवाइ अस्वीकृत गर्न नसक्ने बताउँछिन् । ‘जोशीमाथि लागेको आरोपको पुष्टि हुने कुनै प्रमाण र तथ्य छैन । त्यसउपर छानबिनका लागि उपसमिति पनि बनेको छैन,’ भुसालले भनिन्, ‘दुई तिहाइ संख्याको भरमा मात्रै अस्वीकृत गर्न मिल्दैन । उनीमाथि लागेको आरोप तथ्य र प्रमाणले पुष्टि हुन सक्नुपर्छ ।’


उनले दुई तिहाइको बलमा अस्वीकृत भए स्वतन्त्र न्यायालयमा कार्यकारणीको छाया पर्ने बताइन् । समितिको कार्याविधिअनुसार समितिले गर्ने कुनै पनि काममा आवश्यक देखिए उपसमिति गठन गर्न सक्ने उल्लेख छ ।


कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी जोशीलाई अस्वीकृत गर्ने दिशामा नलाग्न आग्रह गरेका छन् । जोशीको नाम अस्वीकृत भए न्यायालय स्वतन्त्र बन्न नसक्ने र यसले अस्थिरता निम्तिने देउवाको तर्क थियो । संवैधानिक परिषद्का सदस्यसमेत रहेका देउवाले न्यायपरिषद् र संवैधानिक परिषद्ले सिफारिस गरिसकेको न्यायाधीशलाई संसदीय सुनुवाइ समितिबाट अस्वीकार गर्दा गलत नजिर बस्ने भएकाले त्यो दिशामा नलाग्न आग्रह गरेको स्रोतले जनायो । जवाफमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्ले सिफारिस गरे पनि संसद्भित्र हुने निर्णयमा आफ्नो कुनै भूमिका नहुने बताएका छन् ।


कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सहमतिमै जोशीको नाम सिफारिस हुनेमा कांग्रेस ढुक्क रहेको बताए । ‘नेताहरूले छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘अहिलेसम्म सहमतिमै टुंगिन्छ भन्नेमा हामी विश्वस्त छौं । सत्तापक्षले अस्वीकार नै गर्ने अवस्था आयो भने त्यति बेलै हामी के गर्ने भन्ने निर्णय लिन्छौं ।’


संसदीय सुनुवाइ समितिले निर्णय दिन ढिलाइ गर्दा प्रधानन्यायाधीशमा सिफारिस जोशीको विषयलाई लिएर न्यायालय र न्यायाधीशसम्बन्धी बहस सडकमा समेत हुने अवस्था सिर्जना भएको छ । प्रमुख विपक्षी कांग्रेसले जोशीलाई अनुमोदन गर्नुपर्ने विषयलाई सरकारविरुद्ध मंगलबार सुरु विरोधको मुख्य मुद्दा बनाएको छ ।


समितिको अध्यक्षता गरिरहेका सांसद लक्ष्मणलाल कर्णले बुधबारको बैठक कुन दिशामा जान्छ भन्ने स्पष्ट नभएको बताए । विषयको गाम्भीर्यअनुसार कुन विषयमा कहिले कसरी निर्णय हुन्छ भन्ने सुनिश्चत गर्न नसकिने उनको भनाइ छ ।


बुधबारको बैठकबाट जोशीबारे अन्तिम निर्णय आउँछ कि आउँदैन भन्ने प्रश्नमा कर्णले भने, ‘बैठक बसेपछि नै थाहा हुन्छ, यसअघि सहमतिबाटै बैठक सरेका हुन् ।’ जोशीको बिहीबार सुनुवाइ भएको थियो । त्यसपछि उनीबारे छलफल गर्नुपर्ने भन्दै नेकपा सांसदहरूको आग्रहमा आइतबारसम्म बैठक सरेको थियो । आइतबारको बैठक पनि समितिमा कांग्रेसका दुई सदस्य अनुपस्थित हुने भनेपछि सोमबारसम्म सारिएको थियो । सोमबारको बैठकमा कांग्रेस सांसदले थप छलफल गर्नुपर्ने आग्रह गरेपछि बुधबार दिउँसोसम्मका लागि सारिएको थियो ।

प्रकाशित : श्रावण १६, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?