कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औलो नियन्त्रणबाहिर

कान्तिपुर संवाददाता

मुगु — खत्याड गाउँपालिकाको रिघा गाउँमा फैलिएको औलो रोग अझै नियन्त्रण हुन सकेको छैन । रोग नियन्त्रण महाशाखाबाट विशेषज्ञको र जिल्ला स्वास्थ्यबाट चिकित्सकको टोली गाउँ पुगेर एक सातासम्म उपचार गरी फर्किएको थियो ।

औलो नियन्त्रणबाहिर

दुवै टोलीले औषधि उपचार र लामखुट्टे नियन्त्रण गरे पनि साउनमा फेरि २४ जनालाई औलो संक्रमण भएको जिल्ला स्वास्थ्यले जनाएको छ । राम्ररी औषधि सेवन नगरेका कारण औलोको लक्षण पुन: देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी बलीबहादुर बुढाले बताए । ३८ बिरामी सन्चो भए पनि साउनमा २४ जनामा संक्रमण देखिएको उनको भनाइ छ । उनीहरूको उपचार भइरहेको बुढाले जनाए । ‘दैनिक स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर उपचार गरिरहेको छ,’ उनले भने, ‘अहिले स्वास्थ्यकर्मीको निगरानीमा बिरामीलाई औषधि खुवाउन थालिएको छ ।’


औलो नियन्त्रण भएको भन्दै टोली काठमाडौं फर्किए पनि रोग फेरि देखिएको हो । रोगका कारण स्थानीय बासिन्दा खेती र ज्याला मजदुरीको काम गर्न पाएका छैनन् । रोग सर्ने डरले विवाहिता छोरीचेली माइत आउन छाडेको स्थानीयको भनाइ छ । स्वास्थ्य मन्त्रालयले मुगुलाई औलो रोगको उच्च जोखिमयुक्त क्षेत्रमा राखेको छ ।


लामखुट्टेको टोकाइबाट मुक्ति पाउन प्रत्येक घरमा झुल वितरण गरिएको छ । तराईको औलो हिमाली जिल्लामा उक्लिएपछि रोग नियन्त्रणमा कठिनाइ भएको चिकित्सकले जनाएका छन् । रोगबाट बालबालिका बढी प्रभावित छन् ।


पढाइ पनि प्रभावित बनेको छ । स्थानीयले गाउँमै औलो नियन्त्रण हेल्थ डेक्स स्थापनाको माग गरेका छन् । स्थानीय नवराज जैसीले पटक–पटक औलो फैलँदा सर्वसाधारण त्रसित भएको बताए । जिल्ला स्वास्थ्य कार्यालयले रातापानी सुकाढिक स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी खटाइएको जनाएको छ ।

प्रकाशित : श्रावण १६, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?