कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

रासस

काठमाडौँ — राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ ।  परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए ।

युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५-२५ वर्ष वा १६-३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उनले बताए ।


उनले विश्वमा रहेको मापदण्डअनुसार युवाको उमेर घटाउने प्रस्ताव गरिएको जानकारी गराए । अहिले ऐनमा युवाको उमेर १६-४० वर्ष रहेको छ । नयाँ उमेर संशोधनका लागि युवा तथा खेलकूद मन्त्रालयमा मस्यौदा पेश गरिएको छ ।


'१६ र ४० वर्षको युवालाई एकै ठाउँमा राखेर प्रतिस्पर्धा गर्न सक्दैनन्' उनले भने-'त्यसैले उनीहरुको प्रतिस्पर्धा एकै समूहमा बनाउनका लागि उमेर घटाइएको हो ।'


संयुक्त राष्ट्र संघको मापदण्डअनुसार युवाको उमेर १५–२५ वर्ष रहेको छ । अधिकांश देशले १६–३५ को वर्षलाई युवाको उमेर मानेका छन् । यसैगरी परिषद्को ऐनमा जिल्ला युवा विकास समितिलाई खारेज गरिएको छ ।


संघीय संरचनाअनुसार केन्द्रमा राष्ट्रिय युवा परिषद्, प्रदेशमा प्रदेश युवा परिषद्, हरेक स्थानीय तहमा गाउँ/नगर युवा विकास परिषद् बनाउने ऐनमा प्रस्ताव गरिएको परिषद्का उपसचिव धु्रवराज पौडेलले जानकारी दिए ।


उनले खारेज गरिएको जिल्ला युवा समितिलाई एक वर्षभित्र हटाइने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिल्ला युवा परिषद्लाई खारेज गर्दै जिल्ला समन्वय समितिमा राख्ने निर्णय गरेको थियो । अहिले ७७ जिल्लामा जिल्ला युवा विकास समिति रहेका छन् ।

प्रकाशित : श्रावण १६, २०७५ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?