कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बल्ल स्तनपान कक्ष

फातिमा बानु

काठमाडौँ — सार्वजनिक स्थलमा शिशु भोकायो भने आमालाई छटपटी हुन्छ । कसैले ओल्टोकोल्टो खोजी सलले छोपेर स्तनपान गराइरहेका हुन्छन् । कति ठाउँमा त त्यही मौका पनि हुन्न । यही समस्यालाई ध्यान दिएर सरकारले उपाय निकालेको छ– स्तनपान कक्ष ।

बल्ल स्तनपान कक्ष

स्वास्थ्य सेवा विभागले बुधबार आफ्नै भवनमा स्तनपान कक्ष स्थापना गरेर यो अभियान सुरु गरेको हो । अभियानअन्तर्गत यस वर्षभित्र ३० वटा यस्तै कक्ष बनाइनेछन् । ती यस्ता ठाउँ हुनेछन्, जहाँ आमा र शिशु गइरहनुपर्ने हुन्छ । जस्तो– अस्पताल, विमानस्थल आदि ।


विभागका निर्देशक गुणराज लोहनीका अनुसार मुलुकभरका अस्पतालमा स्तनपान कक्ष अनिवार्य गरिनेछ । अन्तर्राष्ट्रिय स्तनपान दिवसका अवसर पारेर बुधबार विभागमा स्थापना गरिएको कक्षमा दुई महिलाले एकैपटक स्तनपान गराउन सक्छन् । कक्षमा हात धुने, बच्चा सुताउने सुविधाजनक ठाउँ पनि छ । शिशुलाई आकर्षित गर्न चित्रहरूले भित्ता सजाइएका छन् । लोहनी भन्छन्, ‘यो नमुना कक्ष मात्रै हो, देशभर यस्ता कक्ष आवश्यक छन्, बन्छन् ।’ विभागको कक्ष कर्मचारी र नजिकैका अस्पतालमा सेवा लिन आउने महिलालाई ध्यानमा राखेर बनाइएको हो ।


साना बालबच्चाका लागि आमाको दूध खाना र पोषण दुवै हो । विश्व स्वास्थ्य संगठनका अनुसार जन्मेको पाँच वर्षभित्र शिशुको ९० प्रतिशत मानसिक विकास हुन्छ । यसका लागि उसलाई अनिवार्य रूपमा पूर्ण स्तनपान गराउनुपर्ने विशेषज्ञहरू बताउँछन् । पोषणविद् डा. अतुल उपाध्याय भन्छन्, ‘नवजात शिशुका लागि स्तनपान नै पहिलो खोप हो, उनीहरूका लागि आमाको दूधभन्दा पोसिलो चिज केही छैन ।’


आमाको दूधमा रोगनिरोधक तत्त्व हुने भएकाले कुपोषण हुनबाट रोक्ने उनले बताए । तर कामकाजी परिस्थिति, लाज, झन्झटजस्ता कारण स्तनपान गराउने चलन घटदै गएको छ । स्तनपानको अभ्यासमा सुधार गरेमा विश्वभर वार्षिक ८ लाख २० हजार बालबालिका बचाउन सकिने उनले बताए । नेपालमा बालमृत्युको ५३ प्रतिशत कारण न्यूनपोषण हो, जसको मुख्य कारण आमाको दूध खान नपाउनु हो ।


बालस्वास्थ्य महाशाखाका अनुसार ५५ प्रतिशत शिशुले मात्र जन्मिएको एक घण्टाभित्र आमाको दूध खान पाइरहेका छन् । ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने भनिए धेरैलाई अन्य कुरा खुवाइन्छ । आठ महिना पुग्दासम्म ६ प्रतिशतले मात्रै आमाको दूध खान पाउँछन् । सरकारी तथ्यांकअनुसार २५ वर्षअघि नेपालमा स्तनपानदर ७५ प्रतिशत थियो । जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पूर्ण स्तनपान घटेर ६६ प्रतिशतमा झरेको छ । काठमाडौं उपत्यकामा स्तनपानको दर अझै कमजोर छ । यहाँ ४१ प्रतिशत शिशुले मात्रै जन्मेको एक घण्टाभित्र आमाको दूध खान पाउँछन् ।


सिजरियन सेक्सन (शल्यक्रियाबाट प्रसूति) बढी हुने भएकाले जन्मनासाथ शिशुले स्तनपान गर्न पाउँदैनन् । शल्यक्रियाबाट जन्मिएका शिशुलाई घिउ, मह, चिनी र कृत्रिम दूध चटाउने गरिएको छ । स्तनपान र पोषणबारे चेतना नहुँदा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुतर्फ आकर्षण बढदै गएको छ । पोषणविद् डा. अरुणा उप्रेती भन्छिन्, ‘बजारिया दूधले शिशुको रोगसँग लड्ले क्षमता घटाउँछ, यस्ता दूध सेवन गर्ने बालबालिका दीर्घकालमा विभिन्न रोगबाट पीडित हुन्छन् ।’


जन्मेको तीन दिनभित्र आमाको दूध खाने ५७ प्रतिशत मात्रै छन् । स्वास्थ्य व्यवसायीकै सिफारिसमा ४८ प्रतिशत शिशुले ‘फर्मुला मिल्क’ खाने गरेका छन् । आमाको दूधलाई प्रतिस्थापन गर्ने यस्ता वस्तुको बिक्री वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली २०५१ अनुसारमा यस्ता वस्तुको प्रवद्र्धन, विज्ञापन गर्न र खुल्ला बेच्न पाइँदैन । अस्पताल हाताभित्र र वरपरका औषधि पसलमा यस्ता वस्तुको बिक्री रोक्न पहल भएको छैन । यसलाई नियन्त्रण गर्न बालस्वास्थ्य महाशाखाले सातै प्रदेशमा जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने भएको छ ।

प्रकाशित : श्रावण १७, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?