कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा प्रवक्ताको राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीसँग भेटघाट गरेको विषयमा पार्टीभित्र विवाद हुँदा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् ।

नेकपा प्रवक्ताको राजीनामा

प्रधानमन्त्री केपी ओलीले साउन ७ गतेको नेकपा सचिवालय बैठकमा केसीको माग सम्बोधन गर्ने विषयमा श्रेष्ठले भूमिका खेलेको र भेटघाटसमेत गरेको भन्दै प्रश्न उठाएका थिए ।
श्रेष्ठले केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने र त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन ठीक रहेको बताएका थिए । बैठकमा श्रेष्ठले केसी र माथेमा प्रतिवेदनमाथि सकारात्मक धारणा राखेपछि प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए ।

उनले पार्टीको जिम्मेवार व्यक्ति एवं प्रवक्तासमेत भएको व्यक्तिले कुनै पनि विषयमा पार्टीको तत्कालीन पोसिजन के छ, त्यो ख्याल गर्नुपर्ने भन्दै श्रेष्ठको गतिविधिप्रति आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीले भेटको विषयलाई आपत्ति जनाएपछि श्रेष्ठले प्रवक्ता पद आफूलाई नचाहिने भन्दै तत्काल राजीनामा दिएका थिए ।

त्यो दिनको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीको भनाइमा समर्थन गर्ने खालको धारणा राखेपछि श्रेष्ठले त्यहीं राजीनामा बुझाएका थिए । श्रेष्ठले राजीनामा दिए पनि स्वीकृत भएको छैन । श्रेष्ठले आवेशमा राजीनामा घोषणा गरेको भन्दै त्यसलाई गम्भीर रूपमा नलिएको एक नेताले बताए ।

श्रेष्ठ भने राजीनामा प्रकरण र पार्टीको बैठकमा भएको छलफलका विषयमा मौन छन् । ‘यो विषयमा मेरो कुनै प्रतिक्रिया छैन, पार्टीका बैठकभित्रका कुरा कसरी बाहिर आए ? त्यसबारे मेरो कुनै टिप्पणी छैन,’ श्रेष्ठले कान्तिपुरसँग भने । स्रोतका अनुसार उनले आवेशमा राजीनामा दिएकाले पार्टीकै जिम्मेवारीमा फर्काउने तयारी छ । केसीको आमरण अनशनको विषय सहमतिमा टुंगिएसकेकाले अब त्यसको तुष बाँकी राखेर हिँड्न नहुने सुझाव नेताहरूले श्रेष्ठलाई दिएका छन् ।

प्रकाशित : श्रावण १७, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?