कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपकुलपति कोइरालामाथि छानबिन गर्न समिति गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालामाथि छानविन गर्न ४ सदस्यीय समिति गठन गरेको छ ।

उपकुलपति कोइरालामाथि छानबिन गर्न समिति गठन

संस्कृत सम्मेलनमा सहभागी हुन जाने प्रक्रिया र विश्वविद्यालयका विषयमा परेका उजुरी तथा गुनासोबारे छानविन गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

प्राध्यापक राममान श्रेष्ठको संयोजकत्वमा बुधबार गठित समितिमा प्राध्यापक लक्ष्मीप्रसाद मैनाली, नेपाल ल क्याम्पसका प्राध्यापक विकास अधिकारी र सहसचिव देवकुमारी गुरागाइँ सदस्य रहेको जानकारी मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले दिए ।


समितिले छानविन प्रतिवेदन पेश गर्नेछ । स्वीकृति नलिई विदेश भ्रमणमा जान लागेको र विश्वविद्यालयमा भएका अनियमितताका सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको मन्त्रालयको दाबी छ ।


गत असार २३ मा उपकुलपति कोइराला संस्कृत सम्मेलनमा सहभागी हुन क्यानाडा जाने क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

प्रधानमन्त्रीको ठाडो निर्देशनमा उनलाई नियन्त्रणमा लिएर बालुवाटार पुर्‍याई एक घन्टा राखेर छाडिएको थियो । कोइरालाले भने विश्वविद्यालयको ऐन, नियमअनुसार प्रक्रिया पुर्‍याएर आफू सम्मेलनमा सहभागी हुन जान लागेको बताएका छन् ।


भ्रमणमा जान प्रक्रिया अनुसार शिक्षामन्त्रीको निजी सचिवालयमा निवेदन दर्ता गराएको उनको भनाइ छ । शिक्षा मन्त्रालयले भने उनले भ्रमणमा जान कुनै स्वीकृत नलिएको दाबी गरेको छ । कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिइएको घटनाको चौतर्फी विरोध भएको थियो ।


प्रधानमन्त्रीले केपी ओलीले उपकुलपति कोइरालामाथि छानविन भइरहेको प्रतिक्रिया दिएका थिए । कोइराला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा उपकुलपति नियुक्त भएका हुन् ।

सत्तारूढ नेकपासँग आबद्ध नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले उपकुलपति कोइरालाले विश्वविद्यालयको ऐन, नियम, विधि तथा प्रचलित परम्पराको उल्लंघन गरेको आरोप लगाउँदै छानविनको माग गरेका थिए ।


कोइरालाले स्वीकृति लिएको भनाइबारे विश्वविद्यालयकै कतिपय पदाधिकारीले समेत खण्डन गरेका थिए । उनीसँगै रहेका अन्य ६ जना भने सम्मेलनमा सहभागी भएर क्यानाडाबाट फर्किसकेका छन् ।

प्रकाशित : श्रावण १७, २०७५ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?