सरकारले हेरेन हरिलाई

राष्ट्रले नहेरे पनि खेलाडीले सम्मान गरिरहेकामा खुसी छु
एलपी देवकोटा

जुम्ला — देशका लागि थुप्रै अन्तर्राष्ट्रिय पदक भित्र्याएका धावक हरिबहादुर रोकाया अहिले अस्पतालको शय्यामा छन् । अन्तर्राष्ट्रिय धावक एवं प्रशिक्षक रोकाया असार ६ गते प्रशिक्षण दिँदादिँदै एक्कासि हातखुट्टा नचलेर ढलेका थिए । उनको राजधानीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

‘देश चिनाउन खेल खेलियो तर देशले मलाई चिनेन,’ उनी अस्पतालको शय्याबाट गुनासो गरिरहेका छन्, ‘नेता बिरामी भएको भए विदेशमा उपचार हुन्थ्यो होला तर मलाई संघीय सरकारले वास्ता गरेन ।’


रोकाया एथलेटिक्समा वल्र्ड रेकर्ड कायम गरी गिनिज बुकमा समेत नाम लेखाउन सफल खेलाडी हुन् । उनलाई भेट्न राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टबाहेक कुनै सरकारी अधिकारी पुगेका छैनन् । वर्षौंदेखि कर्णालीमा खेलाडी उत्पादन गरे पनि आफूलाई बेवास्ता गरिएको उनको गुनासो छ । उनको उपचारका लागि कर्णाली प्रदेश सरकारले एक लाख र चन्दननाथ नगरपालिकाले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

Yamaha


रोकायाले कर्णालीका खेलाडीलाई सन्तुलित भोजन नपुग्ने भएकाले अभ्यासमा समस्या भएको बताए । उनको पनि खानपानमा सन्तुलन नमिल्दा समस्या भएको चिकित्सकले बाएका छन् । ‘खेलाडीले चिया र दुनोट खाएर दौडिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘खेलाडीको पोषणका लागि सरकारले ध्यान दिनुपर्ने हो, त्यसो हुन सकेको छैन ।’ राष्ट्रले सम्मान नगरे पनि खेलाडीले सम्मान गरिरहेकामा खुसी लागेको रोकायाले बताए । प्रशिक्षण दिँदादिँदै बिरामी परेकाले रोकायाको स्नायु प्रणालीमा कमजोरी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ‘उहाँको खानपानको सन्तुलन नमिल्दा रोगसँग लड्ने क्षमता कमजोर बनेपछि स्नायु प्रणालीमा समस्या आएको हो,’ डा. नवीन थापाले भने, ‘निमोनियाँ र डायरिया भएको खण्डमा नसा हानेर समस्या हुन्छ ।’ डा. थापाका अनुसार नसामा कीटाणुले संक्रमण गरेकाले फिजियोथेरापी भइरहेको छ । रोगसँग लड्ने क्षमता बढाउन औषधि प्रयोग भइरहेको उनले बताए ।


धावक रोकायालाई सहानुभूतिबाहेक केही दिन नसकेको प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बताए । ‘जुम्लाजस्तो विकट ठाउँमा जन्मेर नेपाललाई नै विश्वसामु चिनाए तर कर्णालीको भनेर सरकारले बेवास्ता गर्‍यो,’ उनले भने । उनले रोकायाको स्वास्थ्यप्रति संवेदनशील बन्न संसद्बाटै सरकारको ध्यानाकर्षण गराइसकेका छन् । रोकायाले जुम्लाको सिमाचौरमा दुई दर्जन बढी खेलाडीलाई एथलेटिक्स प्रशिक्षण दिँदै आएका थिए । धावक रोकायाले उत्पादन गरेका आधा दर्जनभन्दा बढी खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलमा भाग लिइसकेका छन् । रोकाया बिरामी परेपछि आफूहरूले अभ्यास गर्न नसकेको खेलाडी मधु न्यौपानेले बताए ।

Esewa Pasal

प्रकाशित : श्रावण १८, २०७५ ०७:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

किशोरी हत्या प्रकरण: प्रहरी दबाबमा दाहसंस्कार

चित्रांग थापा, भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगर बजारको व्यस्त चोकमा एक किशोरीको तस्बिर टाँगिएको छ, ‘हार्दिक श्रद्धाञ्जली’ लेखेर । हत्यारालाई कारबाही माग गर्दै श्रद्धाञ्जली प्रकट गर्नेको घुइँचो लागिरहेको छ ।

प्रतिकात्मक तस्बिर

गत बिहीबार साथीको घरमा पढ्न गएकी किशोरी एकाएक बेपत्ता भइन् । अर्को दिन एक किलोमिटर टाढाको उखुबारीमा मृत भेटिइन् ।


बलात्कारपछि हत्या भएको भन्दै महेन्द्रनगरका स्थानीय आन्दोलित छन् । तनाव साम्य हुन सकेको छैन । ‘हाम्रो केही ठूलो र पूरा गर्नै नसकिने माग छैन,’ किशोरीका बुबाले भने, ‘छोरीको हत्यारा को हो, पहिचान गरी कडा कारबाही गरियोस् ।’ शव भेटिएपछि स्थानीयले हत्यारा पत्ता लगाउनुपर्ने भन्दै आन्दोलन थाले । तीन दिनसम्म शव अस्पतालमै रह्यो ।


पीडित परिवार र स्थानीयले अपराधी पत्ता नलागेसम्म दाहसंस्कार नगर्ने अडान लिएका थिए तर प्रहरीको दबाबमा परिवारले सोमबार दाहसंस्कार गरेका छन् ।


उनको हत्या अघिल्लो बिहीबार राति भएको प्रहरी अनुमान छ । शव शुक्रबार फेला परेको थियो । दोषीलाई कारबाही माग गर्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीसँगको झडपमा केही घाइते भएका छन् ।


‘प्रहरीले आन्दोलनका कारण अनुसन्धानमा कठिनाइ आएको भन्दै शव उठाउन दबाब दिन थाल्यो,’ किशोरीका बुबाले भने, ‘कफ्र्यु लाग्न सक्ने चेतावनी दिएपछि शव बुझ्न सहमत भएँ ।’ एक्लै सहमति गरेको भन्दै स्थानीय रिसाएर मलामीसम्म नगएको उनको गुनासो छ ।


छोरी हराएको खबर गर्दा प्रहरीले ‘भोलि खोजौंला’ भनेर आलटाल गरेकाले परिवार थप पीडामा छ । ‘मैले छोरीको साथीको घरमा सोध्दा उल्टै मलाई घरबेटीले धम्क्याइन्, एक्लै घरभित्र जान सकिनँ,’ मृतक किशोरीकी आमाले भनिन्, ‘प्रहरीलाई सँगै गइदिन भनेको थिएँ । भोलि हेरौंला भन्दै टारे ।’


किशोरीकी आमाको घरमै चटपटे पसल छ । उनले त्यसैको कमाइले परिवारको गुजारा चलाउँदै आएकी थिइन् । घटनाको दिन उनी पसलको सामान ल्याउन सीमावर्ती वनबसा बजार गएकी थिइन् । किशोरीका बुबा पनि महेन्द्रनगर बजारमा पानीपुरी बेच्छन् । घटनाको दिन उनी उपचारका लागि भारतको इलाहाबाद गएका थिए ।


खबर सुनेकै दिन घर फर्किए । भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीले किशोरीको स्मृतिमा चिल्ड्रेन पार्क बनाउने प्रतिबद्धता जनाएका छन् । पीडित परिवारलाई भने पहिला न्याय चाहिएको छ । छोरीको हत्यारा पत्ता लागे मात्र उनीप्रतिको सच्चा श्रद्धाञ्जली ठहरिने उनीहरू बताउँछन् ।


कहाँ पुग्यो अनुसन्धान ?
किशोरी हत्याको ८ दिन बितिसकेको छ । प्रहरीले घटना अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले अनुसन्धान अपराधी नजिक–नजिक पुगिसकेको बताए । ‘सीआईबीको टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ । हामी अपराधीनजिक पुगिसकेका छौं,’ उनले भने ।


अनुसन्धान क्रममा ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।


गत आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी अंगुर जीसीको नेतृत्वमा आएको टोलीले अनुसन्धान गरिरहेको छ । उक्त टोली अझै केही दिन यहीं रहने एसपी विष्टले बताए ।


अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार हालसम्म शंकास्पद व्यक्तिलाई झिकाएर केरकार गर्ने काम मात्र भएको छ, वास्तविक अपराधीनजिक प्रहरी अनुसन्धान पुग्नै सकेको छैन । ‘जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोका ३ जनासमेत १० जनाको टोली अनुसन्धानमा खटिएको छ,’ उनले भने, ‘बिहीबार बिहानसम्म पनि अपराधी पत्ता लाग्न
सकेको छैन ।’


किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको दाबी प्रहरीको छ । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । ‘घटना कुनै एक व्यक्ति वा समूहले गरेको हो भन्ने निक्र्योल गर्न मृतकको भिसेरालगायत परीक्षणका लागि काठमाडांै पठाइएको छ । रिपोर्ट प्राप्त भएपछि धेरै कुरा खुल्नेछ,’ उनले भने । प्रदेशसभा र संघीय संसद्मा समेत अपराधीलाई तत्काल कानुनी कठघरामा ल्याई हदैसम्म सजाय गरिनुपर्ने माग उठेको थियो ।

प्रकाशित : श्रावण १८, २०७५ ०७:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT